२०८२, आषाढ २५ गते

Jul 09 2025 | २०८२, आषाढ २५ गते

बुटवल उपमहानगरपालिका : सीप सिकाउँदै, स्वरोजगार बनाउँदै

बुधवार , आषाढ ११, २०८२

रुपन्देही, १० असार । रुपन्देहीको बुटवल उपमहानगरपालिका अन्य क्षेत्रमा जस्तै सीप र रोजगारका क्षेत्रमा उल्लेखनीय काम गरेको छ । पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, पर्यटन र सुशासनका क्षेत्रमा जस्तै सीप र रोजगारका क्षेत्रमा पनि कामलाई प्रभावकारी ढंगले अगाडि बढाएको हो ।

उपमहानगरपालिका अन्तर्गत सञ्चालन भइरहेका सीप विकास र रोजगारमूलक तालिमहरूले स्थानीय युवायुवती, गृहिणी र बेरोजगार व्यक्तिहरूको जीवनशैलीमा उल्लेखनीय परिवर्तन ल्याएको छ । बुटवलले दिएका विभिन्न किसिमका सीपमूलक तालिमले रोजगारीमा जोडिनेदेखि उद्यमशील बन्न प्रेरित गरेको छ ।  

तालिम लिएका युवा स्वरोजगारतर्फ

बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको सीपमूलक तालिमले युवाहरुलाई स्वरोजगारउन्मुख बनाएको छ । उपमहानगरपालिकाले सुरु गरेको सीपमूलक तालिम कार्यक्रम अन्तर्गत पहिलो चरणमा ५ सय बढी युवालाई विभिन्न विषयमा तालिम दिइएको छ । उपमहानगरपालिकाले एयर कण्डिसन (एसी) र फ्रिज मर्मत, प्लम्बिङ, टायल मार्बल लगाउने तालिम समेत दिएको छ । 

त्यसै गरी उपमहानगरपालिकाले युवाहरुलाई बारिष्टा, कम्प्युटर हार्डवयर एण्ड नेटवर्किङ, मोबाईल मर्मतदेखि परम्परागत सीपको प्रवद्र्धनको लागि जुत्ता बनाउने तालिम, सिलाईकटाई तालिम, ब्यूटीसियन तालिम, अडियो–भिडियो, ड्रोन उडाउनेसम्मको तालिम दिइएको उपमहानगरपालिकाका रोजगार अधिकृत अरविन्द पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार सुनचाँदीका गहना बनाउने, बाध्यबाधन तालिम पनि दिइएको छ । बेरोजगारीको समस्या बिकराल बन्दै गएपछि उपमहानगरले स्वरोजगारमूलक तालिममा विशेष जोड दिएको पालिकाले जनाएको छ । 

IMG_6309.JPG

बुटवलमा दक्ष जनशक्तिको अभावमा अन्य जिल्ला तथा छिमेकी मुलुक भारतबाट टायल मार्बल लगाउन आउने क्रम बढेपछि उपमहानगरपालिकाले टायल मार्बल लगाउने तालिम दिएको रोजगार संयोजक पाण्डेले जानकारी दिनुभयो । टायल मार्बल लगाउने तालिम लिएकाहरुले अहिले विभिन्न ठाउँमा काम गरेको उहाँले उल्लेख गर्नुभयो । 

यो तालिम लिएपछि बुटवलको बुद्धनगरमा बस्दै आएका विकास थारुले अहिले सहज रुपमा काम गर्दै आफ्‌नो जीविकोपार्जन गदै आएको बताउनुभयो । उहाँले भन्नुभयो–‘तालिम नलिदासम्म काम दिने मान्छेले अलि विश्वास गर्ने थिएनन् र काम पनि सहज रुपमा पाउने अवस्था थिएन । अहिले सहज रुपमा काम पाइरहेको छु ।’ थारुले दैनिक ७–८ सय रुपैयाँ कमाउने गरेको जानकारी दिनुभयो । हातमा सीप भए जीविकोपार्जनका लागि भौतारिन नपर्ने उहाँको भनाइ छ । उहाँजस्तै तालिम लिएका अधिकांश टायल मार्वल लगाउने काममा व्यस्त रहेका छन् । जसले गर्दा उनीहरु स्वयम स्वरोजगार बनेका छन् भने परिवारमा पनि खुसी प्रदान गरेको छ । 

IMG_6272.JPG

बुटवल उपमहानगरपालिकाले प्रदान गर्ने तालिमहरुमध्ये वारिस्टा तालिममा युवाहरुको आकर्षण बढेको रोजगार संयोजक पाण्डेको भनाइ छ । नगरपालिकाले आर्थिक वर्ष ०८०/०८१ मा ६० जनालाई बारिष्टा तालिम दिएको थियो । 
रुपन्देहीमा सामान्यदेखि पाँच तारेसम्मका होटलहरु खुलिरहेको र खुल्ने क्रम जारी रहेकोले पनि बारिष्टामा युवाहरुको आकर्षण बढेको पाण्डेले उल्लेख गर्नुभयो । ‘बारिष्ठा तालिम लिएकाहरुलाई नेपालमा पनि सहजै रोजगारी पाइने तथा विदेशमा पनि काम गर्न सजिलो हुने भएकाले पनि युवाहरु यसमा केन्द्रित भएका हुन सक्छन्‌’उहाँले भन्नुभयो–‘तालिम लिएकाहरुले सामान्य होटल तथा रेष्टुरेण्टदेखि तारे होटलमा काम गरिरहेका छन् ।’

बारिष्टा तालिम लिएकामध्ये केही व्यक्तिले पाँचतारे होटलमा काम गरिरहनुभएको छ । तालिम लिनुपूर्व तिलोत्तमाको सामान्य रेष्टुरेण्टमा काम गर्दै आउनुभएका बुटवल–४ का सुजन हमालले तालिमपश्चात पाँचतारे होटलमा काम गर्दै आएको बताउनुभयो । हमालले अहिले भैरहवास्थित होटल सिद्धार्थ भिलासामा काम गर्दै आउनुभएको छ । तालिम लिनुअघि रेष्टुरेण्टमा सेफको काम गर्दै आउनुभएका हमालले अहिले सिद्धार्थ भिलासामा सेफको कामसँगै आवश्यक परेका बेला बारिष्टाको काम पनि गर्ने गरेको बताउनुभयो । 

‘मलाई तालिमले ठुलो अवसर प्रदान गरेको छ, सामान्य रेष्टुरेण्टमा काम गर्दै आएका बेला तालिमपश्चात पाँचतारे होटलमा काम गर्ने मौका पाए, जुन मेरा लागि ठुलो अवसर हो, ’उहाँले भन्नुभयो । उहाँले सीप सिकेका व्यक्तिले राम्रो ठाउँमा पनि अवसर पाउने उल्लेख गर्नुभयो । 

बुटवल व्यापारिक नगरी मात्रै नभइ शिक्षा, स्वास्थ्य, प्रविधि, रोजगार, पर्यटकीय क्षेत्रसहित सीप र रोजगारको थलोको रुपमा विकास गर्न थालिएको नगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिनुभयो । उहाँले हामीसँग सीप छ तर, काम छैन भन्ने गुनासोलाई हटाउन चाहेको बताउनुभयो । स्वरोजगार सिर्जना र क्षमता अभिवृद्धिमै उपमहानगरको जोड रहेको उहाँको भनाइछ । 

बुटवललाई आगामी आर्थिक वर्ष २०८२/८३ मा शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिसँगै रोजगारलाई विशेष प्राथमिकता दिएको छ । नगरपालिकाले सार्वजनिक गरेको नीति, कार्यक्रम तथा बजेटमा सीप र रोजगारीलाई प्राथमिकतामा राखेको छ । 

आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै नगर उपप्रमुख सावित्रादेवी अर्यालले कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई सहभागी गराइ पढाइसँगै रोजगार सिर्जना गरौं, युवालाई देशमै बस्ने परिस्थिति निर्माण गरौं भन्ने उद्देश्यका साथ ट्राफिक व्यवस्थापनमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई खटाउने कार्यक्रमलाई प्राथमिकता दिएको बताउनुभयो । उक्त कार्यका लागि ५० लाख रुपैयाँ व्यवस्थापन गरेको उपप्रमुख अर्यालले जानकारी दिनुभयो ।

बुटवलले गृहिणी महिलाहरुलाई रोजगारसँग जोड्ने कार्यक्रमका लागि ३ करोड, उद्यमी महिलाहरुका लागि ७० लाख, दलित समुदायका परम्परागत पेशालाई सीप विकास केन्द्रका रुपमा सञ्चालन गर्न ८५ लाख, बुटवल क्षेत्रको मुख्य सडक र भित्री सडकलाई हरियाली बनाउँदै सौन्दर्यीकरण गर्न ३ करोड रुपैयाँ बजेटको व्यवस्था गरेको जनाएको छ । बुटवलले सीप सिकाउँदै रोजगारीमा जोड्नका लागि उल्लेखनीय रुपमा बजेट विनियोजन गरिएको उपप्रमुख अर्यालले जानकारी दिनुभयो । 

गृहिणी महिलाको जीवनशैलीमा रूपान्तरण
बुटवल उपमहानगरपालिका–६ बाट सुरू गरिएको गृहिणी महिला स्वरोजगार कार्यक्रम अन्तर्गत महिलालाई चुरा बनाउने, गुन्द्रुक प्याकेजिङ, दुना टपरी बनाउने, सिलाईकटाई जस्ता तालिम दिएको छ ।

तालिममा सहभागी गीता अधिकारी भन्नुहुन्छ–‘हामीजस्ता महिलाले अब आयआर्जन गर्न थालेका छौं । यो आत्मनिर्भर हुने पहिलो पाइला हो ।’ सीप सिकेपछि भोकभोकै बस्नुपर्ने अबस्था नआउने उहाँको भनाइ छ । तालिमपछि साना उद्यम थालनी गरेका महिलाले मासिक १० हजारदेखि २५ हजार रुपैयाँसम्म आम्दानी गरिरहेको बताएका छन् । 

पञ्चेवाजा बजाउन सिकेपछि स्वरोजगारको बाटोमा 

IMG_6314.JPG


बुटवल उपमहानगरपालिकाले महिलाहरुका लागि पञ्चेबाजा बजाउने तालिम प्रदान गरेको थियो । १३ जना महिलाको एउटा समूह बनाएर ५ वटा समुहलाई १५ दिने तालिम दिइएपछि अहिले महिलाहरुले पञ्चेबाजा बजाएरै जीविकोपार्जनको बाटोमा लागेको बताएका छन् । 

बुटवल–११ को श्रमिक महिला नौमति बाजा समूहकी सचिव शारदा श्रेष्ठले तालिम पश्चात महिलाहरुमा आत्मबल बढेको बताउनुभयो । घरको चुलोचौकामा मात्रै रमाउँदै आएका महिलाहरुका लागि पञ्चेबाजा बजाउन सिकेपछि अहिले बोलाएको ठाउँमा गएर पञ्चेबाजा बजाउँदै आयआर्जनमा जोडिएको सचिव श्रेष्ठको भनाइ छ । 

‘उपमहानगरपालिकाले प्रदान गरेको तालिमपश्चात पनि हामीहरुले छुट्टै प्रशिक्षक बोलाएर तालिम लियौं, अहिले पूर्णरुपमा बाजा बजाउन सकिने भएका छौं, ’श्रेष्ठले भन्नुभयो–‘अब हामी बोलाएका सबै ठाउँमा पुगेर पञ्चेबाजा बजाउन सक्छौं ।’ यसले महिलाहरुलाई रोजगारीमा जोडेको उहाँको भनाइ छ ।’ 

रोजगार मेलाबाट प्रत्यक्ष जागिर
२०८१ जेठ २३–२४ गते आयोजित श्रमाधान रोजगार मेलाबाट करिब ७ सय युवाले प्रत्यक्ष रोजगारी पाएका थिए । रोजगारदाताहरूले तालिमप्राप्त युवाहरूलाई बायोडाटा हेरेर छनोट गरेका थिए । स्थानीय उद्योग, होटल, निर्माण र सेवा क्षेत्रका कम्पनीहरूको सहभागीता रहेको श्रमाधान मेलाले रोजगारीको प्रबन्ध मिलाइदिएको थियो ।

बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रदेश सरकारले संयुक्त रूपमा अघि बढाएका सीप र रोजगार तालिम कार्यक्रमहरूले बेरोजगारी न्यूनीकरण, आत्मनिर्भरता र उद्यम प्रवद्र्धनमा उल्लेखनीय भूमिका खेलेको जानकारहरु बताउँछन् । नीति र कार्यक्रम स्थानीयस्तरमै प्रभावकारी रूपमा लागू गरिएमा रोजगार सिर्जना सम्भव हुने स्पष्ट बुटवल उपमहानगरपालिकाले प्रमाण दिएको उहाँहरुको भनाइ छ । उपमहानगरपालिकाले सयौं जनालाई सीप सिकाएर स्वरोजगार बन्ने बाटोमा हिंडाएको छ ।