
सोमवार , आषाढ ३०, २०८२
बुटवल, ३० असार । महिलाको स्तनसम्बन्धी रोग पहिचान र उपचारमा नयाँ आयाम थप्दै रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले म्यामोग्राफी सेवा सुरु गरेको छ । साथै स्तनसम्बन्धी रोगहरूको परीक्षण, परामर्श र उपचारका लागि अस्पतालले विशेष ब्रेस्ट क्लिनिक समेत सञ्चालनमा ल्याएको छ ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले सोमबार म्यामोग्राफी तथा ब्रेस्ट क्लिनिकको उद्घाटन गर्दै यहाँको स्वास्थ्य सेवामा नयाँ आयाम थपिएको बताउनुभयो । उहाँले अस्पतालमा ‘स्वचालित ल्याब रिपोर्ट डिस्प्याच’ को समेत मन्त्री सारुले शुभारम्भ गर्नुभयो । अस्पतालमा स्थापना गरिएको म्यामोग्राफी सेवाले महिलाहरुको स्तन क्यान्सरसम्बन्धी रोगहरुको पहिचान तथा उपचारमा ठूलो सफलता मिल्ने अपेक्षा गरिएको छ। त्यस्तै स्वचालित ल्याब रिपोर्ट डिस्प्याच मेसिनबाट सेवाग्राहीले आफै सम्पूर्ण रिपोर्ट बुझ्न पाउनेछन् ।
अस्पतालमा शुभारम्भ गरिएका सेवाहरुको शुभारम्भपछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री सारुले स्वास्थ्य सेवालाई सबैको पहुँचमा विस्तार गर्ने सरकारको दायित्व भएको उल्लेख गर्नुभयो । सहज रुपमा जनताले स्वास्थ्य सेवा प्राप्त गर्नुपर्ने बताउँदै उहाँले लुम्बिनी प्रादेशिक अस्पतालले पछिल्लो अवधिमा गर्दै गएका सुधार तथा सेवामा विशिष्टिकरणले जनविश्वास बढ्दै गएको उल्लेख गर्नुभयो ।
प्रदेशबासी जनताको स्वास्थ्य सेवाप्रति सरकार गम्भिर रहेको बताउँदै उहाँले विकट क्षेत्रका तथा आधारभूत तहका स्वास्थ्य संस्थाहरुमा समेत चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्था गरी पहुँच विस्तारको योजनामा रहेको बताउनुभयो । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सरकारले खटाएको कुनै पनि ठाउँमा गएर काम गर्न आग्रह गर्दै उहाँले जनताको सेवाका लागि विधिमा रहेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले अस्पतालको सेवा विस्तारका लागि निरन्तर प्रयत्नशील रहेको दावी गर्नुभयो । प्रदेश सरकार तथा संघीय सरकारसँग पनि आवश्यक समन्वय गरी सेवालाई विशिष्टीकृत गर्ने र सबै जनताको पहुँचमा स्वास्थ्य सेवा पुर्याउनका लागि विकास समिति प्रतिवद्ध भएको उहाँले उल्लेख गर्नुभयो । प्रादेशिक अस्पतालमा सेवाग्राहीको चाप अत्यधिक रहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले अब जिल्लाका अस्पताल तथा आधारभूत अस्पतालहरुको समेत क्षमता वृद्धि गरी सही व्यवस्थापनबाट जनतालाई सेवा उपलब्ध गराउने कुरामा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । सीमित जनशक्तिले दैनिक रुपमा उपचारका लागि आउने ठूलो जनसंख्यालाई उपचार सेवा उपलब्ध गराउनुपर्ने बाध्यता रहेको बताउँदै उहाँले दक्ष र प्रयाप्त जनशक्ति व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
अस्पतालमा शुभारम्भ गरिएका नयाँ सेवाहरुबारे जानकारी गराउँदै मेडिकल सुपरीटेण्डेण्ट डा. इन्द्र ढकालले सेवालाई विशिष्टीकृत गर्ने सवालमा उल्लेख्य प्रगति हासिल हुँदै गएको दावी गर्नुभयो । अस्पतालमा पछिल्लो १ वर्षको अवधिान विभिन्न सेवाहरुको विस्तार गरिएको उहाँले बताउनुभयो । सोही अनुसार महिलाहरुको स्तन क्यान्सरसम्बन्धी रोगहरुको पहिचान तथा उपचारका लागि म्यामोग्राफी मेशिन जडान गरी सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।
संघीय सरकार स्वास्थ्य मन्त्रालय अन्तरगत व्यवस्थापन महाशाखाको करिब २ करोड ८० लाख लागतमा म्यामोग्राफी मेशिन खरिद गरी जडान गरिएको उहाँले जानकारी दिनुभयो । इटालियन प्रविधिको यस मेशिनले स्तनको धेरै कोणबाट लगातार एक्स–रे निकाल्नुका साथै यसलाई कम्प्युटर माध्यमबाट थ्रीडी स्वरुपमा पनि देखाउछ जसले गर्दा रोग पहिचान गर्न सजिलो हुन्छ । यो मेशिनले निकै कम विकिरण फाल्ने हुँदा यहाँ काम गर्नेहरुको स्वास्थ्यका लागि पनि उपयुक्त हुने बताउँदै उनले जाडान गरिएको म्यामोग्राफी मेशिनले कुनै पनि महिलामा स्तन क्यान्सर हुने सम्भावनालाई ३/४ वर्ष पहिले नै पत्ता लगाउन सकिने उहाँले उल्लेख गर्नुभयो । त्यसै गरी अस्पतालमा स्थापना गरिएको ब्रेस्ट क्लिनिकले प्राप्त रिपार्टहरुका आधारमा उपचार सेवा तथा परामर्श सेवा उपलब्ध गराउने उहाँले बताउनुभयो ।
पछिल्लो समय महिलाहरुमा स्तन क्यान्सरको समस्या दर बढ्दै गएको अवस्थामा अस्पतालमा स्थापना गरिएको म्यामोग्राफी तथा ब्रेस्ट क्लिनिकले स्वास्थ्य सेवामा ठूलो उपलब्धिको रुपमा लिइएको उहाँले बताउनुभयो । म्यामोग्राफीको माध्यमबाट लक्षण नदेखिएको अवस्थामा पनि स्तनभित्र रहेको सानो गाँठो वा टिश्यु परिवर्तन पहिचान गर्न सकिन्छ भने महिलामा क्यान्सर भएको पत्तो प्रारम्भमै लगाउन सहयोग पुर्याउने र उपचारको सम्भावनालाई धेरै बढाउने बताउनुभयो ।
अस्पतालमा स्थापना गरिएको अर्को नयाँ सेवा ‘स्वाचालित ल्याब रिपोर्ट डिस्प्याच’ मेशिनले सेवाग्राहीले थप सहज हुने अपेक्षा गरिएको मेसु ढकालले बताउनुभयो । यो मेशिनबाट सेवाग्राही आफैले क्यूआर स्क्यान गरी सम्पूर्ण मेडिकल रिपोर्ट बुझ्न पाउनेछन् । १० लाखको लागतमा जडान गरिएको २ वटा डिस्प्याच मेशिनमा सेवाग्राहीले आफ्नो टिकटमा रहेको क्यूआर स्क्यान गरेपछि सम्पूर्ण मेडिकल रिपोर्ट तथा ल्याब रिपोर्टका विवरणहरु पेपरमा प्रिन्टसहित पाउनेछन् ।
अस्पतालले सेवा सहजताका लागि यसअघि एसएमएसबाट मेडिकल रिपोर्ट प्राप्त गर्ने प्रविधि, अनलाइन टिकेटिङ, डिजिटल टिकट काउन्टर, फार्मेसीतर्फ क्यास काउण्टरहरु थप गरी भीड व्यवस्थापन, अप्रेशन थिएटर थप लगायतका महत्वपूर्ण सुधारका कामहरु भइसकेको मेसु ढकालले जानकारी दिनुभयो । अस्पतालका वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत राजन केसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij