
आइतवार , जेठ २६, २०८२
तिलोत्तमा, २५ जेठ । रुपन्देहीमा विद्यार्थीका लागि नवप्रवर्तन तथा उद्यमशिलता कार्यक्रम सम्पन्न भएको छ । शनिबार तिलोत्तमा नगरपालिकामा आयोजित शिक्षा क्षेत्रमा नवप्रवर्तन तथा उधमशिलता कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीले बनाएका नवप्रवर्तनका सामग्री प्रस्तुतिकरण गरेका थिए ।
उक्त प्रस्तुतिकरणको आधारमा कार्यक्रममा सहभागी भएका पालिकाभित्रका २१ वटा विद्यालयमध्ये आधारभूत तहतर्फ विश्व शान्ति आधारभुत विद्यालयले प्रथम स्थान हासिल गर्दै १० हजार रुपैयाँ प्राप्त गर्यो । त्यस्तै द्वितीय बन्दै उमा आधारभूत विद्यालयले ८ हजार प्राप्त गर्यो भने पशुपति माध्यमिक विद्यालयले ६ हजार प्राप्त गर्यो ।
माध्यमिक तह अन्तर्गत शान्ति नमूना माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गर्दै १० हजार प्राप्त गर्यो । शंकरनगर दुर्गा दत्त माविले दोस्रो स्थान प्राप्त गर्दै ८ हजार पायो भने जनता माध्यमिक विद्यालयले तृतीय स्थान हासिल गर्दै ६ हजार प्राप्त गरेको थियो ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले शिक्षा क्षेत्रमा पालिकाले भरपुर लगानी गरिरहेकाले सोहीअनुसारको प्रतिफलका लागि शिक्षक, विद्यार्थी र अभिभावकले पनि सहयोग गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै नगर उपप्रमुख जगेश्वर देवी चौधरीले विद्याथी लाई उधमशिलतामा जोडनु भनेको उनीहरुलाई पढ्दै कमाउँदै गर्न सक्ने वातावरण बनाउनु भएको बताउनुभयो । उहाँले विद्यार्थी सृजनशिल हुँदा विद्यालय, समाज र राष्ट्रलाई नै फाइदा पुग्ने बताउनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले शिक्षामा विद्यार्थीको लगाव बढाउन यस्ता क्रियाकलापले सघाउने बताउनुभयो । उहाँले विद्यार्थीको भविष्य निर्माणका लागि सबैको मिहिनेत र सहयोग अपरिहार्य हुने भन्दै स्थानीय सरकारले विद्यार्थी र विद्यालयका लागि लगानीका धेरै क्षेत्र निर्धारण गर्दै अघि बढेको बताउनुभयो ।कार्यक्रममा प्राध्यापक डा. विधानाथ कोइरालाले विद्यार्थीलाई एआई प्रविधिसँग जोड्दै अघि बढाउनुको विकल्प नभएको बताउनुभयो । उहाँले नेपाली भाषी विद्यार्थीले उसको भाषालाई प्रष्ट बोल्न र लेख्न जान्नैपर्ने बताउनुभयो ।
उप–प्राध्यापक डा. नारायण प्रसाद गौतमले शिक्षाको विकासका लागि अहिलेका विद्यार्थीलाई उनीहरुको चाहनाअनुसारको सृजनशिलतामा जोडी अघि बढाउनुपर्ने बताउनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij