२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

व्यवसायीको सटर बन्द गराएर आर्थिक समृद्धि हुन सक्दैनः सांसद कार्की

सोमवार , आषाढ ९, २०८२

काठमाडौं, ९ असार । नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनचाँदी व्यवसायीहरुको संरक्षण गर्न नसके आर्थिक समृद्धि हुन नसक्ने बताउनुभएको छ ।

सोमवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सुनचाँदी व्यवसायीलाई संरक्षण र संवद्र्धन गर्नुपर्ने बताउँदै सुनचाँदी व्यवसाय संस्कृति, पर्यटनसँग सम्बन्धित रहेको बताउनु भयो । सुनचाँदी व्यवसायीहरुले राखेका जायज मागहरु पूरा गर्नुपर्ने बताउनु भयो । सुनचाँदी व्यवसायीहरुका जायज मागलाई यसै आर्थिक वर्षमै पूरा गर्ने किसिमको तयारी गरेर अघि बढ्न जरुरी रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, कहीँ न कहीँ हामीले विश्वासको आधार जनतालाई दिएनौँ भने भोलि जनता निराशातिर जान सक्छन् । सुनचाँदी व्यवसायीलाई हामीले संरक्षण पनि गर्नुपर्छ । संवद्र्धन पनि गर्नुपर्छ । सुनचाँदी व्यवसायीहरुको हाम्रो संस्कृति, पर्यटन, धेरै महत्वपूर्ण सम्बन्ध छ । कर नै चाहिँदैन भनेर एकछिन खुशी मानेर राष्ट्र समृद्धिको दिशातर्फ अघि बढ्न सक्दैन । राष्ट्रलाई कर पनि चाहिन्छ । तर कर लगाउनेको पनि एउटा सीमा हुन्छ । सुन चाँदी व्यवसायीहरुले जुन माग राख्नुभएको छ, मैले बुझेअनुसार सबैको एउटै किसिमको राय बुझेको छ ।

विनियोजन विधेयकमा संसदमा छलफल भइरहेको छ । उहाँहरुको जायज मागलाई हामीले यसै आर्थिक वर्षमै पूरा गर्ने किसिमको तयारी गरेर अघि बढ्नुपर्छ । चोरी, फटाईं छ भने अनुगमन गरौँ, सुन चाँदी व्यवसायीको संरक्षण गरेनौँ भने व्यवसायको संरक्षण गर्ने र आर्थिक समृद्धि हुँदैन । सबैको सटर बन्द गराएर मुलुकको आर्थिक समृद्धि हुन्छ ? सटर धेरै भन्दा धेरै खुल्नुपर्छ । त्यो वातावरण हामीले बनाउनुपर्छ । 

सांसद कार्कीले सबैको सटर बन्द गराएर मुलुकको आर्थिक समृद्धि सम्भव नरहेको जिकिर गर्नुभयो । सबै व्यवसायीहरुको सटर खुल्ने वातावरण सरकारले बनाउनुपर्ने बताउनु भयो ।