
शुक्रवार , जेठ २४, २०८२
सुनिता चुदाली (प्रतिबिम्व)
बुटवल, २३ जेठ । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले वडा नम्बर १२ की शिवकुमारी आचार्यले नयाँगाउँमा टेलरिङ व्यवसाय सुरु गरेको २ वर्ष पुग्यो । २ वर्ष अघिसम्म बेरोजगार जस्तै रहनुभएकी ३८ वर्षीया आचार्य हातमा सीप भएपछि आज भोलि निकै व्यस्त हुनुहुन्छ ।
बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित आधारभूत सिलाईकटाई तालिम लिएपछि घरमै टेलरिङ सुरु गर्नुभएकी आचार्यले अहिले उपमहानगरपालिकाले सञ्चालन गरेको फेशन डिजाइनिङ एड्भान्स तालिम लिइरहुभएको छ । आधारभूत तालिम सकेर व्यवहारिक अभ्यास गरिरहेकाहरुका लागि यो फेशन डिजाइन एड्भान्स तालिम ईन्टरस्क्याप कलेज अफ आर्ट एण्ड डिजाइन तालिम सञ्चालन भएको हो । बुटवल–६ मा सञ्चालन भइरहेको सो तालिममा सहभागी आचार्यले सामान्य सिलाईकटाई सम्बन्धी ज्ञानले मात्र टेलरिङ पसल सञ्चालन गरिरहेको बताउनुभयो । तालिमले आफूलाई आत्मनिर्भर बनाएको उल्लेख गर्दै आचार्यले तालिम लिएपछि फेसन डिजाइनिङ सम्बन्धी सम्पूर्ण काम गर्ने र अरु इच्छुक महिलाहरुलाई पनि तालिम दिने उद्देश्य रहेको बताउनुहुन्छ ।
‘आधारभूत कोर्ष पनि बुटवल उपमहानगरपालिकाले दिएको तालिमबाट यहीबाटै लिएको हो, एडभान्स तालिम पनि लिइरहेको छु, ’उहाँले भन्नुभयो–‘पहिले सामान्य खर्चका लागि श्रीमान्सँग पैसा माग्नुपथ्र्यो अहिले भने यो बाध्यता हटेको छ ।’ तालिम लिएपछि पसल सञ्चालन गर्नुभएकी उहाँलाई घर व्यवहारको लागी सामान्य खर्चका लागि आम्दानी त्यही सिलाइ पसलबाट भएको छ । ‘श्रीमान्को कमाइ बचेको छ । अब एड्भान्स तालिम लिएपछि यही पसल ठुलो बनाउने सोचमा छु । पसल दर्ता पनि गरिसकेकी छु, ’उहाँले भन्नुभयो ।
फेसन डिजाइनप्रति बजारबासीहरुमा मोह बढ्दै गएकाले उहाँले यो व्यवसायमा भविष्य देख्नुभएको हो । सामान्य टेलरिङ चलिरहेकै छ फेसन डिजाइन यसलाई आधुनिक फेसन डिजाइनको रुपमा परिणत गर्ने उहाँको सोच छ । उहाँले भन्नुभयो–‘फेसन डिजाइनरको काम कहिल्यै पछाडी पर्दैन । कही खालि बस्नुपर्दैन । श्रीमान्को पसल छ । उहाँले कमाएको बचत हुन्छ । आफूले केही गर्दा उहाँलाई पनि सहज हुने बचत भएपछि पसल बढाउन पनि सजिलो हुन्छ । एड्भान्स तालिम लिएपछि यो पसल अलि बृहत बनाउँछु ।’
‘उपमहानगरले तालिम चलाएको रहेछ तालिम खुलेको सूचना पाएँ । दिउँसो ११ बजेदेखि ४ बजेसम्म तालिममा व्यस्त हुने गरेको छ । मैले लिन चाहेको क्षेत्रमा तालिम खुलेको रहेछ ढुंगा खोज्दा देउता मिल्यो भने जस्तो भयो, ’उहाँले भन्नुभयो ।
उहाँले यही ईन्टरस्क्याप कलेज अफ आर्ट एण्ड डिजाइनमा फेसन डिजाइनिङमा आधारभूत तालिम लिनुभएको छ । पसलमा काम आउन थालेपछि उहाँलाई यो तालिमले आकर्षित गरेको थियो । ४५ दिन आधारभूत तालिम लिनुभएकी उहाँले एडभान्स तालिम पनि १ महिना लिइरहनुभएको छ । ‘बजारमा नयाँनयाँ डिजाइनका कपडा आउँछन् । तिनै डिजाइनको माग नयाँ पुस्तामा छ । यो त सिक्दै गर्दै जाने कुरा रहेछ । अरु अगाडीका तालिम पनि लिन्छु, सिक्दै काम गर्दै जानेछु, ’आचार्यले भन्नुभयो–‘बुटवल उपमहानगरपालिकाले दिएको निःशुल्क तालिमले म जस्ता सिक्न चाहनेहरुलाई धेरै फाइदा भएको छ । तालिममा सिक्न चाहनेहरुलाई डिजाइनिङको सम्पूर्ण सामग्री बुटवल उपमहानगरपालिकाले नै उपलब्ध गराएको छ ।’
चलिरहेको तालिममा २५ जनाको समूह छ । उहाँहरु बिहान ११ बजेदेखि ४ बजेसम्म फेसन डिजाइनको तालिममा व्यस्त हुनुहुन्छ । ‘प्रशिक्षकले पनि प्रशिक्षार्थीहरुले चाहेको सिकाउनु्हुन्छ । अहिले हेभि ब्राइडल गाउन ब्लाउज लगायतका बजारमा आएका नयाँनयाँ डिजाइनहरु सिकेका छौ, ब्राइडल लेहेड्डा, ब्लाउज लगायतका नयाँ नयाँ डिजाइका ड्रेस बनाउन सिकेका छौं, ’उहाँले थप्नुभयो–‘तालिमका प्रशिक्षक दुर्गा थापाले तालिम लिन आएका महिलादिदीबहिनीहरुले निकै मन लगाएर सिक्ने गरेको बताउनुभयो । तालिम लिएकाहरु बेरोजगार बस्नुपर्दैन, कही न कही जोडिएको हुनुहुन्छ । ’तालिमले सीप विकाससँग रोजगारीको पनि सिर्जना गरेको उहाँले बताउनुभयो । उहाँले फेशन डिजाईनिङ्ग व्यवसाय सधै चल्ने व्यवसाय भएकाले पनि यसमा आकर्षण बढेको बताउनुभयो ।
त्यस्तै बुटवल–११ नहरपुरकी ४० वर्षीया लक्ष्मी राना पनि बुटवल उपमहानगरपालिकाको सहकार्यमा सञ्चालन भएको तिनाउ बहुप्राविधिक शिक्षालय बुटवल–६ मा तालिम लिइरहनुभएको छ । उहाँ एडभान्स टेलरिङ्ग सकेपछि आफ्नै पसल खोल्ने योजनामा हुनुहुन्छ । ‘मैले बेसिक कोर्ष पनि यहीबाट लिएको हो । बेसिकमै सबै सिकिदोरहेनछ । पसल खोल्ने आँट आएन, ’उहाँले भन्नुभयो–‘अहिले एडभान्स तालिम लिइरहनुभएकी उहाँले अहिलेको तालिममा बजारमा आएका नयाँनयाँ डिजाइनका कपडा सिलाउन सिकेकोले अबको १ महिनाभित्र आफ्नै सिलाइ पसल खोलीसक्ने बताउनुभयो । स्वरोजगार पनि हुने पसल अलि विस्तार गर्ने अरु सिक्न चाहने दिदीबहिनीहरुलाई पनि रोजगार दिन सकिने भएकाले यो पेशा सधै चलिरहने पसलको लागि चोक नै नचाहिने र घरमा पनी सञ्चालन गर्न सकिने भएकाले यो पेशा रोजेको उहाँले बताउनुहुन्छ ।
टेलरिङका प्रशिक्षक अनिता थापाले तालिम लिने प्रशिक्षार्थीहरुले लगनका साथ सिकिरहनुभएकोले आफूलाई सिकाउन पनि सजिलो भएको बताउनुहन्छ । यहाँ सिकेका दिदिबहिनीहरु कोही खाली बस्न नपरेको भन्दै नयाँ बजारको मागअनुसार सिकाएको उहाँको भनाइ छ ।
त्यस्तै बुटवल–४ राममन्दिरलाइनकी सृष्टि वि.क. गत वर्ष बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको गरगहना बनाउने तालिममा सहभागी हुनुभयो । घरमा बस्नुभन्दा सिकौं न भन्ने उद्देश्यले तालिममा सहभागी हुनुभएकी वि.क. अहिले पसलपसलमा गहना बनाउने काम गर्नुहुन्छ । हिजो केही नगर्दा भन्दा अहिले सीप सिकेपछि उहाँ झन उत्साहित र खुशी देखिनुहुन्छ । अहिले उहाँले सिक्री, औठी, बाला लगायतका धेरैप्रकारका गरगहना बनाउन सक्नुहुन्छ ‘थप तालिम सञ्चालन भए लिने इच्छा छ, ’उहाँले भन्नुभयो ।
बुटवल उपामहानगरपालिकी उपप्रमुख सावित्रा देवी अर्यालले महिलाहरुलाई सीप दिएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुहुन्छ । महिलाहरु आर्थिक रुपमा सबल नभएसम्म अगाडी बढ्न नसक्ने भएकाले पनि महिला सशक्तिकरणको लागि सीप आवश्यक रहेको उहाँको भनाइ छ । ‘महिला आर्थिक रुपमा सशक्तिकरण नभएसम्म अधिकारले मात्र अगाडी बढुन सक्दैनन’ उहाँले भन्नुभयो–‘महिलाहरुलाई सीप र रोजगारमा जोडियो भने मात्र महिला शशक्तिकरणले सार्थकता पाउँछ । बुटवलका महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर गराउनका लागि फेशन डिजाइन, टेलरिङ, जुत्ताचप्पल बनाउने तालिम, बाटेको धूप बनाउने तालिम, कम्प्युटर तालिम, बाध्यबादन लगायतका धेरै तालिमहरु दिइएको छ । यसबाट बुटवल उपमहानगरपालिकाका धेरै महिलाहरु लाभान्वित भएको उपप्रमुख अर्यालले बताउनुभयो ।
‘समानता, स्वाभिमान र अवसर बस्नयोग्य बुटवल शहर’ मूल नारा र ध्येय रहेको बुटवल उपमहानगरपालिका हो, महिलाहरुलाई आत्मनिर्भर र स्वाभिमानी बनाउन सीप विकासका तालिमले सार्थकता पाएको नगरप्रमुख खेलराज पाण्डेय बताउनुहुन्छ । ‘बेराजगार तथा गृहिणी महिलाहरुलाई सीप र अर्थतन्त्रसँग जोड्न सके मात्र समुन्नत शहर बनाउन सकिन्छ । ‘विगतका तालिम प्रभावकारी छन आगामी बर्षमा पनी यस्ता योजनालाई वार्षिक कार्यक्रममा समेट्छौं, ’उहाँले भन्नुभयो ।
नगरबासीहरुलाई सीपसँग जोडेर स्वरोजगार बनाउने योजना सफल भएको र हालसम्म सयौंको संख्यामा युवाहरु तथा महिलाहरु स्वरोगार बन्न सफल भएको बुटवल उपमहानगरपालिले जनाएको छ । सीप सिकेसँगै रोजगारीसँग जोडिएर आर्थिक उपार्जन गर्न सकेमा मात्र समृद्धिको यात्रा तय गर्न सकिने उपमहानगरका पदाधिकारीहरुको भनाइ छ । (सञ्चारिका फिचर)
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij