२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रात्रीकालीन बजारले गुल्जार बन्दैछ बुटवल

बिहिवार , जेठ २३, २०८२

सुमित्रा चापागाई
बुटवल, २२ जेठ । भनिन्छ दिन आफ्नो र रात अर्काको हो । हामींलाई लाग्छ व्यापार व्यवसाय दिनमा मात्र चल्छ रातीमा त बन्द हुन्छ । यदि यो सोच राख्नुभएको छ भने तपाईंले सरासर गलत हुनुहुन्छ । बर्तमान अवस्थामा रातीको समयमा चल्ने रात्रीकालिन ब्यबसायको पनि उत्तिकै महत्व बढ्दै गएको छ ।

विगत २ वर्षअघि बुटवल कालिकापथ रात्रीकालिन बजारको रुपमा सुरुवात भएदेखि व्यवसायिक चहलपहल र रमझम छाएको व्यवसायीहरु बताउँछन् । पछिल्लो समय दिवा समयमा व्यापार व्यवसाय चलेको त छ नै तर रात्रीकालीन समयमा पनि व्यवसायिक चहलपहल र रमझम बढ्दै गएको हो ।

बुटवल उमहानगरपालिकाका वडा नम्बर ९ मिलनचोकमा रहेको सृष्टि जनरल स्टोरकी सञ्व्यलाक सीता न्यौपाने विगत १२ वर्षदेखि बुटवलको कालिकापथमा व्यवसाय गर्दै आउनु भएको छ ।  रात्रीकालिन बजारका कारण आफ्नो व्यापार राम्रै चलेको बताउनु भयो । रात्रीकालीन बजारको लागि जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति नल्याएको  लिएकी छैनन् । तर बुटवल जस्तो ठाउँमा रात्रीकालिन बजार हुन जरुरी रहेको उहाँको भनाइ छ । न्यौपाने भन्नुहुन्छ् –अब म पनि रातीको लागि छिट्टै स्वीकृति लिन्छु र ब्यापार ब्यबसाय बढाउछु ।

night bazar 3.jpg

कालिकानगरस्थित माता सुपा देउराली तन्दुरी एण्ड रेस्टुरेन्ट विगत ४ वर्षदेखि चलाउँदै आएका सञ्चालक मिना कार्कीले रात्रीकालीन बजार लागू गरेको ठिक भएको तर त्यसका लागि आवश्यक शान्ति सुरक्षा नभएको गुनासो गर्नुहुन्छ । “सीसी क्यामेराको व्यवस्था र सबै ठाउँमा लाइट हुनुपर्यो र बल्ल हुन्छ व्यापार । जति उज्यालो र झलमल्ल भयो त्यति नै रमाइलो र बजारमा आउन मन हुनेहरुलाई पनि जाऊँ जाऊँ, हेरुँ हेरुँजस्तो हुन्छ । “त्यसैले सबैभन्दा पहिले सडकमा झलमल्ल उज्यालो हुनुपर्याे ।”

सोही ठाउँकै जुसी केक विगत पाँचवर्षदेखि सञ्चालन गर्दै आउनु भएकी पुष्पा ढुङ्गानाले रात्रिकालीन बजार घोषणा गरे पनि सोचेजस्तो तरिकाले सञ्चालन नभएको बताउनुहुन्छ । यहाँ सबै ठाउँमा लाइट पर्याप्त छैन्, सिसी क्यामेरा र सुरक्षा अभाव छ । त्यसैले राति अबेरसम्म पसलमा बस्न गाह्रो हुन्छ ।

यता बुटवल ११ कालिकानगरको होराइजनचोकमा रहेको श्रीराम किराना पसलका सञ्चालक भवानी नेपाल २४ वर्षदेखि सोही ठाउँमा व्यापार गर्दै आउनु भएको छ ।  राति १० बजेसम्म पसल खोल्छु जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएको छैन अव लिने तयारीमा छु । रात्रिकालीन बजारप्रति सकारात्मक नै छन् । पसल सञ्चालक नेपालले रात्रिकालीन बजार लागू गरेको व्यापारिक हिसाबले राम्रो भएको तर कतिपय ठाउँमा कार्यान्वयनमा भने त्यति नआएको भनाइ छ ।

बुटवल ११ होराइजन चोकमा रहेको गैरे मासु पसल विगत १७ वर्षदेखि चल्दै आएको छ । गैरे मासु पसलका सञ्चालक सेवा बस्नेतले राति ९ बजेसम्म मात्र व्यवसाय सञ्चालन गर्ने गरेको बताउदै बस्नेतले रात्रिकालीन बजारको लागि अनुमानि नलिएको र अब भने त्यसको प्रक्रियामा जाने उहाले बताउनु भयो ।

बुटवल उपनगरपालिकाले डेढ वर्षअघि बुटवलको वडा नं. ९ र ११ मा पर्ने कालिकापथ सडकको नयाँ बसपार्कदेखि होराइजन चोकसम्मको सडकमा रात्रिकालीन बजार सञ्चालन गर्ने घोषणा गरेपनि त्यो पूर्णरूपमा प्रभावकारी भने नभएको स्वयं स्थानीय व्यवसायीको गुनासो छ।

रात्रीकालीन बजार चलायमान भएमा व्यापार व्यवसाय बढ्ने आशा उनीहरूको छ। तर त्यसका लागि आवश्यक पूर्वाधार न नगरले गराउन सकेको छ न त शान्ति सुरक्षाको प्रत्याभूति नै भएको छ । पुलिस प्रशासन १० बजे नै बन्द गर्न भन्दै सिठी फुक्दै आउने र यसले गर्दा व्यवसायी त्रसित हुने उनीहरुको गुनासो छ । बजारमा पुग्ने सेवाग्राहीहरुलाई निःशुल्क शौचालयको व्यवस्था नहुनु, व्यवसायीको लागि पार्किङ सुविधा नहुनु, सडकमा लाइटिङ र सिसीटीभी क्यामेराको व्यवस्था नहुनु, जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति नलिनु, व्यवसाय भएका घरधनीले रातिको व्यवसायको लागि स्वीकृति नदिनु, व्यवसायी ढुक्क हुने गरि शान्ति सुरक्षा नहुनु आदी समस्याहरु छन् ।

बुटवलमा रात्रीकालिन बजार सञ्चालन गर्दा अर्थतन्त्रमा टेवा पुग्ने बिश्वास गरिएको छ । विभिन्न क्षेत्रको व्यापार व्यवसायको प्रवद्र्धन र विकास हुनु, रोजगारीको वातावरण सृजना हुनु, स्थानीय परिकार, कला संस्कृतिको जगेर्ना र संरक्षण हुने जानकारीहरु बताउछन् । होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घका अध्यक्ष लेखनाथ भण्डारीले बुटवल उप–महानगरपालिकाले रात्रीकालीन बजार घोषणा गरेपछि राति अबेरसम्म व्यवसाय सञ्चालनका लागि पहल थालिएको बताउनुभयो । उहाँले रात्रीकालीन व्यवसाय सञ्चालनका लागि व्यवसायीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएको बताउनु भयो ।

सांस्कृतिक कार्यक्रमहरू गर्न सकियो भने त्यसकै कारण रात्रीकालिन बजारमा चहलपहल बढ्ने र हरेक क्षेत्रको व्यवसाय चलायमान हुने उहाँले बताउनु भयो । रातीको बजारले किराना व्यवसाय पनि फस्टाएको छ । “किरानामा पनि राति १ बजेसम्म भिडभाड भएको आफूले पाएको बताउनु भयो । यसका लागि स्थानीय तहले अलि बढी चासो दिनुपर्ने कुरामा उहाँको जोड छ । बुटवलको रातीको बजारमा अबदेखि गुड फ्राइडे भनेर गर्न सकेमा समग्र व्यवसायमा चहलपहल हुने, व्यापार बढ्ने र बुटवलमा पर्यटकहरू धेरै भित्राउन सकिने उहाको भनाई छ ।

संघका महासचिव अर्जुन थापाले रात्रीकालीन बजार सञ्चालनका लागि सबै सकारात्मक हुनु पर्ने बताउनु भयो ।महासचिव थापाले रात्रीकालीन बजारबाट आफु सन्तुष्ट रहेको र आफ्नो व्यापारमा समेत वृद्धि भएको बताउनु भयो ।

बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि अर्यालले रात्रीकालीन बजारमा होटेलहरु चलायमान हुँदा सबै क्षेत्रलाई फाइदा हुने बताउनु भयो । यसबाट होटल व्यवसायी पनि सन्तुष्ट भएको उहाको भनाइ छ । अध्यक्ष अर्यालले यसलाई सङ्घले सकारात्मक रुपमा लिएको बताउदै बजार बिस्तारै चलायमान हुँदै जाँदा स्थानीय बासिन्दाले पनि सहजरुपमा स्वीकार्नु पर्ने बताउनु भयो । “यसबाट उत्साह बढेको र यसलाई  संस्थागत गरेर लैजान रात्रीकालीन बजार जरुरी छ ।”

त्यसैगरी उद्योग व्यापार सङ्घ बुटवलका अध्यक्ष विष्णु पाण्डेले कालिकापथको रात्रीकालीन बजार चलायमान हुनको लागि पूर्वाधारहरू सबै पूरा भए मात्र सार्थक हुने बताउनु भयो । पर्यटन भित्राउने तरिकाले व्यवस्थित ढंगले बजार सञ्चालन गर्नु पर्नेमा जोड दिदै यसकै माध्ययमबाट बुटवललाई एउटा पर्यटकीय क्षेत्र बनाउन सकिने बताउनु भयो । 

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ईन्द्र बहादुर थापाले जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बनेको समितिको निर्णय अनुसार प्रहरी निगरानीमा जाने बताउनु भयो ।

बुटवल उपमहानगरपालिकाको प्रमुख खेलराज पाण्डेले बुटवलको कालिकानगरको रात्रीकालिन बजारलाई व्यवस्थित बनाउन स्ट्रेट लाइट र सिसिटिभी क्यामेराका लागि रु २५ लाख रकम बजेट छुट्याएको बताउनु भयो ।

उपप्रमुख सावित्रा अर्यालले बुटवलमा रात्रीकालिन बजार चलाउन आवश्यक रहेको बताउनु भयो । उहाँले दिउँसोको समयमा बजार गर्न नभ्याउने मानिसहरू धेरै छन् उनीहरुले रातीको समयमा बजार गर्दछन् र पर्यटकीय हिसाबले पनि रात्रीकालीन बजार जरूरी भएको बताउनु भयो ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत विक्रम थापाका अनुसार कार्यालयमा हालसम्म रात्रीकालीनको लागि ४७ वटा व्यवसायीले आफ्नो व्यवसाय दर्ता गरेका छन् । यसमध्ये बुटवलका दर्ता ३२ वटा रहेका छन् । तिमध्ये २१ वटा होटेल, क्लव र बारहरु छन् ।

यस्तै तिलोत्तमा नगरपालिकाका १५ वटा रहेको उहाले बताउनु भयो । रात्रीकालीन बजार सञ्चालनका लागि पूर्ण समयमा व्यवसाय सञ्चालन गर्ने सम्बन्धी कार्यविधि २०७९ नामक कार्यविधिसमेत बनेको छ । त्यसैको आधारमा रहेर रात्रीकालीन व्यवसायलाई सुरक्षाका दृष्टिले व्यवस्थित गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । (संचारिका फिचर)