२०८२, माघ २१ गते

Feb 04 2026 | २०८२, माघ २१ गते

किसानको पीडा : बेमौसमी वर्षाले धान मात्र होइन, भविष्यको आशा पनि टुट्छ

सोमवार , कार्तिक १७, २०८२

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, १७ कार्तिक । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६ स्थित अवधपुर बस्ने किसान संग्राम केवट धान भित्र्याउने र नयाँ बाली रोप्ने बेला भएको बेमौसमी वर्षाले धानबालीमा क्षति पुगेपछि चिन्तित हुनुभएको छ। केवटले दुःखेसो गर्दै भन्नुभयो–‘हामी मेहनतले खेती गर्छौं । तर, यो समयमा वर्षा भएपछि हामीमा निराशा छाउँछ । धान मात्र होइन, भविष्यकै आशा पनि टुट्छ ।’

    घाम नलाग्दा करिब २५ प्रतिशत धानमा टुसा उम्रिने र कुहिने अवस्था रहेको उहाँले जानकारी दिनुभयो । ‘मेशिन चलाउने अवस्था छैन, खेत पुरै हिलाम्य भएको छ । हसियाँले धान काट्दा खर्च दोब्बर भइरहेको छ, ’उहाँले भन्नुभयो ।

    धान भित्र्याउने र नयाँ बाली रोप्ने समयमा परेको बेमौसमी वर्षाले रुपन्देहीको मर्चवार क्षेत्रसहित रुपन्देहीका किसान चिन्तित भएका छन् । वर्षाले धानबालीमा क्षति पुर्याएपछि उनीहरु झनै चिन्तित भएका हुन् ।
    दशैं–तिहार सकिएसँगै किसानहरू खेतबारीमा धान काट्ने, गोडमेल गर्ने र विभिन्न तरकारीका बीउ रोप्न व्यस्त हुने बेला बिहीबारदेखि भएको वर्षाले किसान मर्कामा परेका छन् ।

    अर्का किसान राम प्रसाद चौधरीले धान भित्र्याउने र त्यसपछि गहुँ रोप्ने तयारीमा रहे भएको वर्षाले धानबालीमा क्षति पुगेको बताउनुभयो । उहाँले भन्नुभयो–‘माटोमा पानी जति रह्यो, बीउ राख्न पनि ढिला हुन्छ । बैमौसमी वर्षाले हामी किसानले गरेको मेहनेतमाथि खेलवाड नै भएको जस्तो लाग्छ ।’

    लामो समयदेखि हसियाँले धान काटेर भित्राउने किसानहरु अब भने नयाँ प्रविधिको प्रयोग गर्न थालेका छन । कम समयमा प्रशस्त क्षेत्रफलको धान काट्न सकिने हुनाले उनीहरुले कम्बाईन हार्भेष्टरको प्रयोग गदै आइरहेका छन । तर, खेत भिजेका कारण कम्बाइन मेशिन चलाउन नसकिएको र हसियाँले नै धान काट्नुपर्ने बाध्यता आएको किसानहरूको गुनासो छ । मजदूर अभाव हुनुकै साथै लागत पनि बढेको उनीहरुको भनाइ छ ।

    ‘हामी किसानका लागि खेती केवल पेशा होइन, हाम्रो जीवन हो । तर, हरेक वर्ष सिचाईंको प्रयाप्त सुविधा नभएका कारण आकाशे पानीको भरोसा गर्नुपर्ने बाध्यता पनि छ,’किसान मिथिला देवी केवटले दुःखेसो गर्नुभयो । त्यसै गरी नयाँ सिजनको तयारीस्वरूप रोपिएका तरकारीका बिउहरू पनि पानीमा डुबेर बिग्रिने खतरा देखिएको छ । किसानहरूले करिब २५ प्रतिशतसम्म क्षति हुने अनुमान गरेका छन् ।

    कोटहीमाई गाउँपालिकाका सहायक कृषि विकास अधिकृत गिरिजा पाण्डेयका अनुसार कम चिस्यान भएका खेतका लागि यो वर्षा केही हदसम्म फाइदाजनक भए पनि काट्ने अन्तिम चरणमा रहेका धानबालीमा आंशिक क्षति पुगेको पुष्टी भएको छ । उहाँले भन्नुभयो–‘धान भित्र्याउने किसानलाई नोक्सान पुगेको छ । तर, गहुँ र सागसब्जीका लागि केही लाभ पुग्छ ।’
    किसानहरूका लागि अहिले राहत भन्दा बढी चिन्ता छाएको छ । हरेक वर्ष बेमौसमी वर्षा, धान रोप्ने बेला मलको अभाव र उत्पादनको उचित बजार मूल्य नपाउँदा किसानमा चिन्ता बढेको छ ।