
सोमवार , आषाढ ९, २०८२
काठमाडौं, ९ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सुनको दरमा रेट बढाएर मुलुक ग्रे लिस्टबाट बाहिर ननिस्कने बताउनुभएको छ ।
अर्थ समितिको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सचिवहरुलेमुलुकलाई गे्र लिस्टबाट बाहिर निकाल्न सुनको दरमा रेट बढाएको बताउनुभएको भन्दै उहाँले झुटो कुरा नगर्न सचेत गराउनु भयो । समितिमा सोमवार आर्थिक विधेयक मार्फत सुन, चाँदी र गरगहनामा लगाइएको करका सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको निवेदन र बैङ्क तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा आन्तरिक छलफल भएको हो । जसबारे बोल्दै उहाँले यो विधेयकले सुन गएर भारतबाट किनेर लेउ र नेपालको व्यवसाय बन्द गर भन्ने किसिमको देखिएको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यो सुन गएर भारतबाट किनेर ल्याउ, नेपालको व्यवसाय बन्द गर भनेर भारतको एम्बेसीबाट काम भएको हो । ग्रे लिस्टबाट हट्न के गर्नुपर्छ भनेर एक पटक गुगल खोज्नुस् त । सम्पती शुद्धिकरण गर्ने हो । करको दायरामा ल्याउने हो । करको दररेट बढाउने हो ? अलरेडी करको दायरामा छ त सुनहरु । १० प्रतिशत छैन । जो दायरामा छैन, त्यसलाई दायरामा ल्याउने हो । ग्रे लिस्टबाट हट्न सम्पती शुद्धिकरण गर्नुपर्छ ।
सुनको दरमा रेट बढाएर ग्रे लिस्टबाट आउट हुन्छ ? यो नभनिदिनुस् । अल्टिमेट कन्जुमरलाई गाह्रो हो । व्यापारीलाई गाह्रो होइन । दररेट बढाउनु भनेको नेपालको सुन व्यवसायीहरु ठप्प होउ, बन्द गर, हामी कमिसन खान्छौँ, पारीका व्यवसायीलाई फाइदा गर्छौं भनेको हो । आज निर्देशन गरेनौँ भने नेपालमा १० लाख परिवारको घर उजाड्छौँ ।’
प्रमुख सचेतक शाहीले यो विधेयकले सुन व्यवसायमा रोजगारी गरिरहेका १० लाख परिवारको घर उजाड्ने जिकिर गर्नुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij