२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

यस मनसुनमा औसतभन्दा बढी वर्षाको सम्भावना : गण्डकी, लुम्बिनी र कर्णाली बढी प्रभावित हुने

बिहिवार , आषाढ १२, २०८२

काठमाडौं, १३ असार । यस वर्षको मनसुनमा मुलुकभर औसतभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीवारको बैठकमा विभागका निर्देशक कमलराज जोशीले यो जानकारी गराउनुभएको हो । उहाँका अनुसार गण्डकी प्रदेश, लुम्बिनी प्रदेशको उत्तरपूर्वी भाग र कर्णाली प्रदेशको पश्चिम भागमा सरदरभन्दा बढी वषा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।

अन्य भूभागमा यो सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको उहाँले बताउनु भयो । निर्देशक जोशीकाअनुसार नेपालमा वार्षिक औसत वर्षा १४९८.४ मिलिमिटर भएपनि गत वर्ष १६९१.३ मिलिमिटर वर्षा भएको थियो, जुन ११३ प्रतिशत हो । उहाँले मौसम पूर्वानुमानलाई लिएर मिडियामा आएको ‘३०÷४० वर्ष यताकै धेरै पानी पर्छ’ भन्ने दाबीलाई सही नभएको समेत स्पष्ट पार्नुभयो । 

उहाँले भन्नुभयो, ‘यस वर्षको हामीले मौसमी पूर्वानुमान आँकलन गर्दाखेरी चाँही सरदरभन्दा बढी पानी पर्ने सम्भावना छ । सम्भवतः गण्डकी प्रदेश, लुम्बिनी प्रदेशको उत्तरपूर्वी भाग र कर्णाली प्रदेशको पश्चिम भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ । अन्य देशका अन्य भूभागमा औसतभन्दा बढी पानी पर्ने सम्भावना ४५ देखि ५५ प्रतिशतसम्म छ । यति हुँदाहुँदै पनि विपद् हुन्छ कि हुदैन भन्ने कुरा महत्वपूर्ण हो ।

नेपालमा सरदर वर्षा हुने भनेको १४९८.४ मिलि मिटर हो भने पोहोर साल १६९१.३ मिलिमिटर पानी परेको छ । जुन भनेको ११३ प्रतिशत हो । यो वर्ष त्योभन्दा पनि बढी वर्षा हुने सम्भावना छ । तर मिडियामा ३०÷४० वर्षभन्दा बढी पानी पर्ने भयो भनेर मिडियामा आएको छ । त्यस्तो चाँही होइन । पहिले चाँही दिनभर मसिनो पानी पर्ने हुन्थ्यो भने अहिले जलवायु परिवर्तनको असरका कारण २÷३ घण्टामै धेरै ठुलो पानी पर्ने २÷४दिन पानी परेर मनसुन ब्रेक भएको जस्तो हुने अवस्था छ ।’

जलवायु परिवर्तनका कारण वर्षाको ढाँचा बदलिएको बताउँदै उनले विपद् नहोस् भन्नेमा सावधानी अपनाउनुपर्नेमा जोड दिनुभयो ।