२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

एकसाथ ३ सय जनाले रक्तदान गर्दै लुम्बिनी अस्पतालमा सुरु भयो रक्तसञ्चार केन्द्र

शनिवार , जेठ १८, २०८२

बुटवल, १७ जेठ । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा शनिबार करिब ३ सय जनाले एकसाथ रक्तदान गर्दै रक्तसञ्चार केन्द्रको शुभारम्भ गरिएको छ । रुपन्देही व्यापार संघको १ करोड ५८ लाख २० हजार लागतमा खरिद गरिएको उपकरण सहयोगमा अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन गरिएको हो । 

रुपन्देही व्यापार संघको उपकरण सहयोग तथा अस्पतालको व्यवस्थापनमा सञ्चालन हुने रक्तसञ्चार केन्द्रमा शनिबार २ सय ९७ जनाले रक्तदान गरेका छन् । केन्द्रको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बिरामीलाई नयाँ जीवन प्रदान गर्न रक्तदान नै महादान भएकाले यस प्रकारको दानमा जोडिन सबैमा आह्वान गर्नुभयो । उहाँले अस्पतालले अन्य स्वास्थ्य संस्थाहरुमा समेत रगत उपलब्ध गराउन सक्ने क्षमतासहित रक्तसञ्चार केन्द्र स्थापना भएको बताउँदै दीर्घकालीन सञ्चालनमा जोड दिनुभयो । 

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सबै बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रम अघि सारे पनि निजी र सामुदायिक अस्पतालमा उपचार गराइरहेका बिरामीलाई रगत उपलब्ध गराउन केही कानूनी जटिलता रहेको र त्यसलाई फुकाउने गरी सरकारले ध्यान दिइरहेको उल्लेख गर्नुभयो । ‘रगतमा लाग्ने जुन शुल्क छ, त्यसलाई निःशुल्क बनाउने गरी सरकारले काम अघि बढाएको छ । निजी र सामुदायिक अस्पतालमा उपचार गराइरहेका बिरामीको हकमा उपलब्ध गराउन केही कानूनी जटिलता देखिएको छ । सरकार सबैलाई निःशुल्क रगत उपलब्ध गराउन चाहन्छ ।’–उहाँले भन्नुभयो । 

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई गौरवको आयोजनाका रूपमा अघि बढाएको र अस्पतालभित्रका सेवा विस्तार भइरहेका जानकारी दिनुभयो । अस्पतालमा शल्यक्रिया सेवाका लागि पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकार सेवा प्रवाहलाई चुस्त बनाउँदै अघि बढेको उहाँको भनाइ थियो । 

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रादेशिक अस्पताललाई सरकारले बुटवल मात्रै नभई सिँगो प्रदेशको आर्थिका आधारको रुपमा लिएको बताउनुभयो । अस्पतालको स्तरोन्नति र गुणस्तरीय सेवा प्रवाहमा भएका प्रगतिले पनि यस तथ्यलाई प्रमाणित गर्ने उल्लेख गर्नुभयो । उहाँले अस्पतालमा गुणस्तरीय र विशिष्टीकृत स्वास्थ्य सेवाका लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै आगामी आर्थिक वर्षसम्ममा गौरव आयोजना पूरा गर्नका लागि ३ अर्ब बढी लगानी गरिसक्ने जानकारी गराउनुभयो । अस्पतालमा निर्माणाधिन भवनको काम सम्पन्न गर्नका लागि ६ अर्ब बढी लगानी लाग्ने बताउँदै उहाँले यसका लागि आवश्यक स्रोत व्यवस्थापन र कार्यान्वयनमा सरकार गम्भिर रहेको उल्लेख गर्नुभयो । त्यसै गरी अस्पतालमा अबको महिना दिनभित्रै एमआरआई मेशिन खरिद हुने जानकारी गराउनुभयो । यसबाट यहाँका जनताले थप स्वास्थ्य सेवा लिन पाउने उल्लेख गर्नुभयो । 

लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री तथा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले बुटवललाई आर्थिक केन्द्र बनाउनका लागि एक महत्वपूर्ण आधार लुम्बिनी प्रादेशिक अस्पताल भएको बताउनुभयो  । यसका लागि केन्द्र सरकारले समेत प्राथमिकतामा राखेर अघि बढ्नपर्ने उहाँको सुझाव छ । त्यसै गरी यहाँका निजी मेडिकल तथा स्वास्थ्य संस्थाहरुले पनि आफ्नो आधारलाई विस्तार गर्नका लागि प्रादेशिक अस्पतालको विकासमा हातेमालो गर्न आवश्यक रहेको उहाँले औल्याउनुभयो । 

अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले लुम्बिनी प्रादेशिक अस्पतालको विकासलाई समग्र लुम्बिनी प्रदेशको विकासको आधारसँग जोडेर हेर्नुपर्ने बताउनुभयो । सीमित जनशक्ति र स्रोतसाधनबाट नै अस्पतालले ठूलो जनसंख्यालाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेको स्मरण गराउँदै उनले यदी सरकारले मापदण्डले तोके अनुसार यहाँ प्राप्त जनशक्ति र अन्य स्रोतसाधन उपलब्ध गराउन सक्ने हो भने अहिलेको भन्दा कयौं गुणा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सकिने उल्लेख गर्नुभयो । 

कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले अस्पतालमै रक्तसञ्चार केन्द्रको स्थापना भएर उत्कृष्ट अभियानको शुभारम्भ भएको उल्लेख गर्नुभयो । अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. ईन्द्र ढकालले अस्पतालमा शुभारम्भ गरिएको रक्तसञ्चार केन्द्र दीर्घकालिन बनाउनका लागि यहाँका सबै सामाजिक संघ–संस्थाको सहयोग र साथ महत्वपूर्ण रहने उल्लेख गर्नुभयो । अस्पतालको सेवा क्षेत्रभित्र रहेका ४० लाख बढी जनसंख्यामध्येबाट वार्षिक साढे ३ लाख देखि साढे ४ लाख जनालाई स्वास्थ्य सेवा उपलब्ध गराइएको जानकारी गराउँदै उहाँले गुणस्तरीय सेवालाई प्राथमिकतामा राखिएको उल्लेख गर्नुभयो ।

अस्पतालले सेवा विस्तार तथा गुणस्तर सुधार गर्दै आकस्मिक कक्षको बेड विस्तार, प्रदेशकै ठूलो र गुणस्तरीय प्रयोगशाला बिस्तार लगायतका कामहरु भएको जानकारी गराउनुभयो । अस्पतालमा एमआरआई मेशिन खरिदका लागि गत साता निर्यातकर्ता कम्पनीसँग सम्झौता भएको जानकारी गराउँदै केही हप्ताभित्रै अस्पतालमा मेशिन आउने उहाँले उल्लेख गर्नुभयो । यस्तै स्तन क्यान्सरको स्क्यानिङ तथा उपचार सेवा, डिजिटल कार्ड सिस्टम लागू गर्न लागिएकोबारे पनि उहाँले जानकारी दिनुभयो ।

रुपन्देही व्यापार संघका अध्यक्ष दीपक अधिकारीले अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापनासँगै अब यसको सञ्चालनको सम्पूर्ण जिम्मेवारीमा अस्पतालले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । एकसाथ एक जहार युनिट रगत संग्रह गर्न सक्ने क्षमतासहितको उपकरण अस्पतालाई हस्तान्तरण गरिएको जानकारी गराउँदै उहाँले अब यसको दीर्घकालिन सञ्चालनका लागि अस्पताल र यहाँका अन्य सामाजिक संघ–संस्थाहरुको समेत भूमिका महत्वपूर्ण रहने उल्लेख गर्नुभयो । अस्पतालमा मात्र नभइ समग्र लुम्बिनी प्रदेशलाई आवश्यक रगत उपलब्ध गराउन सक्नेगरी रक्तसञ्चार केन्द्र सञ्चालनमा आएको उहाँले बताउनुभयो ।