
शनिवार , आषाढ ७, २०८२
भैरहवा, ७ असार । सीमा क्षेत्रमा हुने तस्करीका कारण किराना र मदिरा व्यवसाय समस्यामा परेको भैरहवामा आयोजित एक कार्यक्रमका सहभागीहरुले गुनासो गरेका छन् । सिद्धार्थ संजाल, रुपन्देहीले किराना तथा प्लाष्टिक संघ रुपन्देही र मदिरा व्यवसायी संघ भैरहवासँग शुक्रवार भैरहवामा आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले खुल्ला सीमाका कारण सीमा क्षेत्रबाट हुने चोरी तस्करीका कारण व्यवसाय जोखिममा परेको गुनासो गरेका हुन ।
कार्यक्रममा मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष बाबुराम पाण्डेयले खुल्ला सिमाना र घरेलु मदिराका कारण व्यवसाय धरासायी बन्दै गएको बताउनुभयो । घरेलु मदिराका कारण व्यवसाय मात्र नभएर सरकारको राजस्व समेत प्रभावित भएको उहाँको भनाइ थियो ।
खुल्ला सिमानाका कारण पहिलो नेपालबाट भारत मदिरा विक्री हुने गरेकोमा अहिले भारतबाट भन्सार छली नेपाली बजारमा भारतीय मदिरा अवैध रुपमा आयात हुँदा व्यवसायीहरु समस्यामा पर्ने गरेको उहाँले बताउनुभयो । घरेलु मदिरा र भारतीय मदिराका कारण सरकारले ठुलो राजस्व गुमाउनुपरेको पाण्डेयले बताउनुभयो । उहाँले सुरक्षा निकाय, आन्तरिक राजस्व, भन्सार कार्यालय जस्ता सरकारी निकायले अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै किराना तथा प्लाष्टिक संघ, रुपन्देहीका कार्यबाहक अध्यक्ष कपिल देव काप्लेले तस्करीका समानहरु खरिद विक्री हुँदा व्यवसायीहरुलाई समस्या भएको गुनासो गर्नुभयो । उहाँले चिनी सस्तो पाईन्छ भन्ने मानसिकतामा नेपालीहरु भारतीय बजारसम्म पुग्ने तर अन्य समानहरुमा ठगिने गरेको बताउनुभयो । भारतीय बजारबाट नेपालीहरुले चिनीसँगै दाल गेडागुडीहरु पनि लिएर आउने गरेकोमा चिनीबाहेक अन्य सामानहरु नेपालमै सस्तो हुने उहाँले बताउनुभयो ।
सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले छलफलबाट उठेका समस्या र समाधानका विषयहरुलाई लिएर सम्बन्धित कार्यालयको ध्यानाकर्षण गराउने बताउनुभयो ।
कार्यक्रम संयोजक तथा सञ्जालका उपाध्यक्ष डा. शान्त कुमार शर्माको संयोजकत्व तथा संजालका महासचिव मधु प्रसाद पन्थीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहभागीहरुले खुल्ला सिमा र चोरी तस्करीका कारण व्यवसायीहरुले भोग्नुपरेका समस्याहरुका बारेमा भनाइ राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij