२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बालक एरिक र इभानको उपचारमा आर्थिक सहयोग गर्न परिवारको अपील

बुधवार , आषाढ ४, २०८२

भैरहवा, ४ असार । सुन्न र बोल्न नसक्ने आफ्ना सन्तानको उपचारमा आर्थिक सहयोग गर्न यहाँको एक परिवारले सबैमा आह्वान गरेका छन् । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ३ मा स्थायी घर भइ हाल रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ मा बस्दै आएका सन्तराम थारु तथा सुनिता कार्कीका ४ वर्षिय जुम्ल्याहा छोराहरू एरिक थारु र इभान थारु दुवै भाइले कानले सुन्न र बोल्न सक्दैनन् ।

एरिक र इभानका बुवाआमा सन्तराम र सुनिताले भैरहवामा पत्रकार सम्मेलन गरी आफ्ना छोराहरुको उपचारमा आर्थिक सहयोग गर्न सबैमा आग्रह गरेका छन् । जन्मजातै सुन्न नसक्ने एरिक र इभान अहिले पाँच वर्ष पुग्दैछन् । काठमाडौंस्थित टिचिङ अस्पतालमा चेकजाँच गराउँदा शल्यक्रियामार्फत ‘कक्लियर इम्प्लान्ट’ राखे उनीहरुले सुन्न सक्ने चिकित्सकहरुले बताएको सुनिताले बताइन् ।

‘कक्लियर इम्प्लान्ट’ एक इलेक्ट्रोनिक मेडिकल उपकरण हो । जसले मध्यमदेखि गहिरो सेन्सोरिनल श्रवणशक्ति हानी भएका व्यक्तिहरूलाई ध्वनि बुझ्न मद्दत गर्छ । यो शल्यक्रियाद्वारा प्रत्यारोपित गरिन्छ र भित्री कानको क्षतिग्रस्त भागहरूलाई बाइपास गरेर श्रवण तन्त्रिकालाई प्रत्यक्ष रुपमा सक्रिय बनाउँछ । यसले गर्दा मस्तिष्कले यसका संकेतहरुलाई ध्वनिको रुपमा सुन्न सक्ने क्षमता विकास गर्छ ।

दुई छोराको कानमा ‘कक्लियर इम्प्लान्ट’ राख्न ४० लाख रुपैयाँ हाराहारी खर्च लाग्ने चिकित्सकले बताएका छन् । ‘हामीसँग त्यति ठूलो रकम छैन’, सुनिताले भनिन्, ‘सहयोगी मनहरुले आर्थिक सहायता दिए मात्रै हामीले बाबुहरुको उपचार गर्न सक्छौं । होइन् भने उनीहरु कान नसुन्ने हुने भए ।’ चिकित्सकहरुले कान सुन्ने भएमा बालकहरुलाई तीन महिना स्पिच थेरापी गराएरमा बोल्न सक्ने हुने बताएको सुनिताको भनाइ छ ।

‘कक्लियर इम्प्लान्ट’ विधि नेपालमा सफल मानिन्छ । यो विधि भैरहवामा मात्रै ४ जना बालकहरुले शल्यक्रियामार्फत् प्रयोग गरी अहिले बोल्न र सुन्न सक्ने भएका छन् । ‘कक्लियर इम्प्लान्ट’लाई मात्रै करिब १५ लाख पर्ने सुनिताले जनाइन् । दुवैजनाको कानमा राख्दा ३० लाख यसैको मात्र पर्ने र शल्यक्रियासहित उपचार गर्दा ४० लाख लाग्ने थारु परिवारको भनाइ छ । भदौभित्र शल्यक्रिया गरी दुबैजनाको कानमा ‘कक्लियर इम्प्लान्ट’ राख्न चिकित्सकले सुझाव दिएकाले आफूहरुले आर्थिक सहायताका लागि सबैमा आग्रह गरेको उनको भनाइ छ । ‘हाम्रो घरको आर्थिक अवस्था उक्त उपचार खर्च धान्न सक्ने अवस्थामा छैन । सबै संस्था तथा व्यक्तिगत तर्फबाट सहयोग भएमा अवोध बच्चाहरूको सुन्नसक्ने र बोल्न सक्नेगरी उपचार गर्न सम्भव थियो’, सुनिताले भनिन् । 

बोल्न र सुन्न नसक्ने यी बालकहरू पनि यही संसारका अमूल्य हिस्सा भएकाले जतिसक्दो सहयोग गर्न थारु परिवारको आग्रह छ । ‘उपचारको अभावमा बाबुहरु मौन पीडामा बाँचेका छन् । तपाईंरुको सानो सहयोगले उनीहरूको जीवनमा आशाको उज्यालो फैलिन सक्छ’, उनले भनिन् ।

भैरहवाका स्थानीय सागर पोखरेलले आफ्नो छोरामा पनि यही समस्या देखिएको र तीन वर्षअघि शल्यक्रियामार्फत् ‘कक्लियर इम्प्लान्ट’ राखेपछि कान सुन्न सक्ने भएको जनाए । अहिले स्पिच थेरापीपछि आफ्नो छोरा बोल्न सक्ने पनि भएको उनले बताए । उपचार महंगो भएकाले सबैलाई सहयोग गर्न उनको आग्रह छ । 

लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझीले मानवीय सेवामा लागेका सबै संघसंस्था, व्यक्ति तथा निजी क्षेत्रलाई बालकहरुको उपचारमा सहयोग गर्न आग्रह गर्नुभयो । थारु परिवारले मुक्तिनाम विकास बैंकमा एरिक र इभानको नाममा खाता खोलेर सहयोगका लागि आह्वान गरेका छन् ।

सहयोगका लागि

ई -सेवा : ९८४७०५५५१५

बैंक : मुक्तिनाथ विकास बैंक
खातावालाको नाम : Arik tharu/Evan tharu
खाता नम्बर : ०१९२२३०१२०६९२१०००००१