२०८२, आषाढ २५ गते

Jul 09 2025 | २०८२, आषाढ २५ गते

लुम्बिनी प्रादेशिक अस्पतालमा कार्ययोजना तथा बजेट व्यवस्थापनबारे अन्तरक्रिया

मंगलवार , आषाढ २४, २०८२

बुटवल, २४ असार । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आगामी वर्षको कार्ययोजना तथा बजेट व्यवस्थापनबारे मंगलबार अन्तरक्रिया सम्पन्न भएको छ । सो अवसरमा बोल्दै अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले सेवा विस्तार गरी आन्तरिक स्रोतको विकास तथा सेवाग्राहीलाई थप सहज हुने गरी अघि बढ्न निर्देशन दिनुभयो ।

अस्पतालको प्रयोगशाला विभागलाई थप विश्वसनीय र छरितो बनाउनुपर्ने, रेडियोलोजी विभागलाई व्यवस्थित गराउँदै लैजानुपर्ने, क्याथल्याब सेवालाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने, प्रसुती सेवालाई अझ व्यवस्थित बनाउँदै रातको समयमा समेत गुणस्तरीय सेवालाई जोड दिनुपर्ने लगायतका सुझावसहित सधारका कार्यलाई अघि बढाउन अध्यक्ष श्रेष्ठले निर्देशन दिनुभयो । 

मितव्ययीतासँगै स्वास्थ्य सेवालाई गुणस्तर बनाउने सवालमा आफू प्रतिबद्ध भएको बताउँदै उहाँले अस्पताल प्रशासन, चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्पूर्ण कर्मचारी परिवार सोही अनुसार प्रतिबद्ध भएर लाग्न आग्रह गर्नुभयो ।

त्यस्तै अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. इन्द्र ढकालले स्वास्थ्य सेवालाई थप गुणस्तरीय र सर्वसुलभ बनाउनका लागि आवश्यक उपकरण खरिद तथा संरचनाहरुको व्यवस्थापनका लागि आगामी वर्षको कार्ययोजनामा समावेश गरिएको जानकारी दिनुभयो । उहाँले अस्पतालको अत्याधुनिक भवन निर्माणाधिन अवस्थामा रहेकाले अहिलेको पुरानो संरचनामा लगानी गर्ने कुरालाई मितव्ययीता अपनाइने भए पनि आधारभूत र अत्यावश्यक कुराहरुका लागि भने कुनै कमी हुन नदिने गरी योजनाबद्ध अघि बढेको बताउनुभयो । 

आगामी वर्षका लागि अस्पतालमा निकट भविष्यमै सञ्चालन हुन लागेको एमआरआई मेसिन सञ्चालनका लागि जनशक्तिको व्यवस्थापन, सिटी स्क्यान मेसिन थप गरी सञ्चालन गर्ने तयारी, रातको समयमा पनि ड्युटी अफिसर राखेर गुणस्तरीय सेवा प्रदान गर्ने, एमडीएमएस अध्यापनका लागि सम्भाव्यता अध्ययन लगायतका योजनाहरु अघि बढाइएको उहाँले बताउनुभयो । त्यसै गरी अस्प्तालमा निमार्णको काम भइरहेको ४५ बेडको वार्ड विस्तार गरी आउँदो दशंैभित्र सञ्चालनमा ल्याउने गरी तीव्रताकासाथ अघि बढेको उहाँले बताउनुभयो ।

अन्तरक्रियामा अस्पतालका विभागीय प्रमुखहरुको सहभागीता थियो । विभागीय प्रमुखहरुले आफ्नो विभागमा भएका जनशक्तिको अवस्था, स्वास्थ्य उपकरणहरुको अवस्था तथा सेवाको स्तर लगायतका विषयमा जानकारी गराउनुका साथै आगामी वर्षका लागि आवश्यक योजना तथा बजेट व्यवस्थापनका बारेमा सुझाव प्रस्तुत गर्नुभएको थियो ।

विभागीय प्रमुखहरुले दक्ष जनशक्तिको व्यवस्थापन, उपकरणहरुको मर्मतसम्भार तथा नयाँ खरिदका साथै इक्वीप्मेन्ट लाइब्रेरीको व्यवस्था, फार्मेसी सेवातर्फ सेवाग्राहीलाई परामर्श कक्षको व्यवस्था लगायतका योजनालाई आगामी वर्षको योजनामा समावेश गर्न आग्रह गर्नुभएको थियो । नेपाल सरकारबाट बीमा सेवातर्फ समयमा रकम भुक्तानी नहुँदा आर्थिक समस्या झेल्नुपरेको उहाँहरुले गुनासो गर्नुभयो ।

कार्यक्रमको सहजीकरण गर्दै अस्पतालका वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत राजन केसीले अस्पताल विभागहरुबाट प्राप्त मौखिक तथा लिखित सुझावहरुलाई संकलन गरिएको बताउँदै आगामी वर्षको कार्योजनामा समावेश गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।