२०८३, बैशाख ३१ गते

May 14 2026 | २०८३, बैशाख ३१ गते

नेपाली अर्थतन्त्रको चरित्र नफेरेसम्म मुलुकको विकास हुँदैन : घनश्याम भुसाल

शनिवार , जेठ २५, २०८२

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • बुटवल, २४ जेठ ।नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेपालमा केन्द्रदेखि तलसम्म सत्ताको दोहोन गर्नेहरुको पल्टन नै तयार भएको बताउनुभएको छ । अर्थशास्त्री मनिकर कार्कीको ‘अर्थदृष्टि’ पुस्तकको बुटवल विमर्श कार्यक्रममा वक्ताका रुपमा बोल्दै भुसालले सत्ताको दोहन गर्नेहरु राजनीतिक कार्यकर्ताहरुको पल्टन बनेको बताउनुभएको हो ।

    ‘१५ देखि २० लाख वा थोर धैरै हुन सक्छ, कार्यकर्ताहरुको हैसियत र पद अनुसार लाभ लिने काम भइरहेको छ’ उहाँले भन्नुभयो । उहाँले नेपालको अर्थतन्त्र दलाल पूँजीवाद रहेकाले यसले रोजगारी र सुशासन ल्याउन नसकेको बताउनुभयो । ‘रोजगारी सृजना गर्ने पूँजी राष्ट्रिय पूँजी हो, रोजगारी सृजना नगर्ने तर नाफा कमाइराख्ने दलाल पूँजी हो, यसलाई फेर्नुपर्छ’ उहाँले भन्नुभयो । 

    पूर्वमन्त्री समेत रहनुभएका भुसालले नेपालको अर्थतन्त्रको माथिदेखि तलसम्मको चरित्र दलाल पूँजीको रहेकाले यसलाई फेर्न निकै कठिन रहेको बताउनुभयो । उहाँले नेपाली अर्थतन्त्रको चरित्र नफेरेसम्म मुलुकको विकास र प्रगति नहुने बताउनुभयो ।

    ‘दलाल पूँजीवाद अर्थतन्त्र फेर्नपर्छ, फेर्न सजिलो छैन, किनभने यसले संसद् किन्छ, पार्टी किन्छ, नेता किन्छ, अदालत किन्छ, अदालत किन्छ, पार्टी पनि किन्छ, अदालत किन्छ, न्यायधिशलाई किन्छ’उहाँले भन्नुभयो–‘बिहानै किन्छ, दिउँसै किन्छ, कसैलाई बाँकी राख्दैन, प्रहरी प्रशासन सबै त्यसैका हुन्छन् ।’ 

    भुसालले यस्तो प्रवृत्तिसँग लड्ने पार्टीभित्र र बौद्धिक क्षेत्रले मात्रै सम्भव हुने बताउनुभयो । उहाँले नेपालको विकास नहुनुको पछाडि बौद्धि क्षेत्रको भूमिका पनि कारक रहेको बताउनुभयो । उहाँले बौद्धिक क्षेत्रले मात्रै आलोचनात्मक हिसाबले दल र नेताहरुलाई सुधार गर्न सक्ने बताउनुभयो ।

    भुसालले बुटवललाई कर्मथलो बनाएका मनिकर कार्कीले अर्थदृष्टि पुस्तकबाट नेपालको अल्पविकासको ऐठनलाई प्रस्तुत गरेको बताउनुभउो । उहाँले नेपाल पृथ्वीनारायण शाहको पालाको करिब १ सय वर्ष एकीकरण र युद्ध, राणकालको सय वर्ष बढी राणाहरुको मोजमस्तीमा राज्यश्रोत खर्च हुँदा पनि विकास हुन नसकेको बताउनुभयो । उहाँले बुटवललाई फेरी बौद्धिक व्यक्तिहरुको थलोका रुपमा अर्थदृष्टि पुस्तकको विमर्शले उठाउने विश्वास समेत व्यक्त गर्नुभयो ।

    ghanashyam.JPG

    उहाँले विकासको मोडेल, इतिहासको चरणदेखि नेपाल अल्पविकासमा हुनुको ऐठनलाई पाठकहरुलाई सँगसँगै डोर्‍याउने काम पुस्तकले गरेको बताउनुभयो ।