२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

१५ महिनादेखि बेपत्ता मालती कोइरी, परिवारले नै हत्या गरी बेपत्ता बनाएको माइती पक्षको आरोप

मंगलवार , चैत्र १७, २०७७

नवलपरासी, १७ चैत ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ६ गुठी परसौनी घर भएका किशुन कोइरीले ७५ साल वैशाखमा सोही गाउँपालिका वडा नम्बर ७ गूठी सुर्यपुरा घर भएका ३० वर्षिय दिपेन्द्र वर्मासंंग आफ्नी छोरी मालती कोइरीबीच सामाजिक मुल्य मान्यता अनुसार नै विवाह गरिदिए । 

विवाह भएको ६ महिना नबित्दै मालती कोइरी र उनका श्रीमान् दिपेन्द्र वर्माबीच खटपट सुरु भयो । मालतीले आफ्ना श्रीमानको व्यवहार ठीक नभएको र उनको आफ्नै भाउजु मीरादेवी वर्मासंग अनैतिक सम्बन्ध रहेकोले आफुलाई पटकपटक दुव्र्यवहार गर्ने गरेको पीडा माइतीमा आउँदा आफूलाई सुनाउने गरेको उनका बाबु किशुन कोइरीको भनाइ छ । मालतीका श्रीमान् सो समयमा प्रतापपुर गाउँपालिका–८ स्थित डम्बर आधारभूत विद्यालयमा राहत कोटामा शिक्षण पेशामा आबद्ध थिए भने पछि पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका अन्तर्गत एक सरकारी विद्यालयमा स्थायी शिक्षकको रुपमा कार्यरत थिए । सोही विद्यालयमा हाजिर भइ स्थायी सेवा आरम्भ गरेको लगत्तै यो घटना भएको थियो । विद्यालयबाट विदामा घर आएकै दिन ७६ साल पुस १८ गते शुक्रवारबाट मालती बेपत्ता भैइन ।

बेपत्ता भए लगत्तै नजिकै रहेको गण्डक नहरमा 
हाम फालेर आत्महत्या गरेको आशंकाका प्रहरी र मालतीका आफन्तजनले गोताखोरको सहयोगमा गण्डक नहर क्षेत्रमा खोजी कार्य गरे पनि उनी कतै फेला परिनन ।

पुनः पुस २७ मा नेपाली सेनाको टोलीले गण्डक नहर क्षेत्र वरिपरी मालतीको खोजी कार्य गर्यो तर सेनाको टोलीले पनि मालतीलाई कतै फेला पार्न सकेन । मालती बेपत्ता भए लगत्तै उनका श्रीमान दिपेन्द्र, उनका दाजु अमरेन्द्र वर्मा र भाउजु मिरादेवी वर्मा मालतीको खोजी कार्यमा सहयोग नगरी उल्टै फरार भएको मालतीका माइती पक्षको आरोप छ । उनीहरु घटना लगत्तै फरार हुनु र मालतीले आफ्नो बुवासंग श्रीमान्को व्यवहार ठीक नभएको भन्ने गुनासोको आधारमा मालतीका बुवा किशुन कोइरीको मनमा पनि ज्वाई र ज्वाईंका दाई भाउजु मिलेर छोरीको हत्या गरी शवलाई बेपत्ता बनाइएको भन्ने आशंका उब्जिदै गयो ।

सोही आशंकाकै आधारमा उनीहरु तीनै जनाविरुद्ध छोरीको हत्या गरी शवलाई बेपत्ता बनाइएको भन्दै छोरीको खोजतलास गरी दोषीलाई कारवाहीको माग राखी २०७६ पुष २३ गते इलाका प्रहरी कार्यालय बेलाटारीमा मालतीका बुवा किशुन कोइरीले उजुरी दिए । उजुरी पश्चात् प्रहरीले शंकाष्पद व्यक्तिहरुलाई पक्राउ गर्यो । जिल्ला अदालतमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धानलाई अघि बढाएको भए तापनि अहिलेसम्म पनि मालतीको अवस्था भने अज्ञात नै रहेको छ ।

मालतीका बुवा किशुनले भने छोरीको बिहे भएको डेढ वर्ष बितिसक्दा पनि उनका श्रीमानले विवाह दर्ता गर्न आनाकानी गर्नु र छोरीलाई पटकपटक दुव्र्यवहार गर्ने कारणले पनि उनका श्रीमान् दिपेन्द्रले आफु विद्यालयबाट बिदामा घर आउने दिन नै हत्या गरी परिवारको सहयोगमा शवलाई बेपत्ता बनाएको आरोप लगाउँदै आएका छन् ।

मालतीले नहरमा हाम फालेको भन्दै छोरीको घरबाट पठाइएको पहिलो खबरले नै आफु सशंकित भएको र छोरीको खोजी कार्यमा परिवारले सहयोग नगरेको उनको आरोप छ । यता मालतीका श्रीमान् दिपेन्द्रका परिवारले भने मालतीले गण्डक नहरमा नै हाम फालेर आत्महत्या गरेको दावी गर्दै आएका छन् भने आफुहरुलाई मालतीका माइतीको तर्फबाट लगाइएको आरोपहरु सबै झुटा रहेको अनुसन्धानकै क्रममा प्रहरीसमक्ष बयान दिइरहेका छन् ।

यता जिल्ला प्रहरी कार्यालय नवलपरासीले पनि मालती बेपत्ता भएपछि खोजी कार्यदेखि माइती पक्षले लगाएको हत्यापछिको बेपत्ता पारिएको आरोपमाथि अनुसन्धान जारी रहेको बताएको छ ।

नेपाल प्रहरीले सो घटनालाई वैज्ञानिक परीक्षण (पोलिग्राफी टेष्ट) देखि अन्य प्रहरीले गर्नुपर्ने सबै विधिहरु पुरा गर्दै गम्भिर अनुसन्धान गरिरहेको र ती परीक्षणबाट अहिलेसम्म हत्या नै गरेको भन्ने कुनै प्रमाण पुष्टि भइनसकेको बताए । अझै पनि नवलपरासी प्रहरीले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायब उपरीक्षक राजु लामाकाे भनाइ छ ।