२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा नवनिर्मित अपरेशन थिएटर भवन उद्घाटन

बिहिवार , आषाढ २६, २०८२

बाँके, २६ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश प्रहरी अस्पताल, बाँकेमा नवनिर्मित अपरेशन थिएटर भवनको उद्घाटन गर्नुभएको छ । लुम्बिनी प्रदेश सरकारको ७ करोड ७७ लाख रुपैयाँ बढीको लागतमा निर्माण गरिएको उक्त भवनको बिहीबार एक समारोहकाबीच मुख्यमन्त्री आचार्यले उद्घाटन गर्नुभएको हो । 

कार्यक्रममा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले प्रहरी अस्पतालको स्तरवृद्धिमा विशेष ध्यान दिने बताउँदै यसलाई १५ शैयामा सीमित नराखी ५० शैयाको अस्पतालका रूपमा विकास गरिने स्पष्ट पार्नुभयो ।
मुख्यमन्त्री आचार्यले भन्नुभयो–‘यसलाई १५ शैयामा सीमित गर्नुहुँदैन । अविलम्ब आवश्यक पर्ने कागजातहरू प्रदेशको स्वास्थ्य मन्त्रालयमा पठाउन निर्देशन दिन चाहन्छु । प्रदेश सरकारकोतर्फबाट यसलाई विधिवत रूपमा ५० शैयाको अस्पतालका रूपमा स्तरवृद्धि गरेर अगाडि बढाउनेछौं ।’

उहाँले आगामी दिनमा यो अस्पताललाई बाँकेको विशिष्टीकृत अस्पतालका रूपमा विकास गरिने उल्लेख गर्नुभयो । उहाँले सेवासुविधा विस्तारका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

‘उपकरणहरू र विशेषज्ञ जनशक्तिको व्यवस्थापन गर्न पनि प्रदेश सरकारले आवश्यक पहल गर्नेछ,’ मुख्यमन्त्री आचार्यले भन्नुभयो–‘यसका लागि अस्पताल व्यवस्थापन समितिले गम्भीर ध्यान दिन जरुरी छ ।’
कार्यक्रम लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजेन्द्रप्रसाद भट्टको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

सो अवसरमा प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारु, आन्तरिक मामिला तथा कानून मन्त्री आदेश कुमार अग्रवाललगायतले पनि सम्बोधन गर्नुभएको थियो ।

नेपाल प्रहरी अस्पताल, महाराजगंज काठमाडौंका प्राविधिक प्रहरी नायव महानिरीक्षक डा. गोपेश कुमार ठाकुरले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रममा सहजीकरण प्राविधिक प्रहरी नायव उपरीक्षक डाक्टर श्यामकृष्ण लौडारीले गर्नुभएको थियो ।

WhatsApp Image 2025-07-10 at 11.41.27 AM.jpeg