
आइतवार , आषाढ २९, २०८२
काठमाडौं, २९ असार । क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।
अमेरिकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था डाइरेक्ट रिलिफको सहयोग र वान हार्ट वल्र्डवाइडको समन्वयमा क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरु मन्त्रालयलाई हस्तान्तरण गरिएको हो । मन्त्रालयले आईतवार नै क्यान्सर उपचारमा संलग्न चार अस्पतालहरु (विपी कोईराला मेमोरियल क्यान्सर अस्पताल,भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, सुशील कोईराला प्रखर क्यान्सर अस्पताल बाँके र वीर अस्पताल काठमाडौंलाई हस्तान्तरण समेत गरेको छ ।
औषधिहरु असार २७ गते शुक्रवार नेपाल आइपुगेका थिए । सोही दिन स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले भण्डारण गरेको थियो । औषधि तथा सामग्रीहरु हस्तान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा क्यान्सरका धेरै समस्याहरु रहेको र औषधि पनि महंगो रहेको बताउनु भयो । साथै उपलब्ध हुन समस्या हुने र विपन्न नागरिकहरु यसको पहुँच बाहिर रहने भएकाले विपन्न नागरिकहरुलाई लक्षित गरी औषधि ल्याइएको बताउनु भयो ।
यसले धेरै नागरिकलाई राहत पु¥याउने विश्वास आफ्नो रहेको पनि बताउनु भयो । औषधिमा राज्यको कुनै लगानी नरहेको र राज्यको लगानी बिनै नागरिकलाई केही राहत दिनका लागि सरकारले प्रयास गरेको बताउनु भयो । मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा क्रमशः सुधार गर्दै लैजाने प्रतिवद्धता जनाउनु भयो । नेपालमा झन्डै ५० लाख मानिसले अस्पताल जानुपर्छ, उपचार सेवा उपलब्ध छ, राज्यले कतिपय रोगको निःशुल्क उपचार गर्दछ भन्नेकुरा नै जानकारी नहुने गरेको बताउनु भयो । लक्षित समूहलाई यसबारे बुझाउने गरी काम गर्न जरुरी रहेको बताउनु भयो ।
मन्त्री पौडेलले भन्नुभयो, ‘क्यान्सरका धेरै समस्याहरु छन् । औषधि महंगो छ । उपलब्ध हुँदैन, विपन्न नागरिकलाई यो कठिन छ । त्यसैले हामीले क्यान्सरको उपचार हुने खासगरी भक्तपुर क्यान्सर अस्पताल, विपी कोईराला क्यान्सर अस्पताल, सुशील कोईराला क्यान्सर अस्पताल, वीर अस्पताल, टिचिङ अस्पताल मुख्य गरी यिनै हुन् ।
यि अस्पतालहरुमा हाम्रो स्वास्थ्य सेवा विभागमार्फत हामीले यो औषधि उपलब्ध गराउनेछौँ । यसले धेरै नागरिकलाई राहत पु¥याउनेछ भन्ने हाम्रो विश्वास छ । राज्यको कति पनि लगानी भएको छैन । राज्यको लगानी बिनै नागरिकलाई केही राहत पु¥याउने कोशिस गरेका छौँ ।’
स्तन क्यान्सर, प्लाक सोरियासिस, अल्जाइमर आदि स्वास्थ्य समस्यामा प्रयोग हुने यि औषधि र स्वास्थ्य सामग्रीहरु चार अस्पतालमा क्यान्सरका बिरामीहरुलाई निःशुल्क उपलब्ध गराइनेछ । मन्त्रालयले सम्बन्धित निकायहरुको सहयोग र समन्वयमा यि औषधि तथा स्वास्थ्य सामग्रीहरु भविष्यमा पनि निरन्तर उपलब्ध गराइने मन्त्रालयले बताएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij