२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सक्षम जनशक्ति उत्पादन गर्न गुणस्तरीय शिक्षा आवश्यकः पूर्वराष्ट्रपति भण्डारी

मंगलवार , जेठ २१, २०८२

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको शैक्षिक प्रणालीलाई युवामैत्री बनाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक रहेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । शिक्षा केवल प्रमाणपत्र हासिल गर्ने माध्यममा सिमित हुन नहुने उहाँको भनाइ छ ।

उहाँले राष्ट्रको समृद्धि र प्रगति शिक्षाको स्तरसँग प्रत्यक्षरूपमा जोडिएको उल्लेख गर्दै शिक्षा क्षेत्रमा व्यापक सुधारको आवश्यकता रहेको बताउनु भयो । उहाँले सूचना प्रविधि र यातायातको तीव्र विकासले आजको विश्वलाई सानो गाउँजस्तो बनाइदिएको उल्लेख गर्दै वैश्वीकरणका अवसरहरूको सदुपयोग तथा चुनौतिहरूको सामना गर्न सक्षम जनशक्ति उत्पादन गर्न गुणस्तरीय शिक्षाको आवश्यकता रहेको बताउनु भयो ।

विद्यालय तथा शैक्षिक संस्थाहरूमा पठनपाठनमा कुनै पनि बहानामा अवरोध नआउने गरी शिक्षामा लगानी बढाउनुपर्नेमा उहाँको जोड छ ।उहाँले भन्नुभयो, ‘शिक्षा एउटा ज्ञान आर्जनको माध्यम मात्र होइन । यो एउटा समुन्नत राष्ट्र निर्माणको लागि महत्वपूर्ण आधार हो । कुनैपनि राष्ट्रको प्रगति र समृद्धि त्यस राष्ट्रको शिक्षाको स्तरसँग प्रत्यक्ष रुपमा गाँसिएको हुन्छ । अतः हाम्रो शिक्षा प्रणालीको उद्देश्य केवल प्रमाणपत्र प्राप्त गर्ने, शिक्षित व्यक्तिको उत्पादनमा रहनु हुँदैन । परिवार, समाज र राष्ट्रप्रतिको गहिरो उत्ततरदायित्व बोध भएका सक्षम, इमानदार, अनुशासित र जिम्मेवार तयार पार्ने हुनुपर्दछ ।

सूचना तथा सञ्चार, प्रविधि र यातायातको तिब्र विकासको कारण आजको विश्व एउटा गाउँजस्तै बन्न पुगेको छ । विश्वव्यापीकरणको यस प्रक्रियाले हाम्रा लागि एकातर्फ विभिन्न अवसरका ढोकाहरु खोलिरहेको छ भने अर्कातिर केही चुनौतिहरु पनि थपिएका छन् । प्राप्त अवसरहरुको प्रभावकारी उपयोग गर्न र चुनौतीहरुको सामना गर्नको लागि हामीले हाम्रा बालबालिकाहरुलाई गुणस्तरीय शिक्षाको माध्यमबाट अन्तर्राष्ट्रियस्तरमै प्रतिस्पर्धा गर्नसक्ने योग्य र सक्षम बनाउनु आवश्यक छ । यसका लागि हामीले हाम्रो शैक्षिक नीति, पाठ्यक्रम, शिक्षण पद्धति तथा समग्र शैक्षिक प्रणालीमा युवाअनुकुल सुधार गर्नु अपरिहार्य भइरहेको छ ।

शिक्षामा लगानी बढाएर शिक्षाको पवित्र मन्दिर विद्यालय तथा शैक्षिक केन्द्रहरुको पठनपाठनलाई कतैबाट कुनैपनि बहानामा अवरोध पु¥याउनु हुदैन ।’नेपाल प्राकृतिक स्रोत र साधनको धनि भएको भएपनि सदुपयोग गर्न नसक्दा समृद्धिका अवसरहरु गुमाइरहेको बताउनु भयो ।