२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नेपाल प्रहरीलाई आशालाग्दो र राजनीतिक हस्तक्षेप मुक्त बनाइनुपर्छ : सांसदहरु

आइतवार , आषाढ १५, २०८२

काठमाडौं, १५ असार ।  नेपाल प्रहरी सम्बन्धी कानून प्रहरी सेवालाई आशालाग्दो बनाउने गरी निर्माण गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । 

आईतवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरुले यस्तो बताएका हुन् । नेपाल प्रहरीलाई सक्षम, स्वतन्त्र बनाइनुपर्ने उनीहरुको भनाइ छ । समितिको बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले नेपाल प्रहरीले इतिहासदेखि नै महत्वपूर्ण काम गरिरहेको भन्दै प्रहरी सेवालाई आशालाग्दो सेवाका रुमपा विकास गर्नुपर्ने बताउनु भयो ।

त्यसका लागि कानूनमा नै प्रवन्ध गर्नुपर्ने बताउनु भयो । संस्थालाई अझ बलियो र उत्तरदायी बनाउनुपर्ने बताउनु भयो । प्रहरी प्रशासनलाई स्वतन्त्र ढंगले काम गर्न पाउने गरी व्यवस्थित बनाउन जरुरी रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘नेपाल प्रहरीले इतिहासदेखि नै राम्रो काम गर्दै आएको छ । अपराध नियन्त्रण होस् वा अनुसन्धानको क्षेत्रमा होस् वा शान्ति सुरक्षाको सवालमा । यो संस्थालाई अझ बलियो र उत्तरदायी बनाउनुपर्छ ।

प्रहरी सेवालाई आशा लाग्दो बनाउने गरी यो कानून बनाउनु पर्छ । राजनीतिकरण जताततै भइरहेको छ, यसलाई नियन्त्रण गर्नुपर्छ । स्वतन्त्र ढंगले काम गर्न पाउने कानून बनाइदिनुपर्छ । सम्बन्धित मन्त्री, नेताहरुको घर चहार्ने स्थिति अन्त्य गर्नुपर्छ । सरुवा र बढुवा प्रणाली व्यवस्थित गर्नुपर्छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सरकार र राज्यप्रति मान्छेहरुको मनोबल घट्दै गइरहेको बताउनु भयो । उहाँले अपराध गरेका मान्छेहरु घुमिरहने र नियममा बसेका मानिसहरुले दुःख पाइरहने कारण पनि मानिसहरुमा प्रहरी र सरकार प्रतिको विश्वास गुमिरहेको बताउनु भयो । नेपाल प्रहरी राजनीतिक हस्तक्षेप मुक्त हुनुपर्ने बताउनु भयो ।

 उहाँले भन्नुभयो, ‘अहिले विधिको शासन, सरकार र राज्यप्रति मान्छेहरुको मनोबल घट्दै गइरहेको छ । अपराध नै गरेका मान्छेहरु घुमिरहेका छन्, नियममा बसेका मान्छेहरुले दुःख पाइरहेका छन् । त्यसले गर्दा न्यायमा अवरोध भएको छ । मानिसहरु असन्तुष्ट छन् । नेपाल प्रहरी राजनीतिक हस्तक्षेप मुक्त हुनुपर्छ । प्रहरीमा मनोबल घट्दै गइरहेको छ । समितिको ध्यान यसमा जानुपर्छ ।’

समितिको बैकठमा बोल्दै नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले नेपाली सेनाको प्रधानसेनापति नियुक्त हुँदा एउटा प्रणालीबाट हुने र प्रहरीको महानिरीक्षक नियुक्ति हुँदा अर्को प्रणालीबाट हुने कुरा राम्रो नरहेको बताउनु भयो । नेपाली सेनाको नियुत्तिः विवादरहित हुने गरेको भन्दै नेपाल प्रहरीलाई पनि त्यस्तै बनाइनुपर्ने बताउनु भयो ।

नेतृत्वमा कसलाई ल्याउने भन्ने सन्दर्भमा खालि भइसक्दासम्म पनि को आउने भन्नेबारेमा छलफल चलिरहने र निर्णय नहुने खालको विद्यमान अभ्यास बदल्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘नेपाली सेनाको प्रधानसेनापति नियुक्त हुँदा एउटा प्रणालीबाट हुने खास विवाद नहुने तर नेपाल प्रहरीमा त्यो प्रणाली बसाउन सक्छौँ की सक्दैनौँ ।

हाम्रा सुरक्षा अंगहरुलाई त्यस ढंगले अघि बढाउनुपर्छ । नेतृत्वमा कसलाई ल्याउने भन्ने सन्दर्भमा खालि भइसक्दासम्म पनि को आउने भन्नेबारेमा छलफल चलिरहने र निर्णय नहुने खालको विद्यमान अभ्यास बदल्नुपर्छ । राजनीतिकरण गरेका कारणले नेपाल प्रहरीमा राजनीतिकरण भएको छ । यो बन्द गर्नुपर्छ । यसलाई प्रोफेसनल बनाउनुपर्छ ।’

समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले विगतको सुरक्षा व्यवस्थापनबाट मात्रै अहिलेको सुरक्षा गर्न सम्भव नरहेको बताउनु भयो । उहाँले अहिलेको सुरक्षा व्यवस्था मजबुत बनाउने गरी विधेयक ल्याइनुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘विगतको सुरक्षा व्यवस्थापनबाट मात्रै अहिलेको सुरक्षा गर्न सम्भव छैन ।

यसका बारेमा अलिकति नयाँ ढंगबाट जानुपर्छ । त्यो आवश्यकता छ । यो विधेयकलाई अझ पूर्ण गर्नका लागि अझ बढी छलफल आवश्यक छ ।’ सांसदहरुले समितिको बैठकमा छलफलमा भाग लिँदै सरकार र प्रहरीमाथिको विश्वास कम हुँदै गएको भन्दै सरकार गम्भीर बन्न जरुरी रहेको बताए । जनताको सुरक्षा गर्ने अवधारणामा नै प्रहरी विधेयक आउनुपर्ने बताए ।

समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रश्ताव दर्ता गराउनुहुने सदस्यहरुसँग छलफल भएको हो ।