२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

अनेरास्ववियुद्वारा रुपन्देहीबाट एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान

सोमवार , आषाढ २३, २०८२

रुपन्देही, २३ असार । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी रुपन्देहीले जिल्लाबाट सामूदायिक र निजी विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अंक ल्याउने करिब २ हजार ५ सय विद्यार्थीलाई सम्मान गरेको छ ।

नेकपा (एमाले) का उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले रुपन्देही जिल्लाका ३२ वटा विद्यालयबाट ४ जीपीए ल्याएका ८८ जना विद्यार्थीले अन्य करिव १६८ विद्यालयबाट ३.६ जिपिए भन्दामाथि ल्याउने २ हजार ४ सय ७ जना विद्यार्थीलाई सम्मान गर्नुभएको हो ।

कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारी र निजी क्षेत्रको समन्वयमा शैक्षिक क्षेत्रमा रूपन्देही देशकै उत्कृष्ट जिल्ला बनेको र सामूदायिक विद्यालयले पनि एक÷एक गरी राम्रो परिणाम हासिल गर्न सफल भएकोमा सबैलाई खुसी बनाएको बताउनुभयो । उहाँले नेपालमा शिक्षामा राम्रो सुधार भएको र थप गुणस्तरीय बनाई देशका नागरिक मात्र नभइ अन्य देशबाट समेत अध्ययनका लागि नेपाल आउने वातावरण बनाउन लागेको बताउनुभयो ।

पौडेलले शिक्षा जीवनको प्रमुख अंग भएकाले गुणस्तरीय शिक्षाबाट जीवन बदलिने र शिक्षालाई सबै नागरिकको पहुँचमा र सर्बसुलभ पुर्याएर नागरिकलाई शिक्षाको सुनिश्चितता गर्ने गरी धेरै कामहरु भएको बताउनुभयो । शिक्षाका हरेक विधाहरु आफैमा उत्कृष्ट भएकाले विद्यार्थीहरुले आ–आफ्नो क्षमता र चाहनाअनुसार छनोट गरी अध्ययन गर्न उहाँले आग्रह गर्नुभयो ।

पौडेलले अहिले नेपालमा भविष्य छैन भन्ने कुप्रचारको अवस्था देखिएकोले यो भ्रममा नपरि निश्चिन्त शिक्षा हासिलमा लाग्न आह्वान गर्नुभयो । उहाँले नकारात्मक कुराहरुलाई सकारात्मक कुराहरुले जित्न नसकेमा परिणाम नराम्रो आउने हुनाले सकारात्मक सोच, बोली र व्यवहार अंगाल्नुपर्ने धारणा राख्नुभयो । पौडेलले राज्यको मियो राजनीति सही दिशामा लागेकोले निश्चिन्त रहेर अगाडि बढ्न आह्वान गर्नुभयो ।

अनेरास्ववियुका केन्द्रीय अध्यक्ष डा. सुजन कडेरिया, नेकपा एमाले रूपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरे, अनेरास्ववियु जिल्ला अध्यक्ष भरत अर्याल लगायतले बोल्दै रूपन्देहीले ८८ जना ४ जीपीएसहित उत्तीर्ण भएको बताउनुभयो । उहाँहरुले अन्य विद्यार्थीले पनि उत्कृष्टता हासिल गरेको र आगामी समयमा थप उत्कृष्ट ता हासिल गर्न सरोकारवाला लाग्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमाले पोलिटब्यूरो सदस्य लिला गिरी, पोलिटब्यूरो सदस्यहरू खिमलाल भट्टराई र दधिराम न्यौपाने, लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेलगायतले अनेरास्ववियुले गरेको सम्मानले उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई उत्साह थपिएको बताउनुभयो ।