२०८३, जेठ ३ गते

May 17 2026 | २०८३, जेठ ३ गते

अमेरिकाबाट नेपालमा धेरै लगानी भित्र्याउँः प्रधानमन्त्रीका आर्थिक सल्लाहकार खतिवडा

बिहिवार , जेठ ३०, २०८२

  • 841
    Shares
  • 841
    Shares
  • काठमाडौं, । प्रधानमन्त्रीका आर्थिक सल्लाहाकार डाक्टर युवराज खतिवडाले अमेरिकासँगको वैदेशिक व्यापार बढाउन युएसको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) नेपालमा थप आकर्षण गर्न जरुरी रहेको बताउनुभएको छ । नेपाल गार्मेन्ट एशोसिएशन, नेपाल–यूएसए चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्री र नेपाल कार्पेट म्यानुफ्याक्चरर्स एण्ड एक्सपोर्टर्स एसोसिएसनद्वारा बुधवार काठमाडौंमा संयुक्त रूपमा आयोजित ‘नेपाल–अमेरिका व्यापारः अवसर र चुनौतीहरू’ विषयक अन्तरक्रियामा पूर्वअर्थमन्त्री समेत रहनुभएका डा. खतिवडाले अमेरिकासँगको व्यापार बढाउन त्यहाँबाट नेपालमा हुनसक्ने लगानी धेरैभन्दा धेरै भित्र्याउनुपर्ने बताउनुभएको हो ।

    उहाँकाअनुसार अमेरिकी प्रत्यक्ष वैदेशिक लगानीलाई जोड दिदाँ यो लगानीले हाम्रा उत्पादनहरूको मूल्य श्रृंखलालाई बलियो बनाउँछ । जसले निर्यातमा नयाँ उचाई दिन्छ । साथै लगानीसँगै आधुनिक प्रविधि पनि आउँछ, जसले हाम्रा उत्पादनहरूलाई विश्व बजारमा थप प्रतिस्पर्धी बनाउन सघाउ पुग्छ ।

    खतिवडाले नेपालले अमेरिकासँग द्विपक्षीय लगानी सम्झौता गरेर व्यापार सम्बन्ध अघि बढाउनसके त्यसबाट नेपालले धेरै लाभ लिनसक्ने बताउनु भयो । भविष्यमा लगानी बढ्दै जाँदा कर सम्झौता (डिटिए) को आवश्यकता पर्दा पनि नेपालले त्यसलाई समेत अघि बढाउन सक्नुपर्ने उहाँको भनाई छ ।

    खतिवडाले भन्नुभयो–‘युएससँगको ट्रेड प्रोमोशन गर्ने र ट्रेड मार्केट खोज्ने हो भने युएसको एफडिआइ प्रोमोट गर्नैपर्छ । एफडिआइ प्रोमोट गर्दा भ्यालु चेन्जको इफेक्टबाट निर्यात बढ्ने भो । एफडिआइसँगै टेक्नोलोजि समेत आउने भो । ट्रेड कम्पिटिनेश पनि हाम्रो बढ्ने भो । युएससँग बाइल्याक्टल इन्भेष्टमेन्ट (बिआइटि) मा हामी गयौं भने त्यो ट्रेड रिलेशनबाट पाउने एडभान्टेज हामी लिनसक्छौं । त्यो भोली लगानी बढाउँदै जाँदा डिटिए गर्नुपर्छ भने पनि त्यो पनि हामी अघि बढाउन सक्नुपर्छ ।’

    नेपालले आफ्नो द्विपक्षीय व्यापार सम्बन्ध गैर–पारस्परिक हुनुपर्ने तर्क गर्दै उहाँले नेपालले अल्पविकसित देशबाट विकासशील देशमा उन्नति गर्न लागेकाले अमेरिका र अन्य ठूला व्यापारिक साझेदारहरुलाई नेपालको अवस्था र नेपालबाट निर्यात हुने वस्तुहरूको लागि अनुकुल व्यवहारको आवश्यकताबारे विश्वस्त पार्नुपर्ने खतिवडाले बताउनु भयो । खतिवडाकाअनुसार अमेरिकासहित विश्वका विभिन्न मुलुकमा व्यापार गर्न मुलुकलाई एफएटिएफले कालोसूचिमा राखेकाले चुनौति थपेको छ । एफएटीएफले दिएका सुझावहरुलाई प्रभावकारी रुपमा लागू गरेर मुलुकलाई छिटो भन्दा छिटो ग्रे लिस्टबाट बाहिर निकाल्नुपर्ने खतिवडाको भनाई छ ।