
शनिवार , जेठ २५, २०८२
बुटवल, २४ जेठ । रुपन्देही उद्योग संघले आफ्ना सदस्य उद्योगी–व्यवसायीलाई आर्थिक विधेयक २०८२ र २०८२–८३ को बजेटका बारेमा अभिमुखीकरण गरेको छ । शुक्रबार आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट र आर्थिक विधेयक २०८२ मा भएको व्यवस्थाका बारेमा जानकारी गराइएको हो ।
सो अवसरमा बोल्दै संघका अध्यक्ष दिलिप सापकोटाले उद्योगी–व्यवसायीलाई गरिएको अभिमुखीकरणले बजेट र आर्थिक विधेयकले सम्बोधन गरेका कुराहरुका बारेमा जानकारी हासिल गर्न सहयोग पुर्याउने बताउनुभयो । उहाँले सम्बोधन भएका छुट सुविधाबाट लाभ लिन आग्रह गर्नुभयो । उहाँले अहिले बजारमा नक्कली करदाता बिजक समेत जारी हुने भएकाले त्यसप्रति सचेत र सजग रहन आग्रह गर्नुभयो ।
अध्यक्ष सापकोटाले समग्रमा बजेटले धेरै विषयवस्तु समेटेको बताउँदै आफूहरुले उठान गरेका कुराहरु समेटिएकाले सकारात्मक रुपमा लिएको बताए । आर्थिक विधेयकमा समावेश भएका विषयहरु आम उद्योगी–व्यवसायीलाई बुझाउन सकिए त्यसबाट उनीहरुले लाभ लिन सक्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा संघका पूर्वअध्यक्ष दिनेशराज रेग्मीले सरकारले ल्याएको आर्थिक विधेयक र बजेटमा समेत समावेश भएका विषयहरु विषयविज्ञबाट जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएकोप्रति प्रशंसा गर्नुभयो । उहाँले आर्थिक विधेयकमा कतिपय गहिरा र मसिना विषयहरु पनि हुने र त्यस्ता विषयमा जानकारी नहुँदा उद्योगी–व्यवसायीले लाभ लिने कुरामा चुकिरहेकोले समयसान्दर्भिक रुपमा गरिएको कार्यक्रम लाभदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
आर्थिक क्षेत्रका विज्ञ नेपाल चार्टर्ड एकाउन्टेन्स संघ (एक्यान) रुपन्देहीका सचिव सिए सगुण खनालले कार्यपत्र प्रस्तुत गर्दै राजस्वका अन्य स्रोतहरुमा भएको व्यवस्था, आर्थिक विधेयक २०८२, करको दरमा भएको हेरफेर, आयकर, मुल्य अभिवृद्धि कर, अन्तःशुल्क, भन्सार महशुल लगायतका नयाँ प्रावधानका विषयमा जानकारी दिनभएको थियो । उहाँले सरकारले राजस्वका अन्य स्रोतहरु व्यवस्था गरेको बताउँदै आर्थिक विधेयक २०८० मार्फत ल्याइएको वैदेशिक पर्यटन शुल्कलाई आर्थिक विधेयक २०८२ ले खारेज गरेको तर, आर्थिक ऐन असार मसान्तसम्म रहने हुँदा पर्यटन शुल्क असार मसान्तसम्म कायमै रहने बताउनुभयो ।
हरितकरको दरमा परिवर्तन भएको, वैदेशिक रोजगार सेवा शुल्क थप गरिएको, बिलासिताका वस्तुमा शुल्क थप गरिएको, वैदेशिक अध्ययनमा जाने विद्यार्थीका लागि शिक्षा सेवा शुल्क थप गरिएको, आर्थिक विधेयकमा जलविद्युत आयोजनाले बैंक जमानतमा पैठारी गर्न सक्ने, ढुवानी साधनको भाडावापतको खर्च कट्टी, अवकाश योगदान वापतको रकम हस्तान्तरण गर्ने, सामाजिक संस्थालाई छुट, मूल्य अभिवृद्धि कर तथा अन्तशुल्कमा छुट सुविधा, अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायक तथा हवाई टिकट विक्रेतालाई छुट, आय विवरण पेश नगरेकालाई छुट सुविधा, विद्युतीय सेवा प्रदायकलाई सुविधा, सार्वजनिक तथा निजी सवारीसाधनलाई आयकर छुट लगायतका छुट सुविधा प्रदान गरिएको उद्योगीहरूलाई जानकारी गराउनुभयो ।
सो कार्यक्रममा उद्योगीहरुबाट उठान भएका जिज्ञासाहरु उपर सहजकर्ता सिए सगुन खनालले प्रष्ट पार्नुभएको थियो । संघका महासचिव हिरामणी भट्टराईको सञ्चालनमा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुलीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij