२०८२, आषाढ २५ गते

Jul 09 2025 | २०८२, आषाढ २५ गते

बाजागाजाहरु जनताका आवाज पनि हुन् : उपप्रमुख डंगोल

शुक्रवार , आषाढ २०, २०८२

काठमाडौं, २० असार । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बाजा नेपालको संगीत र लयका सारथी मात्रै नभइ जनताका आवाजहरु पनि रहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा अमूर्त सम्पदा संरक्षण तथा प्रवद्र्धनका लागि काठमाडौं महानगरपालिकाद्वारा परम्परागत टोल, गुथी, खलःहरुलाई आर्थिक अनुदान सहयोग गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हरेक टोल, समुदाय, कुच, गुठीहरुमा फरक फरक खालका मूर्त र अमूर्त सम्पदाहरु रहेको बताउनु भयो । 

मूर्त सम्पदाहरु शरीर जस्तै भएको बताउँदै मूर्त सम्पदाको सास, आत्मालाई अमूर्त सम्पदाले जीवित बनाउने बताउनु भयो । अमूर्त सम्पदाको महत्वपूर्ण पाटो भनेको संगीत भएको बताउनु भयो ।

उपप्रमुख डंगोलले भन्नुभयो, ‘हरेक टोल, समुदाय, कुच, गुठीहरुमा फरक फरक खालका सम्पदाहरु रहेका छन् । मूर्त र अमूर्त सम्पदाहरु रहेका छन् । मूर्त सम्पदाहरु हाम्रा शरीर जस्तै हुन् । मूर्त सम्पदाको सास, आत्मा जीवित अमूर्त सम्पदाले बनाउँछ । अमूर्त सम्पदाको निकै नै महत्वपूर्ण पाटो भनेको हाम्रो संगीत हो ।

सामाजिक, सांस्कृतिक, धार्मिक कार्यमा किन नहोस्, कुनै राजनीतिक अभियानमा नै किन नहोस् । विशेष गरी काठमाडौं  महानगरपालिकाभित्र रहेको नेवार समुदायहरुको बाजाहरुको त्यत्तिकै नै महत्वपूर्ण रहेको छ । बाजाहरु संगीत र लय मात्रै होइनन्, हाम्रा आवाजहरु पनि हुन् । बाजाहरु बजुन्जेलसम्म नेवार समुदायको सबैको आवाज रही रहन्छ ।’

उपप्रमुख डंगोलले पुस्तौंदेखिका सीप र ज्ञानहरु पुस्तान्तरण गर्दै संस्कृतिहरुको संरक्षण गर्न जरुरी रहेको बताउनु भयो । परम्परागत टोल, गुठी, खलहरुले आफ्नो समुदायको पहिचान गर्न मद्दत गरिरहेको बताउनु भयो । पर्व, बाजा, जात्राहरुमा आफ्नो पहिचान रहेको बताउनु भयो ।