
बुधवार , जेठ २९, २०८२
भैरहवा, २८ जेठ । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ७ टिकरस्थित श्री सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोला (स्कूल ब्याग) वितरण गरिएको छ । बुधबार रोहिणी गाउँपालिकाले एक कार्यक्रमकाबीच विद्यार्थीहरुलाई झोला वितरण गरेको हो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले रोहिणीका विभिन्न सामूदायिक विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरिएको बताउनुभयो । उहाँले श्री सरस्वती आधारभूत विद्यालयको भवन निर्माणमा पनि गाउँपालिकाले लगानी गरेको बताउनुभयो । शिक्षा क्षेत्रमा गाउँपालिकाले प्राथमिकता दिएको उहाँको भनाइ थियो ।
त्यस्तै गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ती हरिजनले विद्यार्थीहरुलाई झोला वितरण गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले शिक्षा क्षेत्र विकासको महत्वपूर्ण पूर्वाधार भएको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र प्रताप सिंहले यो विद्यालयको विकासमा आगामी दिनमा पनि गाउँपालिकाले ध्यान दिने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक धनेश्वर कँवरले श्री सरस्वती आधारभूत विद्यालयमा ७० प्रतिशत बढी दलित समूदाय र विपन्न परिवारका विद्यार्थी अध्ययनरत रहेको बताउनुभयो । विद्यालयका शिक्षक मनोज कुमार यादवको सञ्चालनमा भएको कार्यक्रममा देवेन्द्र कुमार मिश्रा, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु लगायतको उपस्थिति थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij