
सोमवार , आषाढ १६, २०८२
दाङ, १६ असार । लुम्बिनी प्रदेशको माध्यमिक शिक्षा परीक्षा (एसईई) को वार्षिक नतिजा सुधार भएको छ । परीक्षामा सामेल भएका विद्यार्थीमध्ये ६२.३२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
प्रदेशबाट नियमित परीक्षामा सहभागी भएका ७३ हजार ९ सय ३ परीक्षार्थीमध्ये ४६ हजार ५४ विद्यार्थी उत्तीर्ण भएका छन् । जसमध्ये ६ हजार ५ सय ६१ जनाले ३.६ देखि ४ जीपीए, १२ हजार ८ सय ९५ जनाले ३.२ देखि ३.६ जीपीए, १५ हजार २ सय ७० जनाले २.८ देखि ३.२ जीपीए, १० हजार ४२ जनाले २.४ देखि २.८ जीपीए, १ हजार १ सय ३८ जनाले २ देखि २.४ जीपीए र २ जनाले १.६ देखि २ जीपीएसम्म ग्रेड ल्याएका छन् ।
२०८० को एसईई परीक्षामा लुम्बिनी प्रदेशबाट ८० हजार ३ सय २७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमध्ये ४९ हजार २ सय २४ विद्यार्थी अनुत्तीर्ण भएका थिए ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले सफलता हासिल गर्ने सम्पूर्ण विद्यार्थीलाई बधाई तथा अवर्गीकृत भएका विद्यार्थीलाई आगामी प्रयासमा सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सामाजिक विकास मन्त्री तिमिल्सिनाले बधाई दिदै शिक्षालाई प्रदेश सरकारको प्राथमिक एजेण्डामा राखिएको जानकारी दिनुभयो । साथै, परीक्षा व्यवस्थापनमा सक्रिय भूमिका निभाउने शिक्षक, अभिभावक, राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश तथा जिल्ला परीक्षा समिति, सुरक्षा निकाय, सञ्चारमाध्यम लगायत सबैलाई उनले आभार व्यक्त गर्नुभयो ।
शिक्षाको गुणस्तर अभिवृद्धिका लागि सरकार नीतिगत सुधार र आवश्यक संरचनागत व्यवस्थापनमा प्रतिबद्ध रहेको उहाँको भनाइ छ । ‘विद्यार्थीको सफलताले प्रदेशको भविष्य उज्ज्वल बनाउनेछ’ मन्त्री तिमिल्सिनाले भन्नभयो,‘हामी अझ प्रभावकारी ढंगले शिक्षाको गुणस्तर सुधारमा लाग्नेछौं ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij