
आइतवार , आषाढ २९, २०८२
काठमाडौं, २९ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन समितिबाट हटाइएपछि वरिष्ठ नेता नवराज सुवेदीले निर्वाचन आयोगमा उजुरी दिनुभएको छ ।
अध्यक्ष राजेन्द्र लिङदेनले असार २५ गते नेता सुवेदी पार्टी सदस्य नरहेको निष्कर्ष निकाल्दै अनुशासन समिति अध्यक्षबाट हटाएर रोशन कार्कीलाई अध्यक्ष पदमा मनोनित गर्नुभएको थियो । सोही निर्णयका विरुद्ध पार्टीका पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी र महामन्त्रीद्वय धवल समशेर जबरा र कुन्ती शाहीसहित आईतवार उहाँ निर्वाचन आयोग पुग्नुभएको हो ।
आयोगमा उजुरी दिएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता सुवेदीले पार्टीको निर्णयबिना अध्यक्षको स्वेच्छाचारिताले आफूलाई अनुशासन समितिबाट हटाएको कारण उजुरी दिन पुगेको प्रतिक्रिया दिनुभयो । उहाँले अध्यक्ष लिङदेनले प्राकृतिक न्यायको विरुद्धमा निर्णय गरेको पनि आरोप लगाउनु भयो । उहाँले पार्टीभित्र भइरहेको षड्यन्त्र नहोस् र निष्पक्ष न्यायका लागि आयोगमा उजुरी दिएको दोहोर्याउदै उहाँले थप प्रतिक्रिया पछि दिने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अध्यक्षको स्वेच्छाचारिताले मलाई अनुशासन समितिबाट हटाइएको हो । केन्द्रीय समितिको बैठकबाट कुनै निर्णय भएको छैन । त्यसकारण यो प्राकृतिक न्यायको खिलापमा उहाँहरुले निर्णय गर्नुभयो । निर्णय गर्नुभन्दा अगाडि मलाई सोध्नुपनि पथ्र्यो । मलाई सोधिएको पनि छैन । मैले त मिडियाबाट थाहा पाएँ ।
त्यसकारण म निर्वाचन गर्न आएको हो । पार्टीभित्र अन्याय भइरहेकोले त्यसको खिलापमा मैले आवाज उठाएको हो । निश्पक्ष न्याय पाएपछि म के गर्छु थाहा हुन्छ । पार्टीभित्र यस्तो षड्यन्त्र नहोस् भनेर म उजुरी गर्न आएको ।’
उहाँले राजसंस्था पुनःस्थापनको आफूहरुको आन्दोलन जारी रहेको पनि दाबी गर्नुभयो । पार्टीभित्र कुनै गुट नहुन् भन्ने पक्षमा आफू रहेको पनि उहाँको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij