
बिहिवार , जेठ २३, २०८२
बुटवल, २२ जेठ । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १५ स्थित सेमलारमा लामो समयदेखि बसोबास गर्दै आएका लालपूर्जाबिहीन जग्गाधनीलाई पूर्जा वितरण गरिएको छ । बिहीबार सेमलार क्षेत्रका ४२ वटा गाउँब्लक जग्गाको पूर्जा वितरण गरिएको हो । करिब ६ दशक अघिदेखि बसोबास गर्दै आएपनि लालपूर्जाबिहीन ४२ घरजग्गाका धनीलाई बिहीबार उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले लालपूर्जा वितरण गर्नुभएको हो ।
लालपूर्जा वितरण गर्दै नगरप्रमुख पाण्डेयले बुटवलका अरु धेरै स्थानमा नापजाँच भएर पूर्जा दिन बाँकी रहेका सबैलाई छिटै नै पूर्जा दिने गरी प्रक्रिया अगाडि बढेको बताउनुभयो । अहिले पनि बुटवल उपमहानगरभित्र लालपूर्जाबिहीन क्षेत्रको नापजाँच भइरहेको र प्रक्रिया पूरा गरेका स्थानको पूर्जा दिने गरी काम अगाडि बढेको उहाँले जानकारी दिनुभयो । गाउँब्लकका जग्गाहरुको नापजाँच छुटेको भएमा वा कुनै समस्या रहेको भएमा बुटवल उपमहानगरपालिकाले सबै खर्च बेहोरेर नापजाँच गरेर पूर्जा दिनेगरी प्रक्रिया अगाडि बढाउने उहाँले प्रष्ट पार्नुभयो ।
नगरप्रमुख पाण्डेयले ६१ वर्ष अघिदेखि जग्गा खरिद गरेर बसोबास गरेकालाई पूर्जा दिन पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले केही स्थानमा बसोबास र पूर्जाको विवरण फरक परेकोले त्यसको समेत सहजीकरण गरी पूनः नापजाँच गरी पूर्जाको त्रुटी सच्याउने गरी प्रक्रिया अगाडि बढाएको पनि बताउनुभयो । नापी कार्यालयसँगको सहकार्यमा सबै क्षेत्रका जमीनको पूर्जासम्बन्धी समस्याहरु समाधानका लागि अध्ययन भएको र छिटै नै काम अगाडि बढाइने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्यालले पूर्जा प्राप्त गर्ने गरी प्रक्रिया पूरा भएकाहरुलाई यथाशिघ्र लालपूर्जा वितरण गर्ने गरी काम भएको बताउनुभयो । कार्यक्रममा भूमि समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष कुमार थापा, नापी कार्यालय रुपन्देहीका नापी अधिकृत सुग्रिव यादव, वडा नम्बर १५ का अध्यक्ष शिव राना लगायतले बुटवल उपमहानगरपालिकाभित्र प्रक्रिया पूरा गरी पूर्जा वितरणका लागि तयार भएका जग्गाहरुको पूर्जा वितरणको काम अगाडि बढेको बताउनुभयो ।
यसैबीच लालपूर्जा प्राप्त गरेका स्थानीयले सञ्चारकर्मी समक्ष खुशी व्यक्त गरेका छन् । लामो समयदेखि लालपुर्जा नहुँदा घरनक्सा पास, खरिद विक्री, बैंकिङ्ग कारोबार लगायतका कामहरु गर्न समस्या भएको बताउँदै उहाँहरुले अब सहज हुने भएकोले खुशी भएको बताउनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij