२०८२, आषाढ २५ गते

Jul 09 2025 | २०८२, आषाढ २५ गते

गंगाको अन्तिम इच्छा !

शनिवार , आषाढ २१, २०८२

“सिन्धुली कलाघरबाट प्रदर्शन गरिएका कला बुबालाई मोबाइलमा देखाउँछु । मेरो कला हेरेपछि बुबालाई खुसी लाग्छ । बुबा, बोल्न सक्ने भए स्याबासी पाउँथे हुँला । छोरी, अझै धेरै प्रगति गर् भनेर शीरमा हात राखेर आशीर्वाद पाउँथें हुँला । १५ वर्ष भयो बुबा ओछ्यानको ओछ्यानमै । न बोल्न न त उभिन नै सक्ने क्षमता छ बुबामा । कस्तो रोग लाग्यो होला मेरो बुबालाई ? ए ! भगवान ।”

यी दर्दनात्मक र कारुणिक शब्द हुन् सिन्धुली कलाघरकी कलायात्री गंगा ठटालको । उनले आफ्ना बाबाको उपचारार्थ सहयोग माग्दा कलाघरलाई दोस्रो घर ठानेकी थिईन् र यीनै भावुक शब्दहरु आफ्नो फेसबुक वालमा टाँसेकी थिईन् ।

WhatsApp Image 2025-07-05 at 10.12.37 AM.jpeg

गंगाको मन कहिलेकाँही धागोबिनाको चङ्गाजस्तै उड्छ । उनलाई बाबाको रोगलेभन्दा बाबकै पिर र शोकले गलाउँछ । तैपनि कलाघरको कलायात्राले सबै पीरव्यथा मेटाउन मद्दत गर्दैछ । आफ्नो प्रतिभा र क्षमता पोख्छिन् कलाका सहायताले । बिर्सिने बाटो खोज्छिन् बाबाको पीडाबाट तर सम्भव छैन । तैपनि कला,पिर बिसाउने माध्यम बन्छ  ।

गंगा,उमेरले १८ टेक्दैछिन् । घरमा आमा, बिरामी बाबा र आफूसँगैको जुम्ल्याहा दाइ छन् । जेठो दाजु पढ्दै कमाउन मामाका सहयोगले जापान पुगेका छन् । पाँच रोपनी जग्गामध्ये दुई रोपनी खेतीयोग्य छ । घरका लागि बेसाहा नकिनी साध्य नभएको गंगाले सुनाईन् ।

गंगाले कमलामाई नगरपालिका–३,  चपौलीमा रहेको जलकन्या माविबाट १२ कक्षा उत्तीर्ण गरेर कलाघरमा जोडिएकी हुन् । यतिबेला उनले नरसिङ्गा बाजाको कमाण्ड सम्हाल्छिन् । परि आउँदा सबै बाजागाजा बजाउन पछि हट्दिनन् ।

Naach gharrrr.jpg

कलाघरकी उपाध्यक्ष पवित्रा रम्तेलको साथ लागेर बाजा बजाएर सिकाउन देशका धेरै ठाउँ पुगेकी छिन् । सिक्दै, सिकाउँदै कलायात्राको सारथी बन्न पाउँदा गंगाको खुसीले सगरमाथा चढ्छन् ।

गंगा, कोमल मन कि छिन् । कलाघरमा आएपछि उनले आफ्ना प्रतिभालाई तिखार्ने मौका पाएकी छिन् । सिकेको कलालाई पोखेकी छिन् । रातोदिन कलाघरमा आफ्नो तन,मन बिछ्याएकी छिन् । सबैसँग मिलेर बसेकी छिन् ।

WhatsApp Image 2025-07-05 at 10.12.36 AM.jpeg

कलाघरका अध्यक्ष “नेपाली बाबु सुमन” लाई प्रेरणाको स्रोत ठानेकी छिन् । उनीबाट सडकनाटकमा अभिनय कला सिकेकी छिन् । कचहरी, गीति नाटकमा समेत आफूलाई सक्षम पात्र बनाउन कम्मर कसेर लागेकी छिन् । पवित्रा, सञ्चिता, सिर्जना, रीता, रीतु दिदीहरुसँग बाजा बजाउन र नृत्य गर्ने कला र सीप सिकेकी छिन् । कलाघरलाई सिंगार्न हरपल खटिएकी छिन् । कलाघरमार्फत आफ्नो प्रतिभालाई संसार सामू प्रचारप्रसार गर्ने काममा सामाजिक सञ्जालको सहारा लिएकी छिन् ।

सुरुमा रुघाखोकी लाग्दै गएपछि उनका बाबाका हातखुट्टा नचल्ने भए । शरीर पूरै पक्षघात भयो ।  यतिबेला उनकी आमा नै बाबाका सुसारे भएकी छिन् । नेपाल हुँदै भारतीय अस्पतालमा उपचार गर्न पुराईएपनि उनका रोगी बाबा पूर्ण स्वस्थ हुन सकेका छैनन् । रोग भने २० को १९ सम्म भएको छ । सुकेका हातहरु हल्का चल्न थालेका छन् । रुने,कराउने समस्या कम हुँदै गएको छ ।

कलाघरले उनका बाबाको उपचार्थ विशेष सहयोग कार्यक्रम गरी करिब तीन लाख ५० हजार रुपैयाँ बढी रकम संकलन गरेको कलाघरका अध्यक्ष सुमनले बताए । अझै पनि सहयोगीहरुले आवश्यक सहयोग रकम पठाउँदै रहेछन् । सुमन आफै गंगाका बाबाको स्वास्थ्य उपचारका लागि भारतीय अस्पताल पुगेका थिए ।

गंगाले आफ्नो जीवनमा थप ओैपचारिक पढाइ अघि बढाउने योजना बुनेकी छिन् । कलाघरलाई विश्वकै नमूना कलाघर बनाउन हातेमालो गर्दै आएकी छिन् ।  यतिबेला उनको परिवार कमलामाई नगरपालिका वडा नम्बर ३ को चपौलीमा बस्दै आएका छन् । गंगाको अन्तिम इच्छा भनेकै बाबाको उपचार गरी स्वास्थ्यको पूर्वास्थामा फर्काउने र खुसीका साथ परिवारमा रमाउने छ । हरेक छोराछोरीको कामना पारिवारिक पूर्ण स्वास्थ्य हुँदोरहेछ । 

WhatsApp Image 2025-07-05 at 10.12.36 AM (2).jpeg

गंगाले विभिन्न संघ–संस्थाहरुबाट प्रशंसा र सम्मान–पत्र प्राप्त गर्दा हर्षविभोर हुन्छिन् । खुसीका आँसु चुहाउँछिन् । त्यहीबेला सम्झिन्छिन् रोगी र थला परेका बाबालाई अनि प्रार्थना गर्छिन्– बाबाको पूर्ण स्वास्थ्य लाभका लागि दृश्य, अदृश्य दैवीशक्ति सामू !