२०८२, आषाढ २५ गते

Jul 09 2025 | २०८२, आषाढ २५ गते

भन्सारमा देखिएका समस्या समाधान गर्न उद्योगी–व्यवसायीको माग

बुधवार , आषाढ २५, २०८२

भैरहवा, २५ असार । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले भन्सार सहजीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । संघको सभाहलमा मंगलबार भएको कार्यक्रममा भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी, रुपन्देही क्षेत्रका उद्योगी–व्यवसायीहरु र सञ्चारकर्मीहरुको सहभागीता थियो ।

कार्यक्रममा भन्सार बिन्दूमा हुने झण्झट, भन्सार सर्बरको कारण देखाउँदै गरिने ढिलासुस्ती, कर्मचारीले गर्दा पर्ने समस्या तथा पार्किङमा देखिएका विलम्बका विषयमा सहभागी उद्योगी–व्यवसायीले गुनासो व्यक्त गरेका थिए ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले भैरहवा भन्सार कार्यालय नेपालको प्रमुख भन्सार भएकाले यसलाई व्यवस्थित र व्यापार सहजीकरणमा सबै क्षेत्रले भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले यो भन्सारले वस्तुको निकासी र पैठारीमा सहज वातावरण सिर्जना गर्न समेत भैरहवा भन्सार कार्यालय र भन्सार एजेन्ट संघलाई आग्रह गर्नभयो ।

त्यस्तै संघका निर्वतमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठले यो भन्सारमा वस्तुको निकासी र पैठारीमा उद्योगी–व्यवसायीलाई रहेको समस्या तुरुन्त समाधान गर्न आग्रह गर्नुभयो । उहाँले भन्सार कार्यालय र अन्नपूर्ण टर्मिनलबीचको समन्वयको अभाव देखिएको भन्दै यो समस्याले व्यवसायीहरुलाई आर्थिक रुपमा नोक्सानी पुर्याएको बताउनुभयो ।

पञ्चकन्या ग्रुपका महाप्रबन्धक देवेन्द्र साहुले भैरहवा भन्सार कार्यालयले विभिन्न बहानामा ढिलासुस्ती गर्दा वस्तुको उत्पादनमा लागत खर्च बढ्दो भएको बताउनुभयो । उहाँले भन्सारभित्रको पार्किङ, सर्बर र बैंकिङ प्रणालीमा देखिएका समस्या समाधानका लागि प्रमुख भन्सार अधिकृतसमक्ष आग्रह गर्नुभयो ।

नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगरका अध्यक्ष मधु प्रसाद पन्थीले यो भन्सार नाका सुकाउनका लागि विभिन्न बहानामा समस्या पार्ने कार्य भइरहेको भन्दै यस्ता तत्वहरुको निवारण गर्नका लागि सबै एकजुट भएर लाग्नुपर्ने बेला भएको बताउनुभयो । उहाँले ओभरलोडको नाम समस्या सिर्जना भएको भन्दै देशको अन्य नाकामा नभएको नियम यहाँ लागू गर्न खोज्दा यो भन्सारबाट हुने निकासी र पैठारीको कार्य अन्य भन्सार नाकामा सरेको बताउनुभयो ।

सिद्धार्थ उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य तथा पर्यटन व्यवसायी कैलाश गुप्ताले भारतीय पर्यटकहरु आफ्नै सवारीसाधनमार्फत नेपाल आउँदा भन्सार सुविधाको नाममा भन्सार विन्दुमा देखिएको ढिलासुस्तीले समस्या पार्ने गरेको बताउनुभयो । उहाँले विश्व अहिले आर्टिफिसियल इन्टेलिजेन्सको युगमा प्रवेष्श गर्दा पनि नेपालमा पुरानो प्रणालीको प्रयोग गर्दा पर्यटकले सीमा नाकामा नै दुःख पाउने गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद न्यौपाने, सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विष्णु प्रसाद शर्मा, संघका कार्यसमिति हरिश सेठिया, लक्ष्मी स्टिलका प्रतिनिधि दामोदर पौडेलले मालवस्तु निकासी र पैठारीमा भन्सार कार्यालयमा देखिएको सफ्टवेयर तथा सर्भर र ढिलासुस्तीका विषयहरु प्रमुख भन्सार अधिकृतलाई जानकारी गराएका थिए ।

भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले व्यापार सहजीकरणका लागि भन्सार कार्यालयहरुले काम गर्ने गरेको बताउनुभयो । उहाँले नेपालको भन्सार प्रशासन भारत र चीनको भन्सार प्रक्रिया भन्दा अगाडि रहेको दावी गर्नुभयो ।

उहाँले भैरहवा भन्सार कार्यालयले सुधारका लागि अन्तरक्रिया गरिएको बताउदै उद्योगी–व्यवसायीले उठाएका जायज मागहरु तुरुन्त समाधानका लागि आफूले प्रयास गर्ने जानकारी दिनुभयो ।
भन्सार प्रशासनले प्रयोग गर्ने आसीकोडा सफ्टवेयरको सर्वरमा कहिलेकाही देखिने समस्या प्राविधिक समस्या भएको भन्दै प्रमुख भन्सार अधिकृत रेग्मीले  गेट इन्टर मोडेललाई समेल सुधार गरिने बताउनुभयो ।