२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

‘खुला सीमा : परम्परा, परस्पर निर्भरता र वर्तमान अवस्था’ विषयक भैरहवामा अन्तरसम्वाद

आइतवार , आषाढ १५, २०८२

भैरहवा, १५ असार । रुपन्देहीको भैरहवामा ‘खुला सीमा : परम्परा, परस्पर निर्भरता र वर्तमान अवस्था’ विषयक अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको छ । नेपाल भारत खुला सीमा संवाद समूह, रुपन्देहीको आयोजनामा शनिबार भैरहवामा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख वक्ता समूहका केन्द्रीय अध्यक्ष डा. राजीव झाले कार्यपत्र प्रस्तुत गर्दै नेपाल र भारतबीचको खुला सीमा केवल भौगौलिक विशेषता नभइ ऐतिहासिक र साँस्कृतिक सम्बन्धको जिउँदो प्रतीक भएको बताउनुभयो । ‘हाम्रो परम्परा, भाषा, भेषभुषा, खानपान, धर्म, रितिरिवाज र पारिवारिक नातागोता यति घनिष्ट छ कि यी सम्बन्धलाई कृत्रिम रुपमा छुट्याउनु असम्भव जस्तै छ । खुला सीमाले दशकौंदेखि पारिवारिक, सामाजिक र आर्थिक सम्बन्धलाई सहज बनाइराखेको छ, ’उहाँले भन्नुभयो ।

उहाँले आजको परिवेशमा खुला सीमामा देखिएका सुरक्षा चुनौती, जनसंख्या चाप, अवैध गतिविधि, आपराधिक दुरुपयोगको विषयले नयाँ बहस जन्माएको उल्लेख गर्नुभयो । उहाँले यी चुनौतीको समाधान आपसी सहकार्य र विश्वासको माध्यमबाट खोजिनुपर्ने धारणा राख्नुभयो ।  ‘सीमा क्षेत्रका नागरिकहरुको जिन्दगी, रोजगारी, व्यापार, शिक्षादेखि स्वास्थ्य सेवासम्म खुला सीमाले नै सहज बनाएको यथार्थ हामीले स्वीकार गर्नैपर्छ, परस्पर निर्भरता भनेको केवल आर्थिक सवाल मात्र होइन–यो हाम्रो साझा संस्कृति र इतिहासको संवाहक पनि हो, ’उहाँले भन्नुभयो । 

वर्तमान समयमा नेपाल–भारत दुवै देशको नीतिगत प्राथमिकतामा सीमा व्यवस्थापन सुधार, सहकार्य, सूचना आदानप्रदान र आपसी सम्मानको भावनाले भरिएको नीति अत्यन्तै आवश्यक रहेको उहाँको भनाइ थियो । त्यसैले खुला सीमाको व्यवस्थापनमा नागरिकको सहभागीता, जनसंवाद र दीर्घकालीन सहकार्यको महत्वलाई अझ बलियो बनाउँदै लैजानु आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै संविधान सभा सदस्य तथा पूर्वमन्त्री ओमप्रकाश यादव (गुल्जारी) ले नेपाल–भारतबीच भाषा, धर्म र संस्कृतिको सम्बन्ध रहेको बताउनुभयो । उहाँले दुई देशका धेरै समस्या राजनीतिक रुपमा समाधान गर्न सकिने बताउनुभयो ।

लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बनियाले खुला सीमालाई अवसरको रुपमा लिदै व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भारतीय पर्यटकलाई ठाउँठाउँमा प्रहरी–प्रशासनबाट दुःख दिने काम भएको र यसबारे आफूले पटकपटक सदनमा आवाज उठाएको बताउनुभयो । 

जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले सीमा क्षेत्रका बासिन्दा झनै पीडित भएको बताउनुभयो । उहाँले बोर्डर क्षेत्रमा रहेको नागरिक नै सच्चा राष्ट्रवादी भएको दावी गर्नुभयो ।

राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झाले नेपाल–भारतबीचको सम्बन्ध अझ सुमधुर बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले दुवै देशका समस्या समाधान गर्न जनप्रतिनिधिले पहल गर्नुपर्ने र जनताको समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।

नेपाल भारत खुला सीमा संवाद समूह, रुपन्देहीका अध्यक्ष महेन्द्र गुप्ता (प्रशान्त)ले नेपाल भारतबीचको सम्बन्ध कुनै नेताले नै भइ जनताले बनाएको सम्बन्ध भएको बताउनुभयो । गोपाल सेवा समिति रुपन्देहीका अध्यक्ष भरथरी यादवले सीमा क्षेत्रकै नागरिकले सीमाको रक्षा गरिरहेको बताउनुभयो । उहाँले नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध रहेको बताउनुभयो ।

नेपाल–भारत दलित मैत्री संघका अध्यक्ष ओमप्रकाश विश्वकर्माले दुई देश मिलेर सीमामा देखिएको समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । ग्रीन युथ अफ लुम्बिनीका अध्यक्ष अर्जुन कुर्मीले नेपाल आउने भारतीय सवारीसाधनलाई चेकिङको नाममा दुःख दिइएको बताउनुभयो । 

नेपाली काँग्रेस रुपन्देहीका जिल्ला सदस्य दिल बहादुर चौधरीले खुला सीमालाई व्यवस्थित गर्नुपर्ने धारणा राख्नुभयो । नेपाल वैश्य युवा संघ, रुपन्देहीका कोषाध्यक्ष दुर्गा प्रकाश गुप्ताले नेपालको प्रवेशद्वारमा चेकजाँच गरिसकेपछि ठाउँठाउँमा चेकजाँच गर्न नहुने बताउनुभयो ।

कार्यक्रममा समाजसेवी आनन्द प्रसाद गुप्ता, नेपाल–भारत मैत्री संघका पूर्वअध्यक्ष मुरारीलाल अग्रवाल लगायतले बोल्नुभएको थियो ।