२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

चार जीपीए ल्याउने विद्यार्थीलाई ६० हजार पुरस्कार प्रदान गर्ने प्रभातको घोषणा

बिहिवार , आषाढ १९, २०८२

सैनामैना, १९ असार । रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ४ मुर्गियामा रहेको प्रभात इङलिस बोर्डिङ स्कूलले चार जीपीए ल्याउने विद्यार्थीलाई ६० हजार पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । 
स्कूलले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई बुधबार आयोजना गरेको सम्मान कार्यक्रममा उक्त घोषणा गरिएको हो । 

प्रभातका दुई विद्यार्थी सञ्चित घिमिरे र विनय भुसालले यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चार जीपीए नतिजा ल्याउन सफल भएका हुन् । त्यसै गरी पाँचजना विद्यार्थीको ३ दशमलब ९ जीपीए भन्दा माथि आएको छ । 

स्कूलका प्रिन्सिपल अनन्तराम शर्माले अव हरेक वर्ष स्कूलले चार जीपीए ल्याउने विद्यार्थीलाई जनही ६० हजार नगदसहित पुरस्कृत गर्ने घोषणा गर्नुभयो । उहाँले ३ दशमलव ९ जीपीए भन्दा माथि ल्याउने विद्यार्थीहरुलाई पनि जनही २५ हजारका दरले हरेक वर्ष पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभयो । विद्यार्थीहरुको मनोबल बढाउन तथा उनीहरुमा थप अध्ययनका लागि प्रोत्साहन दिन यो घोषणा गरिएको प्रिन्सिपल शर्माको भनाइ छ ।

यसैबीच प्रभात इङलिस बोर्डिङ स्कूलले बुधबार एसईईमा उत्कृष्ट नतिजा दिने विद्यार्थीहरुका लागि आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले स्कुलको शैक्षिक वातावरण तथा शिक्षकहरुको प्रभावकारी अध्यापन, विद्यार्थीहरुको अथक  मिहिनेत र लगनशीलताकै कारण यो नतिजा आएको बताउनुभयो । उहाँले आगामी दिनमा समेत यो नतिजालाई यथावत कायम राख्दै अझै उत्कृष्ट नतिजा दिन स्कूललाई शुभकामना तथा बधाई दिनुभयो । उहाँले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुको उज्वल भविष्यको कामना गर्दै थप शैक्षिक सफलताको शुभकामना दिनुभयो ।   

सैनामैना नगरपालिका शिक्षा शाखा प्रमुख टीकाराम शर्माले स्कूलले पहिलेदेखि नै उत्कृष्ट नतिजा दिएका कारण प्रभात यस क्षेत्रकै लोकप्रिय स्कुल बनेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि विद्यालयले यो नतिजालाई अझै उत्कृष्ट बनाउँदै लैजानुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा विद्यालयकी प्रमुख कार्यकारी अधिकृत मीना भण्डारीले विद्यालय परिवार, विद्यार्थी, शिक्षक र अभिभावक लगायत सवैको मिहिनेत, लगनशीलता र समर्पणकै कारण यो नतिजा आएको बताउँदै प्रभातको उत्कृष्ट नतिजाले पढाईको अब्बलता प्रमाणित गरेको उल्लेख गर्नुभयो ।  

चार जीपीए ल्याउने विद्यार्थी संचित घिमिरेले स्कूलको पारिवारिक वातावरणकै कारण आफूहरुले एसईईमा उत्कृष्ट नतिजा दिन सफल भएको बताउनुभयो । 

प्रिन्सिपल अनन्तराम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा अभिभावक रुद्र पोखरेलले पनि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो । विद्यालयका शिक्षक तुलसीप्रसाद लम्सालको स्वागत तथा शिक्षक चन्द्र पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।