
शुक्रवार , आषाढ ६, २०८२
काठमाडौं, ६ असार । नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले राजनीतिक दल र कार्यकर्तालाई पोस्ने गरी जथाभाबी बजेट विनियोजन भएको टिप्पणी गर्नुभएको छ ।
शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सबै मन्त्रालयहरूको बजेट विनियोजनको प्रकृति र अवस्थालाई हेर्दा आवधिक योजना र संवैधानिक व्यवस्थाहरूलाई आधार नबनाइएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले सरकारले राष्ट्रिय आवश्यकता अनुरूप निर्माणाधीन आयोजनाहरूलाई सम्पन्न गर्ने कुनै जिम्मेवारीवोध नगरी बजेट ल्याएको बताउनु भयो ।
उहाँले सबै दृष्टिकोणले बजेट विनियोजन र आ–आफ्ना निर्वाचन क्षेत्रहरूलाई सुरक्षित गर्ने यो उद्देश्यद्वारा प्रेरित भएको आरोप लगाउनु भयो । सांसद बस्नेतले वैकल्पिक सहायक राजमार्गदेखि कोरिडोरको विषयहरूमा समेत बजेटको जथाभाबी विनियोजन भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, “सबै मन्त्रालयहरूको विनियोजनको यो प्रकृति र अवस्थालाई हेर्दा खेरी न आवधिक योजनाहरूलाई आधार बनाइएको छ, न संवैधानिक व्यवस्थाहरूलाई आधार बनाइएको छ, न त राष्ट्रिय आवश्यकता अनुरूप निर्माणाधीन आयोजनाहरूलाई सम्पन्न गर्ने कुनै जिम्मेवारीवोध गरिएको छ । यो सबै दृष्टिकोणले हेर्दा खेरी दललाई पोस्ने, कार्यकर्तालाई पोस्ने र आ–आफ्ना निर्वाचन क्षेत्रहरूलाई सुरक्षित गर्ने यो उद्देश्यद्वारा प्रेरित छ । वैकल्पिक सहायक राजमार्गको कुरा होस्, चाहे कोरिडोरको विषयमा, यी कुराहरूमा बजेटको जुन जथाभाबी विनियोजन भएको छ ।”
उहाँले बजेटको जथाभावी विनियोजन र सरकारको स्वेच्छाचारी व्यवहारको कारण विरोधस्वरुप विरोधको प्रश्ताव दर्ता गरेको समेत बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij