
बुधवार , श्रावण २८, २०७७
तिलोत्तमा, २८ साउन ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका ३९ घर परिवारले लामो प्रतीक्षापछि लालपुर्जा पाएका छन् । नापी भए पनि कित्ताकाट नभएका कारण जग्गाधनी पुर्जा पाउन नसकेका तिलोत्तमा–१७ ठठरिहवा टोलका उनीहरूले बुधबार जग्गाधनी पुर्जा पाएका हुन् ।
तिलोत्तमा नगरपालिका वडा नम्बर १५ र १७ मा ०२५ सालमा नापी भएको थियो । त्यति बेला कित्ताकाट नभएकै कारण उनीहरूले जग्गाधनी पुर्जा पाउन सकेका थिएनन् । नगरपालिकाको पहलमा पुर्जा पाएपछि उनीहरू खुशी देखिएका छन् । नगरले जिल्ला मालपोत र नापी कार्यालयसँग समन्वय गरी ‘गाउँब्लक’ छुट्टिएका वडाका जनप्रतिनिधि र स्थानीयकै रोहबरमा कित्ताकाट गरी गाउँब्लकका जग्गाधनीलाई पुर्जा वितरण गरेको हो ।
यस अघि नापजाँचका क्रममा एउटै कित्तामा सिंगो गाउँ परेपछि कार्यालयले त्यस्तो जग्गालाई ‘गाउँब्लक’ नामकरण गरेर उपभोग गर्न दिएको थियो । अहिले त्यही ब्लकबाट कित्ताकाट गरी उपभोगकै आधारमा क्षेत्रफल छुट्याएर पुर्जा उपलब्ध गराइएको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए । उनले जग्गा रजिष्ट्रेशनको अधिकार स्थानीय तहमा आइसकेकाले तिलोत्तमा नगरपालिकाले यसका लागि आवश्यक तयारी अघि बढाएको बताए ।
यसअघि वडा नम्बर १५ को सखुवानी र १७ को बरौलिया टोलका बासिन्दालाई लालपुर्जा प्रदान गरिएको थियो । जग्गाधनी प्रमाणपुर्जा बुझ्दै वडा नम्बर १७ का ज्येष्ठ नागरिक अयोध्या चमारले जग्गा उपभोग गरेको झण्डै ५० वर्षपछि पुर्जा पाएको बताए । नापी कार्यालय भैरहवाका प्रमुख अजित कुंवरले नगरपालिकासंगको समन्वयमा लामो प्रयासपछि पुर्जा वितरण गर्न पाउँदा खुशी लागेको बताए ।
कार्यक्रममा नगरपालिकाकी उपप्रमुख जागेश्वरदेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्मा, वडा नम्बर १७ का वडा अध्यक्ष दान बहादुर चौधरी लगायतले पुर्जा वितरण गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij