काठमाडौं, २७ असार । ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्नेसम्बन्धी जरुरी महत्वको प्रश्ताव राष्ट्रिय सभामा दर्ता भएको छ ।

सार्वजनिक महत्व प्रश्तावको प्रश्तावक नेकपा (एमाले)की सांसद सुमित्रा वि.सी. हुनुहुन्छ भने सांसदरु उर्मिला अर्याल, कमला पन्त, भगवती न्यौपाने, मायाप्रसाद शर्मा, मदनकुमारी शाह (गरिमा), पदमबहादुर परियार र पूजा चौधरी समर्थक हुनुहुन्छ । युवाहरुको बढ्दो पलायनको कारण ज्येष्ठ नागरिकहरुले सुरक्षामाथि चुनौती थपिँदै गएको भन्दै यसबारे सरकार गम्भिर बन्नुपर्ने उहाँहरुको माग छ । ज्येष्ठ नागरिकको सहभागिता र जन्मदर बढाउने हिसावले अबको नीति बन्नुपर्नेमा उहाँहरुको जोड दिनुभयो ।

जरुरी सार्वजनिक महत्वको प्रश्ताव राख्दै सांसद वि.सी.ले ज्येष्ठ नागरिकको स्वास्थ्य उपचार निःशुल्क गराउने, ज्येष्ठ नागरिकको वर्गिकरण र अवस्थाको आधारमा हवाई यातायात तथा सबै प्रकारको सार्वजनिक यातायातमा छुटको व्यवस्था गर्ने, राज्यको भार कम गर्न बैंकहरुमा निष्क्रिय खातामा रहेको रकमहरु ज्येष्ठ नागरिक कोषमा ल्याउने लगायत व्यवस्था गर्न माग गर्नुभयो । 

उक्त जरुरी महत्वको प्रश्तावमाथिको छलफलमा बोल्दै समर्थक सांसदहरुले समेत ज्येष्ठ नागरिकको सुरक्षाप्रति राज्य गम्भिर हुन जरुरी रहेको धारणा राख्नुभयो ।