२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

काशीद्वारा एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान

शुक्रवार , आषाढ २०, २०८२

भैरहवा, २० असार । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ स्थित काशी नोबल एकेडेमीले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । एकेडेमीले बिहीबार भैरहवामा एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।

छात्रतर्फ ३ दशमलव ९६ जीपीए ल्याउने संयोग बेल्बासे र छात्रातर्फ ३ दशमलव ९१ जीपीए ल्याउने स्मारिका पाण्डेलाई नगद र प्रमाणपत्रले सम्मान गरिएको विद्यालयका सह–प्राचार्य श्री रायमाझीले बताउनुभयो । त्यस्तै एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले सिद्धार्थनगरका विद्यालय उत्कृष्ट र शिक्षकहरु अब्बल रहेको बताउनुभयो । उहाँले काशी नोबल एकेडेमीले शैक्षिक क्षेत्रमा आफूलाई अब्बल विद्यालयको रुपमा स्थापित गरेको बताउनुभयो । 

त्यस्तै विशिष्ट अतिथि अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण (आईएसओ) को नेपालका प्रतिनिधि सुदीप शर्माले अध्ययनका लागि भैरहवाबाहिर जानुपर्दैन भनेर अभिभावकलाई  बुझाउनुपर्ने बताउनुभयो । विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेले हालसम्म काशी नोबल एकेडमीबाट १ हजार ३ सय ४६ जना विद्यार्थी एसईई उत्तीर्ण भएको जानकारी दिनुभयो । उहाँले कसैको दबाब र प्रभावमा नपरी आफ्नो रोजाईको विषय पढ्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

अभिभावक विष्णु बेल्बासेले शिक्षक, विद्यार्थी र विद्यालय प्रशासनको अथक मिहिनेतका कारण काशी अब्बल रहेको बताउनुभयो । उहाँले अभिभावकको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । विद्यार्थी संयोग बेल्बासेले शिक्षक तथा अभिभावकको साथ र हौसलाले राम्रो नतिजा ल्याएको बताउनुभयो । उहाँले अवसरहरुलाई चिन्नुपर्नेमा जोड दिनुभयो ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष ओम जैसीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका संस्थापक अन्जु जैसी, उपाध्यक्ष अजय कुमार गुप्ता, सल्लाहकार पुर्ण प्रसाद श्रेष्ठ, शिक्षक, विद्यार्थी, अभिभावक लगायतको उपस्थिति थियो । 

kkkk.jpg