
शनिवार , आषाढ २१, २०८२
बुटवल, २१ असार । सरकारले सुनचाँदी तथा हिरा पथ्थरका गरगहनामा बिलासिता कर र भ्याट लगाएको विरोधमा चरणबद्ध आन्दोलनमा रहेका सुनचाँदी व्यवसायीहरुले शुक्रबार रुपन्देहीको बुटवलमा बृह्त मोटरसाइकल र्याली तथा विरोधसभा गरेका छन् ।
बुटवल सुनचाँदी व्यवसायी संघ, बुटवलको आव्हानमा विपीचोकबाट सुरु भएको मोटरसाइकल र्याली ट्राफिकचोक, अस्पताललाइन, दीपनगर, राजमार्ग चौराहा, योगीकुटी, सेमलार, बेलवास हुँदै ट्राफिकचोकमा पुगेर समापन भएको थियो ।
विरोधसभामा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्यद्वय दीपक कुमार विक र चेतनारायण विक, सुनचाँदी कालिगढ संघका अध्यक्ष कमल विसी, तिलोत्तमा आभुषणका जीत मल्ल बोल्दै सरकारले गरेको निर्णय तत्काल फिर्ता दिन आग्रह गर्नुभयो । कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष गकुल विश्वकर्मा, स्वागत उपाध्यक्ष कृष्ण सुनार तथा सञ्चालन चुरामणी विकले गर्नुभएको थियो ।
रकारले आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमार्फत सुनचाँदी तथा हिरा पथ्थरका गरगहनामा बिलासिता कर र भ्याट लगाउने जनाएपछि त्यसले सिधै उपभोक्तालाई मर्का पर्नुका साथै सुनचाँदी व्यवसायलाई धराशायी बनाउने भन्दै सुनचाँदी व्यवसायी चरणबद्ध आन्दोलनमा उत्रेका छन् । चरणबद्ध आन्दोलनका क्रममा व्यवसायीहरुले पसल बन्द गरेका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ तथा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको संयुक्त आव्हानमा सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमार्फत सुन तथा सुनका गहनामा २ प्रतिशत बिलासिता कर लगाउने र हिरा जवाहरत लगायत बहुमूल्य बस्तुमा १३ प्रतिशत भ्याट लगाउने घोषणाविरुद्ध चरणबद्ध आन्दोलन गरिएको संघका अध्यक्ष गकुल विश्वकर्माले बताउनुभयो ।
व्यवसायीहरुले सुनचाँदी व्यवसाय आर्थिक मन्दीका कारण दिनप्रतिदिन ओरालो लागिरहेको र सुनको मूल्यमा उच्च वृद्धि भइरहेको अवस्थामा सुनलाई विलासिताको वस्तु भनि विलासिता कर २ प्रतिशत र हिरा तथा जवहरातमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर भ्याट लगाउँदा त्यसले प्रत्यक्ष रुपमा उपभोक्ता मुल्य चर्को हुने बताएका छन् । त्यसबाट व्यवसायीहरुलाई व्यवसायबाट विस्थापित गर्ने स्थिति सिर्जना हुने दावी गरेका छन् ।
त्यसै गरी भारतको भन्सार दर र नेपालको सुन आयातको भन्सार दर तथा अन्य करमा एकरुपमा नहुँदा मूल्यमा भिन्नता आउने र नेपाली उपभोक्ताहरु सिमानाका बजारहरुमा सुनका गरगहना किन्न जाने अवस्था सिर्जना हुने व्यवसायीको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij