२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

सिद्धार्थनगर सहकारी सञ्जालको अध्यक्षमा श्रेष्ठ

शनिवार , जेठ ३२, २०८२

भैरहवा, ३१ जेठ । सिद्धार्थनगर सहकारी सञ्जाल सिद्धार्थनगर, रुपन्देहीको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार भैरहवामा सम्पन्न साधारण सभा तथा अधिवेशनले राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । श्रेष्ठ अंकुर बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष हुनुहुन्छ ।

त्यस्तै सञ्जालको उपाध्यक्षमा लक्ष्मी प्रसाद अधिकारी, सचिवमा टीकाराम भट्टराई र कोषाध्यक्षमा कविराम भट्टराई रहनुभएको छ । त्यसै गरी सदस्यमा मधुसुदन आचार्य, शालिकराम पाण्डे र इन्द्र बहादुर थापा रहनुभएको छ । त्यस्तै लेखा तथा अनुशासन समितिको संयोजकमा थानेश्वर पौडेल, सदस्यमा नारायण बहादुर कार्की र घनश्याम बेल्बासे रहनुभएको निर्वाचन समिति संयोजक डण्डपानी भट्टराईले जानकारी दिनुभयो।

साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाको आर्थिक समिति संयोजक तथा वडा नम्बर ६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवले सिद्धार्थनगर सहकारी सञ्जालले इतिहास बनाएको बताउनुभयो । उहाँले सञ्जालले नकारात्मक कुराहरुलाई चिर्दै सहकारीका समस्या समाधानमा पहल गर्दै आएको बताउनुभयो ।

त्यस्तै विशिष्ट अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) सञ्चालक समिति सदस्य ज्ञानु पौड्यालले सिद्धार्थनगर सहकारी सञ्जालले गरेको काम उत्कृष्ट रहेको बताउनुभयो । उहाँले सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । ‘तीनखम्बे अर्थतन्त्र अन्तर्गत सहकारीलाई महत्वपूर्ण अंगको रुपमा लिनुपर्छ, सहकारीलाई कसरी बचाउने र कसरी दिगो बनाउने चुनौती छ, ’उहाँले भन्नुभयो ।

सिद्धार्थनगर सहकारी सञ्जाल सिद्धार्थनगरका अध्यक्ष कुल प्रसाद न्यौपानेले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै सञ्जालले सहकारी र स्थानीय तहबीच पुलको काम गरेको बताउनुभयो । उहाँले सिद्धार्थनगर सहकारी सञ्जाललाई अझै व्यवस्थित र चुस्त बनाइ सहकारी संस्थाहरुको अपनत्व हुन सक्ने गर्विलो संस्थाको रुपमा स्थापित गराउने भावी योजना रहेको बताउनुभयो ।

सिद्धार्थनगर नगरपालिकाको सहकारी शाखा प्रमुख कमलकान्त खनालले सञ्जालमार्फत सहकारीहरु संगठित भएको बताउनुभयो । उहाँले सहकारीमा देखिएका चुनौती सामना गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।

सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले केही सहकारीले गलत गरे सबै सहकारीलाई गलत भन्न नमिल्ने बताउनुभयो ।

टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष डी.बी. थापाले सहकारीमा आउने समस्या मिलेर निराकरण गर्ने सोचका साथ सञ्जाल गठन गरिएको बताउनुभयो ।

मयुर बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष तथा सिद्धार्थनगर-३ का पूर्व वडाअध्यक्ष थानेश्वर पौडेलले सहकारीलाई अझ व्यवस्थित र मर्यादित बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । 

IMG_7334.JPG

सिद्धार्थनगर सहकारी सञ्जालका उपाध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको स्वागत तथा सचिव खिम बहादुर खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाको आर्थिक प्रतिवेदन खिम बहादुर खत्रीले प्रस्तुत गर्नुभएको थियो ।

सिद्धार्थनगर सहकारी सञ्जालमा हाल ३५ वटा सहकारी संस्थाहरु आबद्ध छन् ।