
बिहिवार , जेठ २३, २०८२
बुटवल, २२ जेठ । पछिल्लो समय रुपन्देहीको बुटवल उप–महानगरपालिकाले सेवाग्राहीलाई प्रदान गर्ने सार्वजनिक सेवा प्रवाहमा प्रभावकारीता अभिवृद्धिसँगै र सुशासनको प्रत्याभूति दिने प्रयास गरेको छ । उपमहानगरबासीलाई पालिकाले प्रदान गर्ने सार्वजनिक सेवालाई चुस्तदुरुस्त र जवाफदेही बनाउनुका साथै नगरबासीलाई सुशासनको अनुभूति गराउने किसिमले कार्य भइरहेको जनाइएको छ ।
यसका लागि आवश्यक कानूनहरु निर्माण गर्ने, ती कानूनहरुको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक नीति नियमहरु बनाउने, कार्यविधि र निर्देशिकाहरु तयार गर्ने कार्यहरु पनि धमाधम भइरहेको छ । बनाइएका कतिपय नीतिनियमहरु कार्यान्वयनको चरणमा गइसकेको उपमहानगरपालिका कार्यालयले जनाएको छ ।
सेवा प्रवाह र सुशासनका लागि यसअघि निर्माण भइसकेका कानून, नीति नियमहरुलाई प्रभावकारी कार्यान्वयन गर्नु/गराउनु मुख्य उद्देश्य रहेको उपमहानगर कार्यालयको भनाइ छ ।
नेपालको संविधान २०७२ ले निर्धारण गरेको संघीय संरचनामा स्थानीय सरकारलाई संघीय र प्रादेशिक कानूनसँग नबाझिने गरी २२ वटा क्षेत्रमा १ सय १६ कानून बनाउन र कार्यान्वयन गर्न अधिकार दिएको छ । संविधानतः मुलुकका केन्द्र, प्रदेश र स्थानीय तीन तहको सरकार रहने वर्तमान संघीय व्यवस्था अनुसार पनि आफ्नो आवश्यकता बमोजिमको कानून निर्माण गर्नु स्थानीय सरकारको आधारभूत अधिकार र कर्तव्य पनि हो ।
विद्यमान संरचना, स्रोत र संयन्त्रका आधारमा नागरिकमा आशा जगाउने कामको सुरुवात गरिएको र स्थानीय नेतृत्वको अभिभारा पूरा गर्न प्रतिवद्ध रहेको कुरालाई उप–महानगरपालिकाले पूरा गरेको छ । पछिल्लो समय जनतामा उत्पन्न निराशाबीच उपमहानगरले आशाको सञ्चार गरेको दावी गरेको छ । आफ्नो अधिकारलाई स्थापित गर्ने सवालमा बुटवल उपमहानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीको आचारसंहिता बनाएर काम सुरु गरेको छ । उपमहानगरले प्रभावकारी सेवा प्रवाह गर्ने र संरचनागत सुधार गर्दै सुशासशनको प्रत्याभूति दिलाउने गरी काम गरेको पाइएको छ ।
संविधानतः स्थानीय सरकारका रुपमा स्थापित उपमहानगरलाई अझ व्यवस्थित बनाउने, प्रभावकारी बनाउने, आवधिक र दीर्घकालीन योजना तय गर्ने र तिनलाई कार्यान्वयन गर्न उपयुक्त कार्यक्रम बनाएर दिगो व्यवस्थापनसहितको विकासको खाका पस्केको दावी गरिएको छ । स्थानीय सरकारका कामलाई मसिनोसँग नियाल्दै आएका जानकारहरू संघीय र प्रादेशिक सरकारका तुलनामा स्थानीय सरकारहरूले प्रभावकारी काम गरेको विज्ञहरुले औंल्याएका छन् । उपमहानगरले डिजिटल नगरका रुपमा पनि विभिन्न पारदर्शी काम गर्दै आएको छ ।
ई–हाजिरीदेखि नागरिक वडापत्र जारी गर्ने र सार्वजनिक सरोकारका निर्णयहरुलाई वेभसाइटमार्फत सार्वजनिक गर्ने काम हुँदै आएको छ । सेवाग्राहीको सहायता कक्ष स्थापना गर्नेदेखि ई–पेमन्टको व्यवस्था गरिएको छ । सूचना अधिकारी तोक्ने, गुनासो सुन्ने अधिकारीको व्यवस्था गर्नेदेखि सार्वजनिक सूचना पाटीहरुलाई अद्यावधिक गर्ने गरिएको छ । कर्मचारी र जनप्रतिनिधिको सम्पत्ति विवरण समेत अद्यावधिक गर्दै सार्वजनिक गर्ने र सम्बन्धित कार्यालयमा पेश गरिँदै आएको छ । सबै कानून, कार्यविधिहरु वेभसाइटमा राखिएको छ ।
स्थानीय सरकारका रुपमा प्रभावकारी काम गर्नुका साथै न्यायीक समिति गठन गरी त्यसको कार्यविधि बनाउने र मुलुकमै पहिलो व्यवस्थित इजलासमार्फत न्याय निरुपणका कामहरु गर्ने कामको सुरुवात पनि बुटवलबाटै भएको हो । बुटवलमा यसअवधिमा १ सय भन्दा बढी कानूनहरु (ऐन, नियम, मापदण्ड, निर्देशिका, कार्यविधि, आचारसंहिता) निर्माण गरी कार्यान्वयनमा ल्याईएको छ र १९ वटै वडामा मेलमिलापकर्तामार्फत न्याय सम्पादनको काम पनि भइरहेको छ ।
संगठन संरचनाको निर्माण तथा ८ महाशाखा र २९ शाखा रहने गरी ३ सय ६३ (स्वास्थ्य बाहेक) दरबन्दी स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ । प्रत्येक वडा कार्यालयहरुमा प्राविधिक र कम्प्युटर अपरेटरहरुको समेत व्यवस्था गरिएको छ । वडास्तरमा समेत राजस्व, पंजिका, व्यवसाय दर्ता, योजना सम्झौता तथा मूल्यांकन जस्ता सेवा प्रवाहहरु विद्युतीय प्रणालीमार्फत प्रदान गर्ने काम भएको छ । वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय लगायतका कार्यालयहरुमा विद्युतीय हाजिरी प्रणाली जडान गरी त्यसको कार्यान्वयन भइरहेको छ ।
यस क्षेत्रमै पहिलो र व्यवस्थित इजलासको निर्माण गरी नियमित न्याय निरुपण गर्दै यस अवधिमा वर्षौंदेखि टुंगो लाग्न नसकेका समेत गरी धेरै मुद्दाहरु इजलासमार्फत फछ्र्याैट तथा स्नातक तह उत्तीर्ण गरेका ६१ सहित करिब एक सयजना मेलमिलापकर्ताहरु परिचालन गरी यस वर्ष पनि धेरै विवादित मुदाहरुलाई मेलमिलापमार्फत निरुपण गरिएको न्यायीक समितिका संयोजक समेत रहेकी उपप्रमुख सावित्रादेवी अर्यालको भनाइ छ । अर्यालका अनुसार आफूहरु स्वयं फिल्डमा खटेर धेरै मुद्दाहरु उपमहानगरले फस्र्यौट गरेको छ । ‘हामीकहाँ धेरै मुद्दाहरु घरपरिवारमा जग्गा विवाद, खोला नाली मिचेर घरटहरा निर्माण गरेको, सम्पत्तिमा विवाद जस्ता मुद्दाहरु बढी आउने गरेको छ, ’उपप्रमुख अर्यालले भन्नुभयो ।
नगर प्रहरी सेवालाई मर्यादित तथा चुस्तदुरुस्त बनाउन प्रहरी तालिम केन्द्रमार्फत मापदण्डका आधारमा छनौट गर्ने, आधारभूत तहको आवासीय तालिम र दज्र्यानी चिन्ह प्रदान गरेर मात्र कार्यक्षेत्रमा खटाउने गरिएको छ । हाल बुटवल उपमहानगरपालिकामा १ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को कमाण्डमा ४ हवल्दारसहित ७ महिला र १५ पुरुष गरी जम्मा २७ जना नगर प्रहरी छन् ।
सेवाग्राहीका विभिन्न समस्या तथा गुनासालाई सम्बोधन गर्न कार्यपालिका सदस्य रहने गरी जनप्रतिनिधि सेवाग्राही सेवा कक्ष सञ्चालनमा ल्याइएको छ । यसमार्फत सेवाग्राहीका काममा सहायता पुर्याउनुका साथै वडा कार्यालयहरुलाई बिचौलियामुक्त बनाइएको छ ।
उपमहानगरपालिकाको वार्षिक आन्तरिक आम्दानी आर्थिक वर्ष २०७८/०७९ मा ५० करोड रहेकोमा राजस्वको दरलाई दायरा फराकिलो बनाउने नीति कार्यान्वयन गर्दै आ.व. २०८०÷८१ मा आइपुग्दा राजसव लक्ष्य ९१ करोड पुर्याइएको छ । बुटवलमा सञ्चालित व्यवसायहरुमध्ये आ.व. २०७८/०७९ मा उपमहानगरपालिकामा जम्मा ३० हजार मात्र दर्ता भएको अवस्थामा अहिले त्यो संख्या बढेर करिब ४० हजार पुगेको छ । डिजिटल बुटवलको अवधारणा अन्र्तगत राजस्व तथा कर शुल्क विद्युतीय भुक्तानी प्रणालीमार्फत बुझाउन सकिने प्रबन्ध मिलाइएको छ ।
राजस्व संकलन तथा व्यवसाय दर्ताका कामहरु वडा कार्यालयहरुबाट समेत हुने व्यवस्था मिलाइएको छ । ई–रिक्सा व्यवस्थापनको कामलाई पनि पूर्णता प्रदान गरिएको छ । उपमहानगरपालिकामा दर्ता नभएका ई–रिक्सालाई नगरमा आउन रोक समेत लगाइएको छ । जसका लागि ई–रिक्सालाई बुटवलमै रुट परमिट दिने र इजाजत दिने काम भइरहेको छं । बुटवलमा दर्ता भएका करिब २ हजार ई–रिक्साले इजाजत पत्र र रुट परमिट पाएका छन् । दर्ता नभएका र अनुमति नलिएका रिक्सालाई अब सञ्चालनमा रोक लगाउने गरिएको छ । बसपार्क लगायत उपमहानगरका विभिन्न स्थानमा सिसिटिभी तथा निःशुल्क वाइफाई जडान गरी जनसेवा प्रवाह गर्ने काम पनि तीव्र भइरहेको छ ।
जि.आई.एस.म्याप मार्फत सडक तथा घरहरु पहिचान गर्न सकिने डिजिटल हाउस नम्बरिङ्गको काम सम्पन्न भई कार्यान्वयनमा आइसकेको छ । डिजिटल सहरको अवधारणा अनुरुप मोबाइल एप्सको प्रयोग गरी घरदैलो सर्भेक्षणमार्फत भौगोलिक, जनसांख्यिक, आर्थिक तथा सामाजिक अवस्थासहितको वस्तुगत तथ्यांक संकलन गरी बुटवल उपमहानगरपालिकाको प्रोफाइल तयार गरिएको छ । घरहरुमा डिजिटल हाउस नम्बरिङ जडान गरी सकिएको छ ।
मोफसलमा बुटवलबाट सुरु भएको विद्युतीय घरनक्शा पास प्रणाली (ई.बि.पि.एस.) प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको छ । विगतमा विभिन्न कारणले घरनक्शा पास नभएका करिब ६ हजार घरहरुलाई नियमित गर्दै अभिलेखीकरण प्रदान तथा नक्सापास स्वीकृत गर्र्नेे कामका लागि थालनी भएको छ । १ हजार वर्गफुट सम्ममा निर्माण हुने घरको सहुलियत दरमा घरनक्शा निर्माण सेवा उपमहानगरपालिकाबाटै उपलब्ध गराउने काम प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको छ । क्षतिपूर्ति सहितको घरनक्शा पास टाइमकार्ड निर्माण गरी कार्यान्वयनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालको भनाइ छ ।
महानगरीय अवधारणाका साथ बुटवलको नयाँ व्यवस्थित प्रशासनिक भवन निर्माण गरी सेवा प्रवाह भइरहेको छ । वडा कार्यालयहरुलाई सेवा केन्द्रका रुपमा विकास गर्ने काम भइरहेको छ । सोही अनुरुप वडा नम्बर २, ५, ७, ९, १०, ११, १२, १३, १४ र १५ का वडा कार्यालयहरुको भवन निर्माण तथा स्तरोन्नति गर्ने काम पूरा भएको छ । अन्य वडा कार्यालयहरु पनि कतिपय निर्माणको चरणमा छन् भने कतिपय वडाहरुमा स्तरोन्नतिको काम भइरहेका छन् ।
अर्को महत्वपूर्ण कुरा उपभोक्तामार्फत सञ्चालन हुने योजनाको लागत स्टिमेट नेपालीमा तयार गर्ने कामको सुरुवात पनि बुटवलबाटै भएको हो । निर्माणका काम र तिनका कागजी प्रक्रियामा उपभोक्ताहरुलाई सहज जानकारी होस् भन्ने उद्देश्यले लगत स्टीमेटलाई नेपाली भाषामा बनाउने कामको थालनी गरिएको बुटवल उपमहानगरले जनाएको छ । १० लाखसम्मको योजनाहरुको वडा कार्यालयबाटै स्टिमेट, सम्झौता र मूल्यांकन गर्ने काम प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको छ । यसका लागि एक वडा एक प्राविधिक तथा दुई वडा १ इन्जिनियरकोे व्यवस्थाले योजना कार्यान्वयनमा प्रभावकारिता थपिएको भौतिक पूर्वाधार महाशाखा प्रमुख गौतम रौनियारले बताउनुभयो ।
यसबाहेक शहरलाई लैंगिक हिंसामुक्त बनाउने सवालमा, बेसहारा तथा सहयोगापेक्षी सडक मानवमुक्त बनाउने सवालमा, सरसफाई र हरियाली प्रवद्र्धन गर्ने गराउने सवालमा, सहरको सौन्दर्यकरण र उज्यालो शहर बनाउने सवालमा, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासको व्यवस्थापनको सवालमा, नदी नियन्त्रण तथा तटबन्धको व्यवस्थापन सम्बन्धमा, सडक तथा नाली निर्माण र स्तरोन्नतिका सम्बन्धमा र छाडा चौपाया व्यवस्थापन लगायत विभिन्न र अन्य क्षेत्रमा पनि बुटवल उपमहानगरले तदारुकताकाका साथ काम गरिरहेको छ । (संचारिका फिचर)
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij