२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

नेशनल प्याब्सनद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान

आइतवार , आषाढ २९, २०८२

बुटवल, २९ असार । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (नेशनल प्याब्सन) रुपन्देहीले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई बधाई, सम्मान तथा शुभकामना कार्यक्रम गरेको छ । 

नेशनल प्याब्सन रुपन्देहीले शनिबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी जिपीए ३.६० देखि ४ जिपीए ल्याउने ११६ जना विद्यार्थीहरुलाई बधाई, सम्मान तथा शुभकामना कार्यक्रम गरेको हो । 

नेशनल प्याब्सन रुपन्देहीका अध्यक्ष तिलव केसीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख माधव बन्जाडेले शैक्षिक क्षेत्रमा विद्यार्थीले ल्याएको उत्कृष्ट नतिजाले विद्यार्थीको शैक्षिक प्रगतिको मापन गर्ने बताउनुभयो । उहाँले माध्यमिक शिक्षा परीक्षामा ल्याएको शैक्षिक उपलब्धिलाई माध्यमिक तहसम्म पुर्याउनका लागि विद्यार्थीलाई अझै मेहनत र लगनशिल बन्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले लगन, महनत र परिश्रमका साथमा अध्ययन गरे विद्यार्थीले थप सफलता प्राप्त गर्ने विचार राख्नुभयो । 

कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय उपमहासचिव कृष्णप्रसाद पौडेलले विभिन्न समयमा आयोजना हुने बधाई तथा शुभकामनालगायतका कार्यक्रमले विद्यार्थीहरुलाई शैक्षिक सफलताका लागि थप हौसला र प्रेरणा प्राप्त हुने बताउनुभयो । उहाँले शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गर्नका लागि विद्यार्थीको आचरण र व्यवहारले महत्व राख्ने उल्लेख गर्दै विद्यार्थीले आफूलाई सदैव लक्ष्य केन्द्रीत भएर अध्ययनमा जोड दिनुपर्ने बताउनुभयो।

नेशनल प्याब्सनका सचिव विनोद थापा मगरको सञ्चालनमा भएको कार्यक्रममा केन्द्रीय सदस्य जेवी क्षेत्री, सल्लाहकार प्रकाश भट्टराई, उपाध्यक्ष राजेन्द्र पराजुलीलगायतले एसईईमा सफल विद्यार्थीहरुलाई बधाई दिदै माथिल्ला कक्षामा पनि थप उत्कृष्टताका लागि शुभकामना दिनुभएको थियो । सो अवसरमा उत्कृष्टतासँगै एसईईमा शतप्रतिशत नतिजा हासिल गर्ने विषयगत शिक्षक तथा विद्यालयहरुलाई समेत सम्मान गरिएको सचिव विनोद थापा मगरले जानकारी दिनुभयो ।