२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

अनेरास्ववियु रुपन्देहीले एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गर्दै

आइतवार , आषाढ २२, २०८२

भैरहवा, २२ असार । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी, रुपन्देहीले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान गर्ने भएको छ ।  अनेरास्ववियुले आइतबार (आज) रुपन्देही जिल्लाबाट  एसईईमा  सहभागी भइ ३.६ भन्दा माथि जीपीए ल्याउने २ हजार ४ सय ९५ जना विद्यार्थीलाई सम्मान गर्ने भएको हो । 

रुपन्देही जिल्लाका सामूदायिक तथा निजी विद्यालयहरुबाट चार जीपीए ल्याउने ८८ जना र ए प्लस ल्याउने २ हजार ४ सय७ जना विद्यार्थीहरुलाई सम्मान गर्ने तयारी पूरा भएको अनेरास्ववियु रुपन्देहीका अध्यक्ष भरत अर्यालले जानकारी दिनुभयो । 

नेकपा (एमाले) का उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष डा.सुजन कडेरियाको समेत आतिथ्यता रहनेछ । 

कार्यक्रम आइतबार बिहान ११ बजेदेखि रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० रामनगरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सभाहलमा हुने अनेरास्ववियु रुपन्देहीका उपाध्यक्ष अर्जुन गैरेले बताउनुभयो ।

रुपन्देहीका ३२ वटा विद्यालयबाट ८८ जना विद्यार्थीले चार जीपीए ल्याएको र अन्य करिब १६८ विद्यालयबाट ३.६ जिपिए भन्दामाथि ल्याउने २ हजार ४ सय ७ जना विद्यार्थी रहेको अनेरास्ववियु जिल्ला सचिव सुमित सापकोटाले जानकारी दिनुभयो ।