२०८२, आषाढ २५ गते

Jul 09 2025 | २०८२, आषाढ २५ गते

रोहिणीद्वारा ५९ करोड १७ लाखको बजेट सार्वजनिक

बुधवार , आषाढ ११, २०८२

भैरहवा, ११ असार । रुपन्देहीको रोहिणी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि ५९ करोड १७ लाख बराबरको बजेट सार्वजनिक गरेको छ ।

मंगलबार १७ औं गाउँसभामा गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले बजेट प्रस्तुत गर्दै आन्तरिक आय १ करोड ९६ लाख १२ हजार ८ सय ८४ रुपैयाँ, संघीय सरकारबाट ५१ करोड १४ लाख ९३ हजार १ सय १६ रुपैयाँ, प्रदेश सरकारबाट ३ करोड २३ लाख ९४ हजार, बैंक मौज्दात २ करोड ५० लाख, जिल्ला समन्वय समितिबाट ७२ लाख गरी जम्मा ५९ करोड १७ लाख अनुमान गरेको बताउनुभयो । गाउँपालिकाले शिक्षातर्फ ३ करोड, कार्यालय सञ्चालन र प्रशासनिक खर्चको लागि  ९ करोड २५ लाख तथा स्वास्थ्य र कृषितर्फ १५/१५ लाख विनियोजन गरेको छ ।

त्यसै गरी रोहिणी गाउँपालिकाले १७ औ गाउँसभाबाट नीति तथा कार्यक्रम पनि पारित गरेको छ । आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा आपसी संवाद, समन्वय, सहमति र सहकार्यमार्फत शासन सञ्चालन विकास व्यवस्थापन र सेवा प्रवाहमा सुधारको बाटो अवलम्बन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले आर्थिक विकास, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, कृषि, युवा तथा खेलकुद लगायतलाई प्राथमिकता दिदै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । सुरक्षित नागरिक आवास कार्यक्रमलाई आर्थिक वर्षको सुरुबाट नै कार्यान्वयन गर्न पहल गरिने र खर÷फुसको छानामुक्त पालिका घोषणा गरिने नीति लिइएको छ ।  

सीमान्तकृत विपन्न तथा गरीबहरूका लागि आयआर्जनसम्बन्धी सीपमूलक कार्यक्रम गरिने अध्यक्ष यादवले बताउनुभयो । सामाजिक सुरक्षा भत्तालाई अझ सरल र छिटो तरिकाले भुक्तानी गर्ने व्यवस्था मिलाइ विद्युतीय माध्यमबाट सामाजिक सुरक्षा प्रणालीमा सहजीकरण गर्ने कर्मचारीहरूलाई प्रोत्साहन गरिने नीति लिइएको उहाँले बताउनुभयो ।

विकासका पूर्वाधारमा सडक पहिलो शर्त हुनाले गुणस्तरीय सडक निर्माणलाई प्राथमिकता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ  । सडक स्तरोन्नतिसँगै नाली निर्माण गरिने र रोहिणी वडा नम्बर १ र २ जोड्ने रोहिणी नदीमा झोलुङ्गे पुल निर्माण गरिने यादवले उहाँले बताउनुभयो । 

रोहिणी गाउँपालिकाको आधुनिक प्रविधिमैत्री सुविधासम्पन्न प्रशासकीय भवन निर्माण सम्पन्न गरी कार्यान्वयनमा ल्याइने नीति ल्याएको छ । गाउँपालिकाभित्रका ६० वर्षभन्दा माथिका मधुमेह तथा उच्च रक्तचापका बिरामीहरुको लागि निःशुल्क आधारभूत औषधी उपलब्ध गराउने  र ज्येष्ठ नागरिक (८० वर्ष भन्दा माथि) का र क वर्गका अपांगहरूका लागि कार्यतालिका बनाई स्वास्थ्यकर्मीद्वारा घरदैलो स्वास्थ्य जाँच तथा उपचार कार्यक्रम सञ्चालन गरिने यादवले बताउनुभयो । बाल विवाहलाई निरुत्साहित गर्ने उद्देश्यले २० वर्ष पुगिसकेपछि विवाह गर्ने बालिकालाई प्रोत्साहन गर्न १० लाख विनियोजन गरिएको छ ।

रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको अध्यक्षता, वडा नम्बर ६ का वडाअध्यक्ष इन्द्रमान चौधरीको स्वागत तथा वडा सचिव राजकुमार मिश्राको सञ्चालनमा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष शिवकान्ती हरिजन, प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरी, जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी लगायतलाई सम्मान गरिएको थियो।