
शुक्रवार , आषाढ १३, २०८२
भैरहवा, १३ असार । सर्वोच्च अदालतले लुम्बिनी प्रदेश सरकारद्वारा रुपन्देहीको भैरहवास्थित भीम अस्पताल विकास समितिको विघटन रोक्न अन्तरिम आदेश जारी गरेको छ । तत्कालिन अध्यक्ष डा. अनन्त कुमार शर्माले लुम्बिनी प्रदेशको मन्त्रीपरिषद् र मुख्यमन्त्री कार्यालयलाई विपक्षी बनाउँदै सर्वोच्चमा दायर गरेको रिटमा अन्तरिम आदेश जारी गरिएको हो ।
न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले आदेश जारी गर्दै, ‘अन्तरिम आदेश टुंगो नलागेसम्म भीम अस्पताल विकास समिति विघटन गर्ने निर्णय कार्यान्वयन नगर्नु’ भनेको छ । डा. शर्मा २०८० वैशाख २१ गते भीम अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त हुनुभएको थियो ।
यस विषयमा अदालतले जेठ २६ गते अन्तरिम आदेशको बहसको मिति तोकेको थियो । तर, सो मितिमा बहस नहुन पुगेपछि मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको थियो ।
त्यस्तै सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका सबै अस्पताल विकास समितिहरूको विघटन रोक्न पनि अन्तरिम आदेश दिएको छ । साथै असार १७ गते दुवै पक्षलाई छलफलका लागि अदालतमा उपस्थित हुन पनि आदेश दिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij