
सोमवार , आश्विन २७, २०८२
पोखरा, २७ असोज । पोखराको मणिपाल शिक्षण अस्पतालका नर्सहरू सम्मानजनक तलव सुविधाको माग राख्दै आन्दोलित भएका छन् ।
सरकारी मापदण्डभन्दा कम तलबभत्ता,जोखिमभत्ता नपाएको तथा अपमानजनक व्यवहार भोग्नुपरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । मणिपाल शिक्षण अस्पतालमा काम गर्ने नर्सहरुको तलव १५ देखि २० हजार रुपैयाँ मात्रै तलवभत्ता पाउने गरेका छन् ।
जुन सरकारी मापदण्ड (पाँचौँ तहको ३४ हजार ७ सय ३० रुपैयाँ) भन्दा निकै कम हो । अतिरिक्त समयको भत्ता र अन्य सुविधा समेत नपाएको उनीहरुको गुनासो छ । विगत दुई हप्तादेखि आन्दोलनरत नर्सहरु ‘हामी नर्स हौं, मेसिन होइनौँ, १५ हजारमा गुजारा चल्दैन’ लगायतका नारा लेखिएको प्लेबोर्डसहित आन्दोलरत छन् ।
मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्स पूजा फगामीले तलब र सुविधाको विषयमा पटक–पटक अस्पताल प्रशासनसँग माग रोखको भएपनि कुनै सुनुवाई नभएको गुनासो गर्नुभयो । बिरामीहरुको असुविधाको लागि माफी माग्दै उहाँले आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोक्ने उहाँको अडान छ ।
उहाँले भन्नुभयो, ‘हामीले रहरले आन्दोलन गरेका होइनौं । कतिधेरै बिरामीहरु अस्पताल आएर फर्किरहनु भएको छ । तर अस्पताल प्रशासनले हाम्रो मागको सुनुवाई नै गरेको छैन । हामी सन्तुष्ट नै छैनौं । हाम्रो तलबभत्ता र हाम्रो मेहेनतलाई नै अस्पतालले नजरअन्दाज नगरोस् भन्ने हाम्रो चाहाना हो ।’
नर्सहरूले सम्मानजनक तलव, जोखिम भत्ता, ओभरटाइम सुविधा र बिदा दिनुपर्ने उहाँको माग छ । यता अस्पताल स्रोतले भने तत्काल नर्स तथा स्वास्थ्य कर्मचारीको तलब पुनरावलोकन गर्ने अवस्था नरहेको बताउनु भयो ।
उहाँले अस्पतालका कमजोर आर्थिक अवस्थाका बाबजुद गण्डकी प्रदेशमध्ये सबैभन्दा राम्रो सेवासुविधा दिने प्रयास गरेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नर्सहरुलाई पाँचौं तहका कर्मचारी सरहको तलबभत्ता दिनु त राम्रो पक्ष हो । तर अहिले अस्पतालको जुन अस्पताल छ यसको कारणले आजकै दिनमा हामीले नर्समात्रै होइन कुनैपनि स्वास्थ्य कर्मचारीको तलब रिभाइज गर्न सकिने अवस्था छैन ।
तर पनि हामीले अहिले प्रदेशभरको सबैभन्दा बेस्ट सेलरी अफर गरेका छौं । उहाँहरुलाई कसरी राम्रोभन्दा राम्रो सेवा दिएर अघि बढ्ने भन्ने कोशिसमै रहेका छौं ।’
नर्सहरुलाई राम्रो सेवासुविधा दिएर मुुलुकमै काम गर्ने वातावरण निर्माण अस्पताल सधैं प्रतिवद्ध भएर लागिपरेको उहाँको दाबी छ
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij