
बिहिवार , आषाढ ५, २०८२
भैरहवा, ५ असार । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को कार्यालयले वृद्धाश्रममा खाद्यान्न सामग्री वितरण गरेको छ । वडा कार्यालयले बिहीबार एक कार्यक्रमकाबीच ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्य साई वृद्ध सेवा आश्रममा सामग्री वितरण गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समाजसेवी नारायण प्रसाद अग्रवालले मानव सेवा नै धर्म भएको बताउनुभयो । उहाँले वडा नम्बर ५ को कार्यालयले पुनित कार्य गरेको बताउनुभयो ।
सिद्धार्थनगर–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले गत वर्ष सिद्धार्थ बाल गृहमा र यस वर्ष वृद्धाश्रममा खाद्यान्न वितरण गरिएको जानकारी दिनुभयो । उहाँले आफ्नो आमाबुवाको सेवा गर्नु छोराछोरीको दायित्व भएको बताउनुभयो । वडाअध्यक्ष श्रेष्ठले वडा कार्यालयले ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगता भएका व्यक्तिहरुका लागि प्रत्येक वर्ष धार्मिक यात्रा, पोषण सामग्री वितरण र स्वास्थ्य चेकजाँच कार्यक्रम गर्दै आएको बताउनुभयो ।
श्री सत्य साई वृद्ध सेवा आश्रमका अध्यक्ष माया खरेलले आगामी दिनमा पनि वृद्धाश्रमले सहयोगको अपेक्षा राखेको बताउनुभयो । उद्योगी तथा समाजसेवी ऋषिकेश अग्रवालले वडा कार्यालयले गरेको कार्यक्रम सराहनीय रहेको भन्दै सेवाको भावनाको साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता, वडा सदस्य सरस्वती श्रेष्ठको स्वागत तथा वडा सदस्य विनित बेरिवालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij