
आइतवार , आषाढ २२, २०८२
भैरहवा, २२ असार । बुद्धकालीन रोहिणी सभ्यताको प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्ने सरोकारवालाले जोड दिएका छन् । रोहिणी सभ्यताको प्रवद्र्धन र प्रचारप्रसारले पर्यटन क्षेत्रमा टेवा पुग्ने उनीहरुको धारणा छ ।
रोहिणी गाउँपालिका, रुपन्देहीको आयोजना तथा लुम्बिनी खबर मिडिया क्लब सिद्धार्थनगरको समन्वयमा भएको बुद्धकालिन रोहिणी सभ्यताको पर्यटन प्रवद्र्धन तथा प्रचारप्रसार विषयक अन्तरक्रिया कार्यक्रममा रोहिणी नदीको पर्यटन क्षेत्रमा पनि उत्तिकै महत्व रहेको भनाइ थियो ।
कार्यक्रममा लुम्बिनी खबर मिडिया क्लबका सञ्चालक कमल रायमाझीले रोहिणी नदीको ठूलो महत्व रहेको बताउनुभयो । उहाँले लुम्बिनी, देवदह, रामग्राम, रोहिणीलाई सँगै जोड्नुपर्ने बताउनुभयो । ‘राज्यलाई मात्र दोष दिएर पन्छिन मिल्दैन, रोहिणी नदी ऐतिहासिक ठाउँ हो । यसलाई पर्यटकीय तथा धार्मिकस्थलको रुपमा विकास गर्नुपर्छ, ’उहाँले भन्नुभयो ।
भैरहवा बहुमुखी क्याम्पसका लेक्चरर सुरज घिमिरेले रोहिणी सभ्यता महत्वपूर्ण दृष्टान्त बन्न सक्ने र यहाँ धेरै पर्यटक आउन सक्ने बताउनुभयो । उहाँले रोहिणी नदीलाई बुद्ध सर्किटमा जोड्न सके पर्यटन क्षेत्रको विकासमा कोसेढुंगा सावित हुन सक्ने बताउनुभयो । उहाँले रोहिणीमा होमस्टे सञ्चालन गर्न सकिने बताउनुभयो । गाउँपालिकालाई बुद्ध मूर्ति राख्न तथा पार्क बनाउन उहाँले सुझाव दिनुभयो । कृषि क्षेत्रमा पालिकाले जोड दिनुपर्ने उहाँको भनाइ थियो ।
‘रोहिणी नदीको पूर्वतर्फ कोलीय र पश्चिमतर्फ शाक्य बंशको गणराज्य थियो । नदीको पानी दुवै राज्यका किसानले प्रयोग गर्ने गर्थे । वैशाख–जेठको सुख्खा मौसमका बेला सुकेर नदीमा पानी अति कम थियो । दुवै राज्यका किसानले सबै पानी आ–आफ्नो कुलोमा लैजान खोज्दा दुई पक्षबीच ठूलो विवाद भइ युद्ध उन्मुखको अवस्था सृजित भयो । युद्ध गर्न तम्सिएकालाई गौतमबुद्धले भिक्षु बनाउनुभयो, ’उहाँले भन्नुभयो ।
लुम्बिनी विकास कोषका सूचना अधिकृत डा. हरिध्वज राईले गौतमबुद्ध भगवान मात्रै नभइ ईश्वरको पनि ईश्वर भएको बताउनुभयो । उहाँले द्वन्द्व समाधानका लागि रोहिणी नदी सभ्यता क्षेत्र दृष्टान्त स्थल भएकाले यसको सही किसिमबाट खोज र प्रबद्र्धन गरी विश्वकै द्वन्द्व व्यवस्थापन गर्ने स्थलको रुपमा प्रयोग गर्न सकिने बताउनुभयो । रोहिणी नदी किनार क्षेत्रमा सुन्दरीकरण गर्नुपर्ने उहाँले सुझाव दिनुभयो ।
लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानाले बुद्धकालीन सभ्यता, यसको अनुसन्धान, खोज र प्रचारप्रसारमा पछि पर्न नहुने बताउनुभयो । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका सचिव मंगल भण्डारीले लुम्बिनी आउने पर्यटकलाई रोहिणी जाने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
सिद्धार्थ होटल संघ, नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले रोहिणी सभ्यता एउटा ब्राण्ड भएको उल्लेख गर्दै यसको प्रचारप्रसारमा जोड दिनुपर्ने बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुल प्रसाद न्यौपानेले बुद्ध सहनशील समाजको लागि काम गर्नुपर्छ भन्ने सोच भएको बताउनुभयो । उहाँले रोहिणीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरीले पर्यटक आएपछि आर्थिक चलायमान बढ्ने बताउनुभयो । उहाँले ऐतिहासिक घटना दर्शाउने संरचना आवश्यक रहेकोमा जोड दिनुभयो ।
गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले रोहिणी नदी क्षेत्र सभ्यताको खोज, अध्ययन र प्रबद्र्धनका लागि लुम्बिनी विकास कोष लगायतका निकायसँग समन्वय गरिने बताउनुभयो । यसका लागि बहुवर्षीय योजनाका साथ संघ र प्रदेश सरकारको साथमा स्थानीय सरकारले पहलकदमी लिन तयार रहेको उहाँको भनाइ थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij