
आइतवार , आषाढ १५, २०८२
भैरहवा, १५ असार । नेपाल मानव अधिकार संगठन जिल्ला शाखा रुपन्देहीको आयोजनामा शनिबार भैरहवामा मानव अधिकार शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्बासे (के.सी.)ले देशमा कतिपय बेथिति राज्यबाटै भएको बताउनुभयो । उहाँले राज्यले नागरिकको संरक्षकको रुपमा काम गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश सभा सदय के.सी.ले मानव अधिकार संरक्षणका लागि निरन्तर आवाज उठाउँदै आएको बताउनुभयो । उहाँले सम्पूर्ण नागरिकले आफ्ना हकअधिकारको बारेमा बुझ्न जरुरी रहेको र बेथितिविरुद्ध आवाज उठाउनुपर्ने उल्लेख गर्नुभयो । ‘सुशासन आफैबाट सुरु गर्नुपर्छ, ’उहाँले भन्नुभयो ।
त्यस्तै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले राज्य सञ्चालन गर्नेहरुमा नैतिकताको अभाव रहेको बताउनुभयो । उहाँले नेपालको संविधानले नागरिकलाई रोजगारीको अधिकार दिए पनि लाखौं नेपाली रोजगारीका लागि खाडी मुलुकमा रहेको बताउनुभयो । त्रिपाठीले संविधानमा कागजमा मात्र लेखेर नहुने र यो मनमा पनि लेख्नुपर्ने बताउनुभयो ।
‘संविधान लेख्नु मात्र बहादुरी होइन, संविधानमा धेरै राम्रो कुरा लेखिएको छ । तर, यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन, प्रयोग नगरिएको अधिकार विस्तारै मर्दै जान्छ, ’उहाँले भन्नुभयो । संविधानमा लेखिएका अधिकारबारे जनताले जान्न जरुरी रहेको उहाँको भनाइ थियो । उहाँले नागरिकलाई मानव अधिकार शिक्षा आवश्यक रहेको बताउनुभयो ।
सिद्धार्थनगर नगरपालिका–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले सरकारको पहिलो कर्तव्य मानव अधिकारको रक्षा हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल मानव अधिकार शिक्षा समाजका स्रोत व्यक्ति प्राध्यापक डा. गोविन्द ढकालले मानव अधिकार शिक्षाको महत्व रहेको बताउनुभयो । उहाँले सुशासनका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल मानव अधिकार संगठन जिल्ला शाखा रुपन्देहीका अध्यक्ष एवं कार्यक्रम संयोजक पवन पौडेलको अध्यक्षता, प्रदेश सभा सदस्य हेमा बेल्बासे (के.सी.)को प्रमुख आतिथ्यता तथा मानव अधिकार संगठन रुपन्देहीका सचिव राजेश जि.सी.को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, जनप्रतिनिधि, विद्यार्थी, सामाजिक संघ–संस्थाका प्रमुख एवं प्रतिनिधि लगायतको सहभागीता थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij