२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

अन्तर मन्त्रालय सहजीकरणलाई प्राथमिकतामा दिन अर्थमन्त्री पौडेलको निर्देशन

बुधवार , जेठ २९, २०८२

काठमाडौं, २८ जेठ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तर मन्त्रालय सहजीकरण र समन्वयलाई प्राथमिकता दिन निर्देशन दिनुभएको छ । अर्थ मन्त्रालय, उच्चस्तरीय व्यवस्थापन समूहको बैठकमा अर्थमन्त्री पौडेलले कानूनको सीमाभित्र रहेर अन्तरमन्त्रालयका कार्यहरुलाई प्राथमिकता दिन कर्मचारीहरुलाई निर्देशन दिनुभएको हो ।

उहाँले भन्नुभयो–‘अर्थ मन्त्रालयले रोक्छ भन्ने बाटोबाट नहिडौं । प्रथमिकताका आधारमा सहजीकरण गरेर छिटो कार्य सम्पन्न गर्ने वातावरण तयार पारौं ।’उहाँले परिणाममुखी अभ्यासमा जान जरुरी रहेको उल्लेख गर्दै लक्ष्यहरु पूरा गर्न अतिरिक्त मेहनतका साथ कार्य सम्पादन गर्न निर्देशन दिनुभयो । उहाँले व्यवहारिक पक्षलाई हेरेर परिणामुखी हिसाबले आगामी आर्थिक वर्षको मासिक र वार्षिक लक्ष्यहरु निर्धारण गर्नुपर्नेमा जोड दिनुभयो ।

आगामी बजेट कार्यान्वयनमा जाँदा कानूनहरु संशोधन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले सबैसँगको परामर्शमा संशोधनको गृहकार्य गर्न निर्देशन दिनुभयो । उहाँले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि पूर्व तयारीका काममा लाग्न पनि निर्देशन दिनुभयो । 

बैठकमा अर्थ सचिव घनश्याम उपाध्याय र राजस्व सचिव दिनेश घिमिरेले अतिरिक्त मेहनत लगाएर राजस्व संकलन र पूँजीगत खर्च वृद्धिमा सहजीकरण गर्न महाशाखा प्रमुख तथा विभागीय प्रमुखहरुलाई निर्देशन दिनुभएको थियो ।