२०८२, आषाढ २५ गते

Jul 09 2025 | २०८२, आषाढ २५ गते

बिहारी गाउँ पुग्दा ....।

आइतवार , आषाढ २२, २०८२

शनिबार नवलपरासीको सुनवल पुग्दा मध्यान्हको १२ बज्नै लागेको थियो । सुनवल चोकबाट थोरै अघि बढेर उत्तरदिशा लागेपछि सर्वोत्तम सिमेन्ट फ्याक्ट्री पुग्न धेरै बेर लागेन । बाटो पक्की तर, बीचबीचमा बिग्रिएको थियो । फ्याक्ट्रीको मूल गेट नपुग्दै सानो बाटो समाएर हामी उत्तरतिर हान्नियौं । करिब तीन किलोमीटर तर्पाएँ र थोरै उकालो बाटो काटेपछि चुरे क्षेत्रभित्र लुकेको सुन्दर गाउँ बिहारी पुगियो । कस्तो अनौठो नाम !  न त्यो विहार प्रदेश न त्यहाँ बस्ने बिहारी ? किन कसले बिहारी राख्यो होला गाउँको ?

हाम्रो गठबन्धन ...........
हाम्रो यात्राको डाइरेक्टर थिए–प्रकाश राना । उनी युवा नेता हुन् । मेडिकल व्यवसायी र कृषिसम्बन्धि पढाउने संस्थाका संस्थापक पनि । मोटर हाँक्ने पाको र पुरानो मान्छे चाँहि होमबहादुर गलामी थिए । साथमा थियौं–इन्सुरेन्स उद्यमी बुद्धबहादुर सूर्यवंशी, बंगुरपालक किसान धनबहादुर बुढाथोकी र म पनि । नौलो स्थान घुम्न जाने रहरले उनीहरुसँग गठबन्धन बनाएको थिएँ ।

सर्वोत्तम सिमेन्ट फ्याक्ट्री कटेर मोटरमा एकछिन कच्चीबाटो गुड्दैगर्दा बाटाभरी स्कुटी र भट्भटे बिसाइएका थिए । चुरे जंगलभित्र किन यस्ता साधनहरु अड्याइएका होलान् ,चासो लाग्यो सबैलाई । शनिबारका दिन घुम्न होला नि भने धनबहादुरले । बुद्धबहादुरले खोल्सा किनार देखाउँदै गिठ्ठा पखाल्न आएका होलान् नि भनेपछि हामी सबै चुप लाग्यौं । मैले बाटोभरी त्यो शब्दको अर्थ खोजिरहें । 
गाउँ पुगेपछि धान रोपाइँ हेर्यौं । गाउँभरीका महिला, पुरुष र केटाकेटी खेतभरी नै देखिन्थे । प्रकाशको अस्थायी निवासनिर पुगेपछि उनका सहयोगीहरुले मकै पोल्न थाले । आँप काटेर ल्याए । दही घोलिएर मोही बनी आइपुग्यो टेबलमा । अनि बोकाको भुटुवा आइपुग्यो । पिउन रुचाउनेहरुले भुटुवासँग मौवाको थुतुवा चिरिप्पै पारे । गोपनीयता भंग हुने डरले नाम उल्लेख गर्न बाञ्छनीय रहेन । मकै र मोहीलाई मुखमा हुलेपछि पेटको बाँकी स्थानमा पाकेको मेवाको चानालाई राखियो । स्वादको अग्र्यानिक फलफूल खाँदाको मीठो स्वादको कति बयान गरौं र ?

ggg.jpg

आँपभन्दा गुलियो ...........। 
संयोगले १७ वर्षपछि रमेश रानासँग बिहारी गाउँमा भेट्न अवसर जुट्यो । उनीसँग २०६५ सालतिर बुटवलको गोलपार्कमा भेटेका थियौं । त्यतिबेला उनी बुटवल बहुमुखी क्याम्पसमा पढ्दै विद्यार्थी राजनीति गर्थे । एकपटक त उनी सोही क्याम्पसका स्ववियू सभापति भए । पुरानो चिनजानको साथी रमेशसँग भेट्न पाउँदा पाकेको आँपभन्दा पनि गुलियो लाग्यो । रमेश यता बस्न थालेको पनि केही वर्ष बितेछन् । बुटवल क्याम्पसको पढाइ पूरा गरेपछि उनी थप अध्ययनका लागि काठमाठौं पुगेका रहेछन् । स्ववियू सभापति बनिसकेका रमेशलाई चुरे क्षेत्रको बस्तीमा देख्दा र भेट्दा मलाई अचम्म नलाग्ने कुरै भएन । उनी किसानहरुसँग खेतीपातीमा व्यस्त रहेछन् ।

देउराली जनता प्राविधिक शिक्षालयको फिल्ड हेर्ने इञ्चार्ज भएर उक्त गाउँमा बस्न थालेका रहेछन् । कृषि प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीलाई कृषिसम्बन्धि सहयोग र सेवा दिन उनी कम्मर कसेर कृषिकर्ममा तल्लीन रहेछन् । फलफूलका बेर्ना लगाइएका रहेछन् । धान खेती लगाउँदै थिए । विद्यार्थीलाई पढाउने, प्रयोगात्मक कक्षा सञ्चालन गर्ने टहरो, प्लाष्टिकका टनेलहरु समेत देखिए । बाख्रापालन प्रशस्तै रहेछ । सिंचाईका लागि पक्की कुलो बनेको रहेछ । उखँु, मेवा, आँप फलेका थिए । केराका त बडेमानको घारीहरु देखिए । केरा बेचेरै पैसा भसक्कै कमाई हुने प्रकाशले सुनाए । 
प्रकाशको टीमले करिव १५ विगाहा जग्गा किनेर खेतीपाती र कृषि पढ्ने विद्यार्थीलाई प्रयोगात्मक थलो बनाएको रहेछ । धनबहादुरलाई बंगुरपालन गर्न उनले अनुरोध गर्दै थिए । कुखुरा त पालेकै रहेछन् । करिब ८ जनाले दैनिक रुपमा प्रकाशको फर्ममा जागिर गर्दारहेछन् । मौसमी कामदारहरु त थुप्रै हुने रहेछन् ।

falful.jpg

सानालाई स्कुल,ठूलालाई सास्ती.......।
चुरे क्षेत्रभित्रको लुकेको उक्त बिहारी गाउँमा ४० बढी घरहरु रहेछन् । सबै मगर जाति मात्र । गाउँमा २०६१ सालमा खुलेको निसानी देवी आधारभूत विद्यालय रहेछ । २० जना जति विद्यार्थीले कक्षा तीनसम्म पढ्न पाएका रहेछन् । सो भन्दा माथिको कक्षा लिन सुनवलतिर झर्नुपर्ने बाध्यकारी अवस्था र सास्ती कसलाई सुनाउने हो र भन्दैथिए गाउँलेहरुले । गाउँमा बिजुली पुगेको छ । धारा छ । सिंचाई छ । कच्ची भए पनि बाटो पुगेकै छ । अब गाउँमा स्वाथ्य इकाई चाहिएको छ ।

Gaau.jpg

दुई सय बढी जनसंख्या रहेको उक्त गाउँ, सुनवल नगरपालिकाको वडा नम्बर ४ भित्र पर्दोरहेछ । भूगोलको कारण पछाडि पारिएको सो गाउँमा धान, मकै, कोदोलगायत लसुन, खुर्सानी, पिंडालु, आलु र टमाटर प्रशस्तै फल्ने गरेको स्थानीय किसानहरुले बताएका थिए । काठका पुराना घरहरु, घरमा झुण्डाइएका लसुन, प्याजका सजावट उत्कृष्ट लाग्यो । गाउँमा रहेको बंगुरपालन राम्रो र व्यवस्थित लाग्यो । खाम्न नसक्ने बंगुरहरु देखेर दंग परियो । यतिबेला बंगुरका बच्चाहरुको गोटाको सात हजारसम्म पर्ने कुरा धनबहादुर बुढाथोकीबाट थाहा भो । रुखकटहरका बोटमा लटरम्म फल लागेका थिए । नागबेली कुलो हेर्दै रहर लाग्दो देखियो ।

मगरजति सबै नातापाता...........।
केहीबेर बिहारी गाउँ घुमियो । सबै मगरसाथीहरु प्रकाश र रमेशका नातापाता भइसकेका रहेछन् । साइनो लगाउन र सम्मान गर्न कसैलाई बाँकी रहेनछ । मिलनसार जातिका मगरहरुसँग बाहिरबाट गएका प्रकाश र रमेश रानामगरहरुले छिट्टै हिमचिम बढाएका रहेछन् भन्ने कुरा गाउँलेहरुसँगको बोलीचाली र व्यवहारले मालुम भयो ।

गाउँबाट हिड्ने बेला मकैको बोरा बोकेर धनबहादुर अघि लागे । बुद्धले शान्त मन लिएर बिहारी गाउँलाई बिदा गरे । पुरानै चालक होम गलामीले मोटरको हेण्डिल समाए । हामीहरु बिनारकमको पेसेन्जर भयौं । एक दिन फेरि बिहारी गाउँका साथीहरुसँग झ्याउँरे गीतमा नाँच्ने र दोहोरी खेल्ने कुरा होमबहादुरको मुखबाट फ्वात्त हाम फाल्यो । प्रकाशले हुन्छको संकेत टाउको हल्लाएर दिए । बेनुलाई नाँच्न ल्याउनुपर्छ, मैले भनें ।

शान्तिसँग भेट नहुँदा..........। 
बिहारी गाउँबाट ओरालो लाग्दा दिउँसोको साढे तीन बज्दैथियो । पेट टन्न थियो । बाटोमा आइपुगेपछि सुनवल नदुवाटोलको दिदीबहिनी टपरी हेर्न पुग्यौं तर सञ्चालक उद्यमी शान्ति पुनसँग भेट्ने अवसर मिलेन । टपरीका लागि पात खोज्न गएकी रहेछिन् । उनीसँग भेट्न नपाउँदा टपरी उद्योगका बारेमा बुझ्न हामीलाई कठिन भयो । केहीबेर पर्खियौं तर ढिला हुने डरले बाटो लाग्नुको पीडा होम दाइको अनुहारमा देखिन्थ्यो । उही गाउँका शिक्षक पुराण गुरुङसँग भेट्ने अवसर मिलेन । अस्नैया, ६ नम्बर, भवानीपुर, मणिग्राम हुँदै बुटवलतिर आइपुग्नु अघि नै पाकेका आँप चुस्तै, ड्रागन फ्रुट किनेका थियौं ।

छोटो तर, मीठो नबिर्सिने यात्राले हामीलाई बिहारी गाउँको असल मित्र बनायो । चुरेभित्र लुकेको स्वर्गजस्तै सुन्दर पहाडी गाउँलाई कहिल्यै बिर्सिन सकिने छैन । मिठो पानी, मिलनसार मगर साथीहरुलाई आँखामा सजाइ राख्नेछौं । बाँचुञ्जेल !