२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बुटवल उपमहानगरपालिकाको बजेट सर्वसम्मत पारित

बुधवार , आषाढ २५, २०८२

बुटवल, २५ असार । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित भएको छ । बुधबार नगर सभाको १७ औं अधिवेशनको पाँचौं बैठकले आगामी आर्थिक वर्षका लागि विनियोजन भएको ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट सर्वसम्मत पारित गरेको हो । 

बजेटसँगै बुटवल उपमहानगरपालिकाको सभाले बुटवल उपमहानगरपालिकाको स्थानीय सवारी साधन व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक, भाषा संस्कृति र ललितकलासम्बन्धी विधेयक पारित गरेको छ । 
सभामा विधायन समिति, न्यायिक समिति, अनुगमन मूल्यांकन तथा सुपरिवेक्षण समिति, लेखा समिति, जाँचपास तथा फरफारक समिति र सुशासन समिति प्रतिवेदन पारित भएको छ ।

सभाको समापनका अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई समानता स्वाभिमान र अवसरसहितको बस्नयोग्य शहर बनाउनका लागि सबैको सहकार्य जरुरी रहेको बताउनुभयो । उहाँले नगरलाई सफा स्वच्छ र सुन्दर नगर बनाउने उद्देश्यका साथ काम गरिरहेको बताउनुभयो । उहाँले आगामी वर्षलाई शिक्षा, स्वास्थ्यका साथसाथै पर्यटन र कृषिलाई प्राथमिकताका साथ कार्यक्रम तय गरिएको बताउनुभयो । उहाँले बुटवललाई भौतिक पूर्वाधार विकासमा मात्रै नभइ मानव संसाधनको विकासमा समेत अग्रणी शहर बनाउने गरी योजनाहरु ल्याएको बताउनुभयो । 
आगामी आर्थिक वर्षमा करीब १० हजार भूमिहिन र सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने गरी बुटवल उपमहानगरपालिकाले नापजाँचमा लगानी गरेको र सोही अनुसारको जनशक्ति परिचालन गरेको उहाँले बताउनुभयो । 

सभामा बोल्दै उहाँले बुटवलबाट प्रदेशको राजधानी सार्ने क्रममा बुटवललाई प्रदेशकै आर्थिक केन्द्र बनाउने भनिए पनि कुनै कार्यक्रम नआएकाले प्रदेश र संघ सरकारको ध्यानाकर्षण गराउने र बुटवललाई आर्थिक केन्द्र बनाउनका लागि अगुवाइ गर्ने बताउनुभयो ।

सभामा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई सबल र सम्पन्न सहर बनाउनका लागि सबै क्षेत्रको साथ आवश्यक रहेको बताउनुभयो । उहाँले हालसम्म भएका उपलब्धीलाई अझ परिस्कृत गर्दै अगाडि बढ्ने बताउनुभयो । बुटवल उपमहानगरपालिकाले असार ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जनशक्ति उत्पादनमा विशेष जोड दिने लक्ष्य अगाडि सारेको थियो ।

प्रमुख पाण्डेयले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बुटवललाई पर्यटकीय विश्राम स्थल बनाउनका लागि लुम्बिनी आउने बौद्ध धर्मावलम्बी र मुक्तिनाथ जाने हिन्दू धर्मावलम्बीको विश्राम स्थलका रूपमा स्थापित गर्ने नीति लिएको बताउनुभयो ।

बुटवलका गृहिणी महिलाहरूलाई रोजगारसँग जोड्दै स्वरोजगार बनाउन नगरप्रमुख गृहिणी महिला रोजगारका कार्यक्रम अन्तर्गत उत्पादित वस्तुको उत्पादन र विक्री केन्द्र (कोसेली घर) स्थापनामा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । 

साथै, नवलपरासीको बर्दघाटदेखि दाङसम्मका सडकमा रहेका छाडा पशु चौपायाहरूको व्यवस्थापनका लागि गाई राष्ट्रिय निकुञ्ज निर्माण गर्न लुम्बिनी प्रदेश सरकार र सम्बन्धित स्थानीय सरकारहरूसँग समन्वय गरिने पनि उल्लेख छ । 

‘घुमौँ बुटवल’ भन्ने अभियानअन्तर्गत यसै आर्थिक वर्षलाई बुटवल भ्रमण वर्ष घोषणा गरी आन्तरिक र बाह्य र्यटकको आगमनलाई वृद्धि गर्नका लागि अभियानहरू सञ्चालन गरिने नीतिमा उल्लेख छ । पर्यटकीय स्थलहरूको पहिचानलाई व्यापक बनाउनका लागि आवश्यक स्थानमा डिजिटल डिस्प्ले र प्रचार सामग्रीहरू निर्माण गरिनेछ । 

असार १० गते बजेट पेश गर्दै उपप्रमुख सावित्रादेवी अर्यालले कुल बजेटमा चालूतर्फ ४९ प्रतिशत र पुँजीगततर्फ ५१ प्रतिशत रहने बताउनुभयो । बजेटमा शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन र कृषिलाई प्राथमिकता दिइएको छ ।

आगामी आर्थिक वर्षमा ९५ करोड आन्तरिक आय हुने अनुमान उहाँले पेश गर्नुभएको थियो । बजेटमा निजी क्षेत्रसँग सहकार्य गरी कार्यक्रम सञ्चालनका लागि १ करोड, पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्न ५० लाख र बुटवललाई सांस्कृतिक सहर बनाउन १ करोड १५ लाख रुपैयाँ विनियोजन भएको छ । 

विद्यालयहरुको सुधार र न्यूनतम मापदण्ड पूरा गर्न ६ करोड, कृषि सुधारमा एक करोड, छात्राहरुलाई निःशुल्क अध्ययनका लागि ५० लाख, विपन्न वर्गका बालबालिकाको पोशाक र शैक्षिक सुधारका लागि ३० लाख, सामुदायिक विद्यालयमा डिजिटल लर्निङ पोर्टल र कम्प्युटर शिक्षा सुधारका लागि एक करोड, स्थानीय पाठ्यक्रमलाई सुधार गर्न ७० लाख बजेट विनियोजन भएको छ ।

त्यस्तै ज्येष्ठ नागरिक र असहायहरुलाई घरदैलोमा स्वास्थ्य सेवा पुर्याउने कार्यक्रमका लागि ९० लाख, महिलाहरुको पाठेघर, स्तन क्यान्सर, भिडियो एक्स–रे र अन्य स्वास्थ्य परीक्षणका लागि ३० लाख, बुटवल १३ र १७ मा निर्माण भएका अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि ६० लाख बजेट विनियोजन भएको छ ।

झुम्सा खानेपानी बुटवलमा ल्याउन पाल्पाको तिनाउ गाउँपालिकाको मुहान क्षेत्रको विकासका लागि २ करोड, गृहिणी महिलाहरुलाई रोजगारसँग जोड्ने कार्यक्रमका लागि ३ करोड, उद्यमी महिलाहरुका लागि ७० लाख, दलित समुदायका परम्परागत पेशालाई सीप विकास केन्द्रका रुपमा सञ्चालन गर्न ८५ लाख, बुटवल क्षेत्रको मुख्य सडक र भित्री सडकहरुलाई हरियाली बनाउँदै सौन्दर्यीकरण गर्न ३ करोड, जितगढी किल्ला नजिकै आरती केन्द्र निर्माणका लागि ५ करोड र गौशाला व्यवस्थापनका लागि १ करोड बजेट विनियोजन भएको उपप्रमुख अर्यालले जानकारी दिनुभयो ।

किसानहरुका समूहलाई उपकरण खरिदमा अनुदान दिन १ करोड, दुग्ध उत्पादक किसानहरुलाई प्रोत्साहनस्वरुप अनुदान दिन ५० लाख, कालिकापथ, अमरपथ र ट्राफिक चोकमा रात्रीकालीन बजार सञ्चालनका लागि ५० लाख विनियोजन भएको छ ।

त्यस्तै अव्यवस्थित बसोबास र सुकुम्बासी क्षेत्रको नापजाँचको व्यवस्थापनका लागि १ करोड ५० लाख, पुनः नापी गर्न २ करोड रुपैयाँ विनियोजन भएको छ ।