२०८२, आषाढ २५ गते

Jul 09 2025 | २०८२, आषाढ २५ गते

पञ्चेबाजा घन्काउँदै बुटवलका महिला

बिहिवार , जेठ २३, २०८२

रुपन्देही । बुटवल १३ वेलवासकी सरस्वती मरासिनीले होटल व्यवसायि संचालन गर्दै आउनु भएको थियो । कोभिड १९ र त्यसपछिको आर्थिक मन्दिका कारण उहाँले होटल व्यवसायलाई दिगो रुप दिन नसकेपछि बन्द गर्ने अबस्थामा पुग्नुभयो ।

कोभिड अगाडिसम्म राम्रोसंग चलेको होटल आर्थिक मन्दिका कारण चल्न नसक्ने अबस्था आएपछि बन्द गरेर बसेको मरासिनीको भनाई छ । केहि समयसम्म घरमै यत्तिकै बस्दै आउनुभएकी मरासिनिले बुटवल उपमहानगरपालिकाले पञ्चेबाजा बजाउने तालिम दिने थाहा पाएपछि उहाँले आफु सहित टिम बनाएर तालिम लिनका लागि प्रस्ताव हाल्नुभयो। 

मौलिक लोक संस्कृतिको संरक्षण तथा महिलाहरुलाई आर्थिक आय आर्जनमा जोड्न भन्दै बुटवल उपमहानगरपालिकाले सरस्वति मरासिनी नेतृत्वको वेलवास महिला पञ्चेबाजा बुटवल १३ समुहसहितका ५ बटा महिला समुहलाई १५ दिने पञ्चेबाजा बजाउने तालिम दिएको थियो । बुटवल उपमहानगरपालिकाका विभिन्न आमा समुहहरुलाई नगरा, मंगल धुन, नाच्ने धुन लगायतका बाजा बजाउन सिकाईएको थियो ।

WhatsApp Image 2025-06-05 at 4.57.25 PM.jpeg

उपमहानगरपालिकाले ती समुहलाई बाजा सेट उपलब्ध गराएर पञ्चेबाजा बजाउन सिकाएको थियो । १३ जना महिलाको एउटा समुह बनाएर ५ वटा समुहलाई १५ दिने तालिम दिईएको सामाजिक परिचालन, अन्तर सहकारी तथा संघसस्था समन्वय शाखा अधिकृत सहनशिला कक्षपति श्रेष्ठले जानकारी दिनुभयो । उहाँले बुटवल ११ को श्रमिक महिला समुह, दुर्गानगर जनजागिर्ती आमा समुह, वडा नम्बर ३ को  चेतना पासाङ आमा समुह, वडा नम्बर ७ को क्षेत्री समाज महिला र दुर्गा मन्दिर आमा समुह र बुटवल १३ समुहलाई पञ्चेबाजा बजाउन सिकाईएको बताउनुभयो । 

WhatsApp Image 2025-06-05 at 4.57.25 PM (2).jpeg

पञ्चेबाजा बजाउन सिकेपछि आफुहरुमा थुप्रै खालका परिवर्तनहरु आएको बुटवल १३ समुहकी अध्यक्ष सरस्वती मरासिनिले बताउनु भयो । ४० बर्ष काटेका महिलाहरुका लागि पञ्चेबाजा तालिम पछि आर्थिक उपार्जनमा टेवा पुग्नुका साथै महिलालाई सक्रिय बनाउदै मनोरञ्जन समेत पैदा गरेको छ । 

सांगीतिक कलाको माध्यमबाट महिलाहरूले समाजमा नयाँ पहिचान बनाएका छन् । पहिले “पञ्चेबाजा त पुरुषकै काम हो” भन्ने सोचलाई तोड्दै महिलाहरूले सांस्कृतिक उत्तराधिकारलाई सम्हाल्ने र अगाडि बढाउन सहयोग गरेको छ । यसले समाजमा महिलाहरूप्रति हेर्ने दृष्टिकोणमा पनि परिवर्तन ल्याएको छ ।

WhatsApp Image 2025-06-05 at 4.57.25 PM (1).jpeg

पञ्चेबाजा सिकेपछि छोराको विबाहमा पनि आफ्नै समुहले पञ्चेबाजा बजाएर औपचारिक शुरुवात गरिएको अध्यक्ष मरासिनीले बताउनुभयो । त्यसपछि वर पिपलको विबाह तथा उपमहानगरको स्थापना दिवसमा पनि बाजा बजाईएको उहाँको भनाई छ । उहाँले अहिले महिला समुहहरुले व्यवसायिक रुपमा पञ्चेबाजा बनाउन थालेको बताउनु भयो । 

बुटवल ११ को श्रमिक महिला नौमति बाजा समुहकी सचिव शारदा श्रेष्ठले तालिम पश्चात महिलाहरुमा आत्मबल बढेको बताउनु भयो । घरको चुलो चौकोमा मात्रै रमाउदै आएका महिलाहरुका लागि पञ्चेबाजा बजाउन सिकेपछि अहिले बोलाएको ठाउँमा गएर पञ्चेबाजा बजाउदै आयआर्जनमा जोडिएको सचिव श्रेष्ठको भनाई छ । 

WhatsApp Image 2025-06-05 at 4.40.16 PM.jpeg

उपमहानगरपालिकाले प्रदान गरेको तालिम पश्चात पनि हामीहरुले छुट्टै प्रशिक्षक बोलाएर तालिम लियौं, अहिले पुर्ण रुपमा बाजा बजाउन सकिने भएका छौं, श्रेष्ठले भन्नुभयो अब हामी बोलाएका सबै ठाउँमा पुगेर पञ्चेबाजा बजाउन सक्छौं । 

श्रमिक महिला बाजा समुहले स्कुलको साधारण सभा, बिभिन्न खाले र्याली, मन्दिरका कार्यक्रमहरुमा गएर बाजा बजाएको बताउदै अब बिबाह व्रतबन्धमा पनि बजाउन बोलाए जान सकिने श्रेष्ठले जानकारी दिनुभयो । उहाँले नगरपालिकाले महिलाहरुलाई स्वरोजगार बन्नका लागि ठुलो प्रेरणा दिएको बताउनुभयो । 

पञ्चेबाजा बजाउन सिकेपछि महिलामा अहिले आत्मविश्वास र आत्मसम्मानमा वृद्धि हुनुका साथै थुप्रै परिवर्तन आएको बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले जानकारी दिनुभयो ।

‘नेपालको परम्परागत सांगीतिक सम्पदामा पञ्चेबाजाले एक महत्वपूर्ण स्थान ओगटेको छ, परम्परागत रूपमा पुरुषहरूले मात्र बजाउदै आएको पञ्चेबाजामा पछिल्लो समय महिलाहरूको सक्रिय सहभागिता देखिन थालेको छ । यो सबैभन्दा ठुलो उपलब्धी हो । प्रमुख पाण्डेयले भन्नुभयो–‘ पञ्चेबाजा सिकेपछि महिलाहरूमा धेरै प्रकारका सकारात्मक परिवर्तनहरू देखिएका छन्, जसले सामाजिक, आर्थिक र व्यक्तिगत स्तरमा सकारात्मक असर पारेको छ ।’

उपमहानगरले महिलाहरुलाई उद्यमशिलतामा जोड्नका लागि पञ्चेबाजा बजाउन सिकाउने देखि जुत्ताचप्पल बनाउन, सुनचाँदीका गरगहना बनाउन तथा सिलाई कटाईको तालिम दिएको नगरप्रमुख पाण्डेयले जानकारी दिनुभयो । 

बुटवल उपमहानगरले दिएको दिएको पञ्चेबाजा तालिमले महिला आर्थिक सशक्तीकरण, सामाजिक मान्यता र सम्मान, नेतृत्व विकास, लैङ्गिक सशक्तीकरणमा पनि महत्वपुर्ण टेवा पु¥याएको उपप्रमुख सावित्रा देवि अर्यालले जानकारी दिनुभयो । 

पञ्चेबाजा सिकेपछि महिलाहरूमा आत्मविश्वास र आत्मसम्मान उल्लेखनीय रूपमा बढेको उपप्रमुख अर्यालको छ । पहिले घर–परिवार र खेतबारीमा सीमित भएका महिलाहरू अब गाउँघरको सार्वजनिक कार्यक्रमदेखि विवाह, भोज र सांस्कृतिक उत्सवमा पञ्चेबाजा बजाउँदै अगाडि देखिन्छन्, यसले उनीहरूलाई आत्मगौरवको अनुभूति गराएको छ, यसले हामीलाई पनि बडो खुसि बनाएको छ । 

पञ्चेबाजाको समूह बनाएर तालिम लिएका महिलाहरूले अहिले आम्दानी पनि गर्न थालेका छन् । विवाह, ब्रतबन्ध, नाचगानजस्ता कार्यक्रमहरूमा बजाउने शुल्कबाट महिलाहरू आर्थिक रूपमा सक्षम हुन थालेको उपप्रमुख अर्यालको भनाई छ । 

महिलाहरुलाई संगितकार सुरेश सेन्चुरी, अनिल पहारी लगाएतको टिमले तालिममा प्रशिक्षण दिनुभएको थियो ।